प्रधानमन्त्रीको सचिवालयले भन्यो : 'अफवाह फैलाउन खोज्नेहरुले आलोचना गरे'

सानो आकारको नक्साले गर्दा चुच्चो नदेखिएको प्रष्टीकरण
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले दसैंको अवसरमा शुभकामना दिन सामाजिक संजालमा शुक्रबार बिहान पोष्ट गरेको तस्बिरमा नेपालको नयाँ नक्साअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नदेखिएको विषयमा प्रधानमन्त्रीको सचिवालयले स्पष्टीकरण दिएको छ । उनको सचिवालयले भनेको छ- सानो आकारको नक्सा भएकाले चुच्चो देखिएन ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो : 'अफवाह फैलाउन खोज्नेहरुले आलोचना गरे'

सन्देशमा राखिएको निशान छापमा प्रयोग भएको नेपालको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रधानमन्त्रीको आलोचना गरेका थिए । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नसमेटिएको नक्सा प्रयोग भएको भन्दै प्रधानमन्त्रीको सन्देशप्रति सन्देह व्यक्त गरिएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा भनिएको छ, 'प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दसैंको उपलक्ष्यमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।' नोटमा भनिएको छ, 'नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ ।'

प्रेस नोटमा थापाले 'वास्तविकता बुझ्न नखोजेर राजनीति र अफवाह फैलाउन खोज्नेहरूले सामाजिक सञ्जालमा आलोचना गरेको' पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा नै कालापानी क्षेत्र नेपालको नक्सामा राखिएको भन्दै नोटमा शुभकामना सन्देशमा प्रयोग गरिएको नक्साबारे उठेका प्रश्नबारे भनिएको छ, 'अहिले यस विषयमा योजनबद्ध रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ ।' थापाले नोटसँगै निशान छापको ठूलो रूपका केही तस्बिर पनि सामाजिक सञ्जालमा राखेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने भारतीय खुफिया एजेन्सी 'रअ'का प्रमुख समान्तकुमार गोयललाई भेटेपछि प्रधानमन्त्रीले चुच्चे नक्सा प्रयोग नगर्न थालेका हुन् भन्ने आशंका व्यक्त गरेका थिए ।

प्रमुख प्रतिपक्षी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निशान छापमा भएको नक्साको त्रुटि सामान्य नभएको भनेर ट्वीटरबाट प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित समाचारः

प्रकाशित : कार्तिक ७, २०७७ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?