कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

हरिराम उप्रेती

गोरखा — झन्डै चार सय वर्षदेखिको परम्परालाई निरन्तरता दिँदै गोरखा दरबारको दसैंघरबाट काठमाडौंस्थित हनुमानढोकामा फूलपाती पठाइएको छ ।

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

शुक्रबार बिहान गोरखा दरबारका कर्मचारी चूडामणि तिवारीले बा२झ ३३२१ नम्बरको गाडीमार्फत फूलपाती हनुमानढोका लगेका हुन् ।

हनुमानढोका पठाउन तथा गोरखा दरबारको दसैंघरमा भित्र्याउन शुक्रबार बिहानै गोरखा दरबारका सुसारेहरूले अमराई, ठूलो वनलगायत जंगलबाट ९ प्रकारका फूलपाती संकलन गरेका थिए । ‘परपम्परालाई निरन्तरता दिँदै फूलपाती काठमाडौंस्थित हनुमानढोका पठायौँ,’ गोरखा दरबारका पुजारी शारदाप्रसाद भट्टराईले भने, ‘यस वर्ष कोभिड त्रासका कारण धूमधामका साथ कार्यक्रम भएन, विधि पूरा गरी परम्परालाई निरन्तरता दिएका हौँ ।’

तत्कालीन राजा पृथ्वीनारायण शाहले काडमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारको फूलपाती हनुमानढोका भित्र्याउने प्रचलन सुरु भएको हो । विगतमा तामझामपूर्वक फूलपाती काठमाडौं पठाइने गरे पनि यस वर्ष कोरोना महामारीका कारण सामान्य तबरले पठाइएको हो ।


सडक सञ्जाल नखुल्दासम्म गोरखाबाट धादिङको केवलपुर–जीवनपुरको पैदलमार्ग हुँदै लैजाने प्रचलन थियो । पहिले एकीकरण पदमार्गबाट काठमाडौं पुर्‍याइने फूलपाती सडक सञ्जाल विस्तार भएसँगै गाडीमार्फत पठाउने गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए । ‘पृथ्वीनारायण शाहले राजधानी काठमाडौं सारे पनि गोरखा राज्यसँग भावनात्मक सम्बन्ध स्थापित गर्न फूलपाती लैजाने प्रचलन सुरु भएको हो, भावी पुस्तालाई समेत गोरखासँगको सम्बन्ध नटुटोस् भनेर सुरु गरिएको परम्पराले आजसम्म निरन्तरता पाएको छ,’ उनले भने, ‘गाडी नचल्दासम्म एकीकरण मार्गमार्फत पैदल नै फूलपाती पठाइन्थ्यो, गाडी चलेपछि गाडीबाटै पठाउने गरेका छौँ ।’

प्रकाशित : कार्तिक ७, २०७७ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?