कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढ्यौलीमा कोरोना जित्‍नेहरू

विज्ञहरु भन्छन्– बालबच्चा र वृद्धवृद्धा कोरोना संक्रमणको उच्च जोखिममा छन् तर मुलुकका थुप्रै ज्येष्ठ नागरिकले संक्रमणलाई परास्त गरेका छन् ।

सुर्खेत, हेटौंडा, कञ्‍चनपुर — एक सातादेखि ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि असोज दोस्रो साता वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका ८० वर्षीय पदमलाल पौडेल र उनकी पत्नी ८० वर्षीया लक्ष्मी पौडेल स्थानीय मेडिकलमा उपचारका लागि गए । स्वास्थ्यकर्मीले जाँचपछि औषधि सेवन गर्न सुझाए । तीन दिनसम्म पनि बिसेक भएन बरु ज्वरो र रुघाखोकी झन् बढ्यो ।

बुढ्यौलीमा कोरोना जित्‍नेहरू

छोराहरू र छिमेकीको सल्लाहमा उनीहरूले स्वास्थ्य सेवा कार्यालयमा असोज १८ गते स्वाब दिए । ‘पोजिटिभ भन्ने खबर आउँदा म झन्डै बेहोस भएँ,’ होम आइसोलेसनमा आराम गरिरहेका पौडेलले भने, ‘तर एकैछिनमा कोरोना जित्छु भन्ने आत्मविश्वास बढ्यो र त्यही आत्मविश्वासले कोरोनामुक्त हुन सफल भइयो ।’

कृषि व्यवसायमा आबद्ध उनी सन्तुलित भोजन र आत्मविश्वास राखे कोरोना जित्न सकिने सल्लाह दिन्छन् । उनलाई प्रदेश अस्पतालमा भर्ना भएदेखि थप लक्षण देखिएको थियो । सुरुकै दिनदेखि आईसीयूमा अक्सिजन लगाएर भर्ना गरिएका उनमा पखाला, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुनेलगायत समस्या देखिएको थियो ।

चार दिनपछि स्वास्थ्यमा क्रमशः सुधार आएको उनले बताए । ‘जति बान्ता भए पनि औषधि र सन्तुलित भोजन खान छोडिनँ,’ उनले भने, ‘योगलगायत सामान्य शारीरिक अभ्यासलाई पनि निरन्तरता दिएँ ।’ उनले अस्पतालमा औषधिसहित गुर्जोको चिया र फलफूल नियमित सेवन गरे भने अस्पतालभित्रै गर्न सकिने शारीरिक अभ्यासलाई नियमित बनाए । दोस्रो पटकको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि कात्तिक १ गतेयता उनले घरमै आराम गरिरहेका छन् ।

पौडेल पत्नी लक्ष्मी भने रक्तचापकी बिरामी हुन् । उनले २० वर्षदेखि रक्तचापको औषधि सेवन गरिरहेकी छन् । ‘दीर्घरोगी भए पनि मसँग दरिलो आत्मविश्वास थियो,’ उनले भनिन्, ‘दुवै जनालाई एकै पटक कोरोना हुँदा पनि थप आत्मविश्वास बढ्यो ।’ प्रदेश अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको सक्रियताले आफूहरू जस्ता ज्येष्ठ नागरिकले कोरोना जितेको उनको भनाइ छ । अहिले पनि उनी जडीबुटी, फलफूल र औषधि सेवनलाई निरन्तरता दिइरहेकी छन् । समस्यालाई सामान्य रूपमा लिए मुक्ति पाउन सकिने भए पनि सावधानी अपनाउन भने जरुरी रहेको उनको भनाइ छ । ‘अहिले खानामा सुधार ल्याउन र आत्मबल उच्च बनाउन सके रक्तचापबाट पनि मुक्ति पाउँछु कि भन्ने साहस पलाएको छ,’ उनले भनिन्, ‘तर संक्रमितलाई हेर्ने सामाजिक दृष्टिकोण अझै बदलिएको पाइनँ ।’

अहिले पौडेल दम्पतीले संक्रमण देखिएका व्यक्तिलाई फोनबाटै सल्लाह दिने गरेका छन् । उनीहरूको हेरचाहमा खटिएका कान्छा छोरा देवीराम पौडेल पनि कोरोना संक्रमित छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशअन्तर्गत खरिद तथा आपूर्ति शाखामा कार्यरत उनी नेपालगन्जस्थित सरकारी आवासमा होम आइसोलेसनमा छन् । ‘बुबाआमाले दिनदिनै फोन गरेर आत्मबल बलियो बनाउन सल्लाह दिनुभएको छ,’ उनले भने, ‘सुरुका दिनमा सबै लक्षण देखिए पनि उहाँहरूकै सल्लाहले औषधि सेवन र सन्तुलित भोजन नियमित बनाउँदा क्रमशः स्वास्थ्यलाभ भइरहेको छ ।’

पछिल्लो समय कोरोना जित्ने ज्येष्ठ नागरिकको संख्या बढिरहेको प्रदेश अस्पतालका कोरोना नियन्त्रण फोकल पर्सन डा. नवराज केसीले बताए । उनका अनुसार एक साताअघि फोक्सोको क्यान्सरबाट पीडित दैलेखकी ६५ वर्षीया वृद्धाले पनि कोरोना जितेकी थिइन् । ‘पछिल्लो समय आउने अधिकांश संक्रमितमा लक्षण देखिएको छ,’ उनले भने, ‘भर्ना भएका बिरामीलाई उहाँहरूमा देखिने लक्षणअनुसार नै औषधि दिने गरेका छौं, कोरोना जित्न उहाँहरूको आत्मविश्वासले पनि काम गरेको छ ।’

कर्णालीमा ७० वर्षभन्दा माथिका ३८ जनामा संक्रमण देखिएकोमा एक जनाको मात्रै मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । उनका अनुसार असोज मसान्तसम्म प्रदेशभरि ४ हजार ९ सय २५ जनामा कोरोना पुष्टि भएकोमा सबैभन्दा बढी २० देखि २९ वर्षको उमेर समूहका १ हजार ८ सय ६६ जना छन् । अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भएको छ ।

‘आत्तिनु पर्दैन, ठीक हुन्छ’

कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरकी ७० वर्षीया नारुदेवी दमाईं जेठ दोस्रो साता भारतको मुम्बईबाट घर फर्किइन् । १४ दिन क्वारेन्टाइनमा बसेपछि जेठ २८ गते उनमा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टिपछि उनलाई महाकाली अस्पतालको आइसोलेसनमा राखियो । १४ दिनसम्म कुनै लक्षण र स्वास्थ्यमा समस्या नदेखिएपछि उनलाई डिस्चार्ज गरियो ।

कञ्चनपुरको वेदकोट–१ की नारुदेवी दमाईं ।

संक्रमणमुक्त भएपछि उनी नियमित काममा फर्केकी छन् । सुरुमा दूरदूर गर्ने उनका छिमेकी अहिले भने कुनै हिच्किचाहट नमानी सँगै बस्छन् । ‘साँच्ची भन्ने हो भने कोरोना संक्रमण भए/नभएको पत्तै नचलेर म ठीक भएँ,’ उनले भनिन्, ‘कोरोनाबाट अरूले पनि आत्तिनु पर्दैन ।’

‘त्यो मसँग हार्‍यो’

हेटौंडा उपमहानगरपालिका–११ नवलपुरकी ९३ वर्षीया शारदादेवी पराजुलीलाई असोज ७ गते कोरोना संक्रमण भएको पुष्टि भयो । उनी होम आइसोलेसनमै बसिन् । असोज २२ मा उनी संक्रमणमुक्त भइन् । ‘कोरोनालाई मैले जितें, त्यो मसँग हार्‍यो,’ उन्मुक्त स्वरमा हाँस्दै उनले भनिन्, ‘कोरोना लाग्यो भनेर डराउनु पर्दैन । मन बलियो बनाउनुपर्छ, केही हुँदैन । डराएपछि सबैले गलाउँछन्, कोरोनाले मात्र होइन ।’

प्रकाशित : कार्तिक ७, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?