कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

३ स्वास्थ्यकर्मीको मृत्यु, करिब ७५ प्रतिशत निको भएर काममा फर्किए
अतुल मिश्र

काठमाडौँ — मुलुकमा कोरोना भाइरस संक्रमित भेटिन सुरु भएयता उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीन जना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए ।

५ हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

कोरोना जितेका स्वास्थ्यकर्मीहरू पुनः बिरामीको सेवामा फर्किएका छन् । चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, ‘सुविधाको आकर्षणले भन्दा सेवाको भावले स्वास्थ्यकर्मी खटिरहेका छन् ।’

दिनहुँ संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको संख्या ५ हजारभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार यसरी खटिँदा आफैं संक्रमित भएकामध्ये करिब ७५ प्रतिशत स्वास्थ्यकर्मी निको भइसकेका छन् । सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौं उपत्यकामा दुई महिनायता दिनहुँ करिब ४० जना स्वास्थ्यकर्मी संक्रमित भइरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले बताए ।

सुरक्षित लुगा, फेस मास्क, पन्जालगायत लगाउँदा पनि डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीहरू अन्य व्यक्तिको तुलनामा बढी संक्रमित भएको श्रेष्ठले बताए । सेवामा खट्दाखट्दै स्वास्थ्यकर्मीमा गम्भीर रूपले बिरामी हुने जोखिम बढिरहेको उनको भनाइ छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का ४६ वर्षीय कन्सल्टेन्ट फिजिसियन डा.ध्रुव गैरे त्रिवि शिक्षण अस्पतालबाट कोभिडको उपचारपछि भदौ ८ मा डिस्चार्ज भए । तर अझैसम्म उनी पूर्णरूपमा निको भएर तंग्रिन सकेका छैनन् । अस्पतालबाट डिस्चार्ज भएको दुई महिना बितिसक्दा पनि अझै सतर्क छन् । १० दिनअघिसम्म घरमै अक्सिजन लिइरहेका थिए । डा.गैरेमा कोभिड संक्रमण देखिनुअघिसम्म रक्तचाप, मधुमेहलगायतका कुनै स्वास्थ्य समस्या थिएन । आफ्नो स्वास्थ्यको ख्याल गर्दै उनी यतिबेला दैनिक काममा खटिएका छन् । ‘स्वास्थ्य संस्थाको बहिरंग विभागमा पहिचान भएको दाँजोमा पहिचान नभएका कोभिडको केस बढी भयो,’ उनले भने, ‘अर्कै लक्षण लिएर आउँदा पूर्ण सावधानी नअपनाइएकाले चिकित्साकर्मीमा संक्रमणको जोखिम बढी देखिएको हो ।’

कोरोनाका कारण मृत्युको मुखबाट फर्किएका डा.गैरे १० दिनदेखि वीर अस्पतालको बहिरंग विभागमा कोरोनाका शंकास्पद, संक्रमित वा निको भएकाको स्वास्थ्य जाँचमा समय खर्चिरहेका छन् । डा.गैरे भन्छन्, ‘यत्तिको संक्रमणले मन, शरीर, आत्मालाई तोड्ने प्रयास गर्दागर्दै पनि म कहिले निको भएर पुनः बिरामीको सेवामा फर्कौंला भन्ने सोच्थें । यो म मात्र हैन अपवादबाहेक सबैजसो स्वास्थ्यकर्मीको भावना हो ।’ स्वास्थ्यकर्मी गम्भीर रूपले संक्रमित हुनुको एउटा कारण बिरामीको निकट रहेर काम गर्नु रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउँछन् । ‘गम्भीर रूपमा संक्रमित बिरामीहरूको ज्यान जोगाउने प्रक्रियाअन्तर्गत अत्यन्त नजिकमा स्वास्थ्यकर्मी हुन्छन्,’ उनले भने, ‘ती बिरामीहरूमा उच्च मात्रामा भाइरस हुन्छ । अर्थात् बढी भाइरल लोड भएका बिरामीको नजिक रहँदा स्वास्थ्यकर्मी बढी जोखिममा देखिएका छन् ।’

मुलुकमा चिकित्साकर्मी र कोभिडका बिरामीको अनुपातमा धेरै ठूलो अन्तर हुनु, धेरै समयसम्म निरन्तर खट्नुपर्नेलगायतका बाध्यताले समेत चिकित्साकर्मी बढी मात्रामा संक्रमित भइरहेको डा.पाण्डेको भनाइ छ ।

चिकित्सक, स्वास्थ्यकर्मीहरू कोभिड भाइरससँग सिधा युद्घ लडिरहेको जनाउँदै संघका अध्यक्ष डा.लोचन कार्कीले भने, ‘उहाँहरू राज्यको प्रोत्साहन सुविधाका कारण नभई विशुद्घ मानवीय भावनाले आफ्ना देशवासीको ज्यान जोगाउन भोक र प्यास नभनीकन आफ्नो ज्यान जोखिममा राखेर खटिराख्नुभएको छ ।’

हालसम्म संक्रमणमा परेका ५ हजार स्वास्थ्यकर्मीमध्ये करिब २ हजार जति चिकित्सक रहेको औंल्याउँदै उनले भने, ‘न सरकार, न पैसाका लागि खटिरहेका छन्, विशुद्घ पेसागत धर्म निर्वाह गर्न ज्यान दाउमा लगाउँदै हप्तौंसम्म परिवारलाई नभेटी बिरामीको उपचार गरिरहेका छन् ।’

प्रकाशित : कार्तिक ७, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?