राजनीतिक-कूटनीतिक मामिलामा गुप्तचरीको प्रवेश

प्रधानमन्त्री ओलीले ‘प्रोटोकल’ बिर्सिंदै भारतीय गुप्तचर संस्थाका प्रमुखसँग बुधबार सरकारी निवासमै वार्ता गरे, जसको चौतर्फी आलोचना भइरहेको छ ।

काठमाडौँ — नेपाल र भारतबीच राजनीतिक र कूटनीतिक तहबाट छलफल र संवाद गरेर सम्बन्ध सुधार्ने ठाउँ रहँदारहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपक्षीय मामिलामा गुप्तचरी संयन्त्रलाई प्रवेश गराएका छन् ।

राजनीतिक-कूटनीतिक मामिलामा गुप्तचरीको प्रवेश

दुई देशबीच राजनीतिक तथा कूटनीतिक तहमा ‘अर्थपूर्ण संवाद’ हुन नसकिरहेका बेला उनले आफ्नो ‘प्रोटोकल’ बिर्सिंदै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग बुधबार सरकारी निवासमै वार्ता गरेका छन् । जसका कारण प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भइरहेको छ ।

सशस्त्र द्वन्द्वकाल, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा रअका अधिकारीहरू नेपाल मामिलामा चासो राख्दै निरन्तर गोप्य भ्रमण गरेर नेताहरूसँग प्रोटोकलबिना भेट्ने गर्थे । रअ प्रमुख गोयलको यसपटकको भ्रमण भने खुलमखुला भयो । प्रधानमन्त्री ओलीले उनीसँग आफ्नो सरकारी निवासमै दुई घण्टाभन्दा बढी भेट मात्र गरेनन्, त्यसको सगर्व प्रेस नोटमार्फत सार्वजनिक गरे । गोयलले सन् २०१९ जुलाईमा नेपाल आएका बेला उच्चस्तरीय भेटघाट गरेका थिए तर यस्तो खुलमखुला थिएन ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूसमेत नराखी ओलीले बुधबार मध्यराति गोयलसँग भेटेका थिए । जुन भेटमा ‘नेपाल–भारतमैत्री सम्बन्ध खलबलिन नदिने, समस्यालाई वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोग निरन्तर अगाडि बढाउने’ विषयमा कुरा भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोटमार्फत जानकारी दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले यो भेटलाई शिष्टाचार भनेको छ । ‘उहाँहरूले दुई मुलुकबीचमा रहेका समस्याले सम्बन्धलाई असर पार्न नदिने र समस्या समाधानका लागि शान्तिपूर्ण रूपमा कूटनीतिक वार्ता र छलफलबाट टुंग्याउने विषयमा कुराकानी गर्नुभयो,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग भने । प्रोटोकलका सम्बन्धमा उनले भने, ‘सुरक्षा संयन्त्रलाई भेट्ने गरेका छौं र अन्तर्राष्ट्रिय रूपमा पनि प्रधानमन्त्रीले अन्य मुलुकका सुरक्षा प्रमुखहरूसँग शिष्टाचार भेट गर्ने चलन छ । भ्रमणमा शिष्टाचार भेट गर्न खोजे हुन्छ । यो विगतको अभ्यास हो ।’

परराष्ट्र मन्त्रालयले अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणले गत मंगलबार अपराह्न मात्रै भारतबाट आउन लागेको ‘ग्लोबल ५०००’ उडानलाई ‘स्पेसल अप्रुभल फर डिप्लोम्याटिक फ्लाइट’ भनेर आन्तरिक सूचना जारी गरेको थियो । यो विमानले उडानबापत प्राधिकरण शुल्क तिर्नु नपर्ने गरी ७२ घण्टा काठमाडौंमा रहन सक्ने अनुमति प्राधिकरणले दिएको जानकारी भारतीय दूतावासलाई गराइएको थियो । त्यही चार्टर विमानबाट गोयल बुधबार दिउँसो १ बजे काठमाडौं उत्रेका थिए । उनी बिहीबार बिहान करिब सवा १० बजे नयाँदिल्ली फर्किए । उनको भ्रमणबारे सुरुमा कुनै पनि सरकारी संयन्त्रले आधिकारिक रूपमा बताएनन् । प्रधानमन्त्रीलाई नै भेटेको खबर बाहिरिएपछि प्रधानमन्त्रीको सचिवालयबाट प्रेस नोट जारी भयो ।

गोयलले प्रधानमन्त्री ओलीबाहेक अन्य क–कसलाई भेटे भन्ने खुलेको छैन । राजनीतिक वृत्तमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराईसहितका नेतालाई पनि भेटेको हल्ला चलेपछि उनीहरूले वक्तव्य जारी गरेर खण्डन गरेका छन् । ‘कूटनीतिक र राजनीतिक संवादबाटै समस्या समाधान गर्नुपर्छ भन्ने पार्टीको धारणा हो, त्यसैले पूर्वप्रधानमन्त्रीहरूलगायत हाम्रो पार्टीका अन्य नेताले गुप्तचर प्रमुखलाई भेट्नुभएको छैन,’ नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘प्रधानमन्त्रीको स्तरबाटै आमन्त्रण भएकाले उता मात्र भेट भएको होला ।’

नेपालले नयाँ राजनीतिक–प्रशासनिक नक्सा जारी गरेपछि भारतीय उच्च अधिकारीबाट भएको यो पहिलो नेपाल भ्रमण हो । नेपाली भूमिलाई अतिक्रमण गर्दै भारतले गत कात्तिकमा नयाँ नक्सा निकालेको थियो भने गत चैतमा नेपाली भूमि हुँदै भारतको उत्तराखण्डबाट चीनको मानसरोवर जाने सडकको ट्र्याक खोलेको थियो । लगत्तै नेपालले कूटनीतिक नोटहरूमार्फत विरोध गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि भारत नेपालसँग झन् चिढिएको छ । कूटनीतिक र राजनीतिक तहबाट संवादको ढोका बन्द भइरहेका बेला त्यसलाई खुलाउने प्रयासस्वरूप भएको भ्रमणलाई अन्यथा लिन नहुने प्रधानमन्त्रीनिकट नेताहरूको भनाइ छ । दुई मुलुकबीच सम्बन्ध सुधार्ने विभिन्न च्यानल हुने उल्लेख गर्दै उनीहरूले यो भ्रमण र संवादलाई पनि त्यसको एउटा अंश मान्नुपर्ने तर्क गरे ।

पूर्वपरराष्ट्रमन्त्री एवं कूटनीतिज्ञहरूका अनुसार सरकारी कूटनीतिक संयन्त्रलाई थाहै नदिई सिधै प्रधानमन्त्रीले अर्को मुलुकका गुप्तचरी प्रमुखलाई लामो भेट गर्नु पदीय प्रोटोकलविपरीत हो । यसले राजनीतिक र कूटनीतिक गरिमामा आँच आएको उनीहरूको भनाइ छ । यसअघि भारतको हस्तक्षेपमाथि प्रश्न उठाउँदै राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री ओली स्वयंको व्यक्तिगत ओज पनि गिराएको उनीहरूले बताए ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका सदस्य सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री ओली र गोयलको भेट प्रोटोकलका हिसाबमा नमिलेको बताए । ‘प्रधानमन्त्रीले रअ प्रमुखलाई भेटेको भन्दा ठीक सुनिएन,’ उनले भने, ‘तर पहिलेदेखि नै भारत र नेपालको बीचमा प्रोटोकलमा ख्याल गरिँदैन । यहाँ भारतीय राजदूतहरूले पनि धेरै पटक प्रधानमन्त्रीलाई सिधै भेटेका छन् । तर दिल्लीमा रहेका हाम्रा राजदूतले भारतीय प्रधानमन्त्रीलाई भेटेको विरलै भेटिन्छ ।’ उपाध्यायले गोयलको भ्रमणमा भारतले नेपाललाई केही सन्देश पठाएको आंकलन गरे । ‘केही बार्गेनिङ गर्न लागेको हुन सक्छ,’ उनले भने 

‘दुई देशबीचको मैत्री सम्बन्ध खलबलिन नदिने’ भन्दै राजनीतिक सन्देश दिएर गोयल फर्केको भए पनि यसले नेपालको राष्ट्रियता, स्वाभिमान र कूटनीतिक मर्यादाको धज्जी उडेको ओलीकै दल नेकपाका नेताहरूको बुझाइ छ । ‘राजनीतिक र कूटनीतिक संवाद गर्न नमानिरहेको मुलुकको गुप्तचर प्रमुखलाई बोलाएर देशको कार्यकारी प्रमुखले राति दुई घण्टाभन्दा बढी छलफल गर्नु आपत्तिजनक छ,’ नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री भीम रावलले भने, ‘यो संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत छ ।’ उनले यो भेटघाटको समय र तरिका आपत्तिजनक रहेको बताए ।

कूटनीतिज्ञ एवं पूर्वराजदूत दिनेश भट्टराईले भारतीय गुप्तचर संस्थाका प्रमुखको आकस्मिक नेपाल भ्रमण र उनले दिएको सन्देशमा आश्चर्य व्यक्त गरे । ‘के नेपाल र भारतबीच विद्यमान समस्याको गाँठो खोल्न राजनीतिक वा कूटनीतिक तहमा हाम्रा संयन्त्रहरू थिएनन् ?’ उनले भने, ‘हाम्रा प्रधानमन्त्रीसँग भारतीय गुप्तचरको एक सदस्यले यसरी भेटेर आपसी समस्याबारे बहस गर्दै समाधानको उपाय दिने यो स्थिति सन्देहास्पद र खतरापूर्णसमेत देखिन्छ ।’ उनले अहिले देखिएको गतिविधिले नेपालको कूटनीतिक र राजनीतिक स्तरको धज्जी उड्ने आवस्था आएको धारणा राखे । भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले ‘नेपालको निम्तोमा आएको जस्तो देखिने भारतीय गुप्तचरका प्रमुखको यो भ्रमण र प्रधानमन्त्री ओलीसँगको भेटवार्ताले नेकपा सरकारले ओढेको राष्ट्रवादको खोल उदांगिएको’ प्रतिक्रिया दिए ।

नेपाल र भारतबीचका समग्र विषयमा कुरा गर्न सन् १९८७ मा गठन भएको परराष्ट्र मन्त्रीस्तरको नेपाल–भारत संयुक्त आयोग र त्यही आयोगले द्विपक्षीय सीमा समस्यामा कुराकानी गर्न बनाएको सचिवस्तरीय संयन्त्रको ‘औपचारिकताका एक/दुई बैठक मात्रै सम्भव’ भएको रेकर्ड परराष्ट्रमा छ । ‘अहिले पनि दुवैतर्फबाट आइस ब्रेक गर्न खोजिएको हुन सक्छ, तर यो तरिका सही भएन,’ पूर्वराजदूत भट्टराईले भने ।

राप्रपा अध्यक्ष पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले विधि र प्रक्रियामै समस्या औंल्याए । ‘परराष्ट्र मन्त्रालयलाई थाहा हुनु आवश्यक छ । प्रधानमन्त्री भनेको व्यक्ति मात्र होइन, संस्था पनि हो,’ उनले भने, ‘उहाँले कोसँग केका लागि भेट्ने भन्ने कुरामा परराष्ट्र मन्त्रालयको सहभागितामा हुनुपर्छ । सुरक्षा निकायका भए पनि उहाँ सन्देश लिएर आएको हुन सक्छ । सिधै प्रधानमन्त्रीको स्तरमा जानु गलत हो ।’

कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यादाविपरीत नै यसरी विदेशी सुरक्षा संस्थाको प्रमुखलाई नियमित भेट गरिरहेको दाबी गरे । ‘उहाँले भारत मात्र होइन, चीन र अन्य मुलुकका सुरक्षा निकायकाहरूसँग यसरी नै भेट्नुभएको छ ।’ अर्का पूर्वपरराष्ट्रमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री ओली र रअ प्रमुख गोयल बीचको भेटलाई स्वाभाविक माने । ‘भारत र नेपालबीचमा बहुआयामिक सम्बन्ध छ । यस्तो भेट पहिले पनि हुँदै आएको छ । तर प्रधानमन्त्रीले यसलाई सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिनुपर्छ,’ उनले थपे ।

प्रधानमन्त्री ओलीले रअ प्रमुख गोयलसँग गरेको भेटलाई लिएर साझा पार्टीले पनि आपत्ति जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले प्रश्न गरेको छ, ‘के रअका प्रमुख नेपाली समकक्षी गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् ?

प्रकाशित : कार्तिक ७, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?