२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भत्ता थाप्‍न वृद्धवृद्धालाई सास्ती

आनन्द गौतम

ताप्लेजुङ — चुनावी नाराअनुसार घरघरमै भत्ता ल्याएर बाँडिन्थ्यो भने दसैंले छपक्क छोपिसक्दा पनि उनले सकीनसकी बैंक धाउनुपर्ने थिएन । फुङलिङ–७ दोखुकी ७८ वर्षीया लीलामाया गुरुङलाई छोरा राजकुमारले बिहीबार सिद्धार्थ बैंकको शाखामा पुर्‍याइदिएर आफ्नो कार्यालय गए । 

भत्ता थाप्‍न वृद्धवृद्धालाई सास्ती

तोक्मेडाँडा फटाफट हिँड्न सक्नेका लागि ४५ मिनेटको पैदल दूरी हो । लीलामायालाई डेढ घण्टा लाग्यो । आफू र श्रीमानले पाउने वृद्धभत्ता थाप्न उनी पुगेकी थिइन् । श्रीमानको भने लिन पाइनन् । श्रीमानको समेत लिनका लागि वडा कार्यालयको सिफारिस आवश्यक पर्थ्यो । चाडबाड लागेकाले सिफारिस ल्याउने समय भएन । ८४ वर्षीय श्रीमान अम्बरबहादुर आफैं भने हिँडेर आउन सक्ने अवस्थामा छैनन् ।

यही वडाका दुर्गाप्रसाद गौतम स्वास्थ्यका कारण बैंकसम्म आउन सकेनन् । दमका बिरामी उनले हिँड्न नसक्ने बताएपछि वडाले भत्ता रकम उनकी श्रीमती अम्बिका गौतमलाई दिन सिफारिस गर्‍यो । त्यही सिफारिसका लिएर सिद्धार्थ बैंक पुगेकी उनले श्रीमानले पाउने भत्ताबापतको १२ हजार रुपैयाँ बुझिन् । यसले दसैं खर्च चलाउने योजना दम्पतीको छ ।

सदरमुकामसँगै जोडिएको यो वडाका वृद्धवृद्धाले आफूले पाउने सामाजिक सुरक्षा भत्ता बुझे पनि सदरमुकामवाट टाढा रहेको फावाखोला गाउँकाले भने पाउन सकेनन् । सदरमुकाममा कार्यालय रहेको सेञ्चुरी बैंकले कर्मचारी खटाएर बिहीबार वडामै गएर चेक दियो । त्यो चेक साट्न उनीहरू सदरमुकाम फुङलिङ आउनुपर्छ । शुक्रबारदेखि बैंक बन्द भएकाले उनीहरूले पाउन नसकेको वडाध्यक्ष योगेश भट्टराईले वताए । वडाका बूढाबूढी हिँड्न नसक्ने भएकाले गाउँमै आएर वितरण गर्न भट्टराईले बैंकसँग अनुरोध गरेका थिए । रकमै ल्याउन नसकिने तर चेक दिन सकिने भनेर बैंकले बुधबार दुई जना कर्मचारी खटाएको म्यानेजर जीवन अधिकारी बताउँछन् ।

वडाले थप एकदिन बैंक खुला राखिदिन अनुरोध गरेको छ । तर जिल्लाको मात्रै निर्णयबाट खोल्न नसक्ने बैंकले जनाएको छ । १ नम्बर प्रदेश सरकारले दसैंमा ५ दिन बिदा दिने निर्णय गरेका कारण फूलपातीदेखि नै बिदा हुन्छ । बिहीबार चेक साट्न नभ्याएकाले दसैं पछाडि बैंकमा सम्पर्क गर्नुपर्छ । फुङलिङको वडा नम्बर–११ बाट सदरमुकाम आएर फर्कन फटाफट काम भए एक दिन लाग्छ । कोरोना संक्रमणबाट वृद्धवृद्धालाई जोगाउनु भने पनि बिहीबारको दृश्यले त्यो सम्भव भएन । सदरमुकाम फुङलिङका हरेकजसो बैंकमा बूढाबूढीको भीड लागेको थियो । तिनै बूढाबूढीको भीडमा बैंकका कर्मचारी काम गरिरहेका थिए ।

फुङलिङ नगरपालिकाले यसै वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन सुरु गरेको हो । बैंकबाट भुक्तानी दिन थालेको यो दोस्रो पटक हो । यसअघि सक्नेलाई बैंकमै आउन र अशक्तका लागि घरमा पुर्‍याइदिन वडाले अनुरोध गरेको थियो । कर्मचारी त्यहीअनुसार घरमा पनि पुगेका थिए । यो पटक घरमा पुर्‍याउन नसक्ने बरु वडाले सिफारिस दिए त्यसको आधारमा परिवारका सदस्यलाई भुक्तानी दिने बताएपछि सिफारिस दिन थालेको हो ।

वडा–७ का वडासदस्य डम्बरबहादुर पालुङ्वा बैंकिङ सिस्टम राम्रो भए पनि वृद्धवृद्धालाई हैरानी भएको बताउँछन् । ‘समयमा पाएनन् भने हामी जनप्रतिनिधिलाई चौतर्फी दबाब हुन्थ्यो,’ उनले भने, ‘कर्मचारी खटाएर वा आफैं गएर घरघरमा पुर्‍याउँथ्यौं । अब बैंकलाई त्यो बाध्यता छैन त्यसको असर हाम्रो राजनीतिमा पनि परेको छ ।’

एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा करिब ३० करोड रुपैयाँ सामाजिक सुरक्षा भत्तामा खर्च हुने गरेको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?