१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

के सन्देश लिएर आएका थिए गोयल ? 

प्रधानमन्त्री र 'रअ' प्रमुखको भेट प्रोटोकलअनुसार मिलेन, सुन्दा पनि राम्रो सुनिएन : सूर्यनाथ उपाध्याय
दुईपक्षीय हितका विषयमा कुरा भएको हो, सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीले भेट्ने चलन बाहिर पनि छ : राजन भट्टराई
जगदीश्वर पाण्डे

काठमाडौँ — बुधबार अचानक काठमाडौं आइपुगेका भारतीय गुप्तच विभाग ‘रअ’का प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरे । निकै गोप्य राखिएको गोयल भ्रमणबारे विभिन्न अड्कलबाजी भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र गोयलबीच शिष्टाचार भेटवार्ता भएको सूचना प्रेस नोटमार्फत् सार्वजनिक गरे, गोयल भारत फर्किएपछि । 

के सन्देश लिएर आएका थिए गोयल ? 

गोयल बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट काठमाडौं आएर बिहीबार बिहान १० : १५ बजे नयाँ दिल्ली फर्किए । उनको भ्रमणबारे नेपाल सरकारले कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरेको थिएन । परराष्ट्र मन्त्रालय र नेपाली सेनाका प्रवक्ताले यो भ्रमणबारे बुधबार बेलुकासम्म पनि अनभिज्ञता प्रकट गरेका थिए । राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले उनी आएको पुष्टि गरे पनि कुनै कार्यक्रम नभएको भन्दै भ्रमण व्यक्तिगत वा धार्मिक हुनसक्ने बताएका थिए । काठमाडौंस्थित भारतीय दूतावासले पनि गोयलले भ्रमण नगरेको बताएको थियो ।

बिहीबार भने पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र माधवकुमार नेपालले आफूहरूले गोयलसँग भेट गरेको भन्ने समाचार झुटो भएको बताउँदै खण्डन गरेका थिए । लगत्तै प्रधानमन्त्रीको प्रेस सल्लाकार थापाको प्रेस नोटबाट ओली र गोयलबीच भेटवार्ता भएको सार्वजनिक गरे ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कान्तिपुरसँग ओली र गोयलबीच दुई पक्षीय मामिलाका विषयहरूमाथि छलफल भएको बताए । ‘उहाँहरूले अहिले दुई मुलुकबीचमा जति पनि समस्याहरू छन्, ती समस्याहरूले सम्बन्धलाई असर पार्न नदिने र तिनीहरूको समाधानको लागि शान्तिपूर्ण रुपमा कुटनीतिक वार्ता र छलफल माध्यमबाट टुंगाउने भन्ने विषयमा कुराकानी गर्नु भयो,’ भट्टराईले भने ।

देशको प्रधानमन्त्रीले अर्को मुलुकका सुरक्षा प्रमुखसँग दुईपक्षीय भेटवार्ता गर्नु प्रोटोकलको हिसाबले मिल्छ ? भन्ने प्रश्नमा भट्टराईले भने, ‘सुरक्षा संयन्त्रलाई हामीले भेट्ने गरेको छौं र अन्तर्राष्ट्रिय रुपमा पनि प्रधानमन्त्रीले अन्य मुलुकका सुरक्षा प्रमुखहरूसँग शिष्टाचार भेट गर्ने गरेको चलन छ । भ्रमण गरेर शिष्टाचार भेट गर्न खोज्दा भेट गरिन्छ । यो विगतको अभ्यास हो, यो नेपाल र बाहिरको मुलुकमा पनि प्रचलन छ ।’ गोयल औपचारिक कार्यक्रम वा आधिकारिकरुपमा दूतका रुपमा आएको भने थापाको नोटमा उल्लेख गरिएको छैन ।

नेपाल र भारतबीच सीमा विवाद भएर नेपालले पनि नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट नेपालमा भएको यो नै उच्चस्तरीय भ्रमण हो । नेपालको भूमिलाई अतिक्रमण गर्दै भारतले गत कात्तिकमा नयाँ नक्सा निकालेको थियो भने गत चैतमा नेपालको भूमि हुँदै भारतको उत्तराखण्डबाट चीनको मानसरोवर जाने बाटो खनेको थियो । लगत्तै नेपालले भारतका ती गतिविधिहरूको कुटनीतिक नोटहरुमार्फत् विरोध गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको थियो । जसलाई नेपालको संघीय संसदले पनि पारित गर्दै राष्ट्रिय निसान छापमा परिवर्तन पनि गरिएको थियो ।

नेपाल र भारतबीच सम्बन्ध उचार–चढाव रहेको बेलामा भारतीय गुप्तचर विभागका प्रमुख गोयलले भ्रमणलाई महत्वका साथ हेरिएको छ । तर, उनले भ्रमणको मुख्य एजेन्डा के थियो र काठमाडौमा उनले कस–कसलाई भेटे भन्ने कुनै पनि कुरा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री ओलीबाहेक उनले अन्य राजनीतिक व्यक्ति वा सरकारी अधिकारीलाई भेटे नभेटेको बारे सरकारले बताएको छैन ।

प्रधानमन्त्री ओली र गोयलबीचको भेटलाई नेपाल…–भारत प्रबुद्ध व्यक्ति समूहका एक सदस्य तथा अख्तियार अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त सुर्यनाथ उपाध्याय प्रोटोकलको हिसाबमा नमिलेको मान्छन् ।

‘वास्तममा भन्दा हरेक स्थानमा गुप्तचर निकाय हुन्छ । भारत, पाकिस्तान, अमेरिका र अन्य मुलुकमा पनि हुन्छ । प्रोटोकलको हिसाबमा यो भेट मिलेन । प्रधानमन्त्रीले रअ प्रमुखलाई भेट्ने भन्दा ठीक सुनिएन,’ उनले भने, ‘हाम्रो पनि राष्ट्रिय अनुसन्धान विभाग छ । यो प्रोटोकलले त ठ्याम्मै मिलेन । तर पहिलेदेखि नै भारत र नेपालको बीचमा प्रोटोकलमा ख्याल गरिदैन । यहाँ भारतीय राजदूतहरुले पनि धेरैपटक प्रधानमन्त्रीलाई सिधै भेटेका छन् । तर हाम्रो दिल्लीमा रहेका राजदूतले भारतीय प्रधानमन्त्रीलाई भेटेको विरलै भेटिन्छ ।’

उनले गोयलको भ्रमणको मुख्य कुरा भारतले नेपाललाई केही सन्देश पठाएको हुन सक्ने बताए । ‘केही बार्गेनिङ गर्न लागेको हुन सक्छ । गोयलले भारतीय प्रधानमन्त्री (नरेन्द्र मोदी) को सन्देश ल्याएको पनि हुन सक्छ,’ उनले भने ।

अवकाश प्राप्त उपरथी तथा सुरक्षा विज्ञ विनोज बस्न्यात अहिले नेपाल–भारतबीचमा राजनीतिक तहमा वार्ता नभएको र कुटनीतिक रुपमा कुरा अघि नबढेको बेलामा एउटा भारतीय गुप्तचर निकायको प्रमुखको नेपाल भ्रमणले दुईखालको सन्देश दिन खोजेको मान्छन् । ‘पहिलो, दुवै मुलुकका प्रधानमन्त्रीहरुले सम्बन्धलाई अघि बढाउनु पर्छ भन्ने सोचेको देखिन्छ । दोस्रो राष्ट्रिय र क्षेत्रीय सुरक्षालाई महत्व दिएको हुनसक्छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जारी गरेको प्रेस नोटमा ओली र गोयलबीचको भेटमा उनले नेपाल–भारतबीच मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरुको वार्ताद्वारा समधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको उल्लेख छ ।

‘रअ’ प्रमुख गोयल पहिलोपटक नेपाल आएका भने होइनन् । उनी यस अघि सन् २०१९ को जुलाईमा नेपाल आएका थिए । त्यसबेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए ।

प्रकाशित : कार्तिक ६, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?