साझा पार्टीले सोध्यो- प्रधानमन्त्री ओली र 'रअ' प्रमुख गोयल समकक्षी हुन् ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटलाई लिएर साझा पार्टीले आपत्ति जनाएको छ ।

साझा पार्टीले सोध्यो- प्रधानमन्त्री ओली र 'रअ' प्रमुख गोयल समकक्षी हुन् ?

बिहीबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले प्रश्न गरेको छ, 'के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् ? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ?'

'गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ?' साझा पार्टीले भनेको छ, 'आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ ।'

यो भेटले नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि ठाडो आक्रमण भएको पनि साझा पार्टीले भनेको छ ।

एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिने र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कूटनीति भारतसँगको सम्बन्धमा कुन तहमा झरेको छ भन्नेमात्र स्पष्ट पार्दैन, त्यसले अन्य देशहरूसँगको हाम्रा कूटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिने साझा पार्टीको भनाइ छ ।

खुफिया एजेन्सीका प्रमुखलाई प्रधानमन्त्रीले भेट्नु लज्जाजनक रवैया भएको साझा पार्टीको भनाइ छ ।

गोयललाई प्रधानमन्त्रीले भेटेको उनको सचिवालयले जानकारी दिएको छ । उक्त भेटको सत्तारुढ नेकपाभित्र पनि आलोचना भइरहेको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?