घरमै ज्यान गुमाउँदै संक्रमित

धरानमा आईसीयू र भेन्टिलेटर बेडको अभावमा कोरोनाका जटिल अवस्थाका बिरामीको मृत्यु हुने क्रम बढेको छ
प्रदीप मेन्याङ्बो

सुनसरी — श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर जाँच गर्दा असोज २ गते धरान–१५ बाँझगरास्थित बुढासुब्बा चोकका ७० वर्षीय वृद्धको कोरोना रिपोर्ट पोजिटिभ आयो ।

घरमै ज्यान गुमाउँदै संक्रमित

घरबाट दुई किलोमिटर दूरीमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उनका परिवारले सोधीखोजी गरे ।

अन्य अस्पतालमा पनि सम्पर्क गरे । तर कतै आईसीयू बेड खाली नभएको जानकारी आयो । घरमै छटपटाउँदै सोमबार बिहान ती वृद्धको मृत्यु भयो ।

पाँच दिनअघि मात्र संक्रमण पुष्टि भएपछि धरान–८ सहिद रत्नमार्गका ७० वर्षीय वृद्ध आईसीयू बेड नपाएर होम आइसोलेसनमै बसेका थिए । उनले पनि सोमबार बिहान नै प्राण त्यागे । धरान–८ लांघाली चोक बस्ने ७३ वर्षीया वृद्धामा संक्रमण पुष्टि भएपछि आइतबार दिउँसो श्वासप्रश्वासमा समस्या आएर प्रतिष्ठानको इमर्जेन्सीमा पुर्‍याइयो । थप उपचारका लागि आईसीयू बेड नभएपछि घर फर्काएको एक घण्टा नबित्दै साँझ मृत्यु भयो । धरान–८ भोटेपुलका ६८ वर्षीय पुरुष र धरान–१९ भिक्टोरिया चोक बस्ने ७० वर्षीया वृद्धाको पनि त्यस्तै हालत भयो ।

धरानमा कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरूले आईसीयू र भेन्टिलेटर अभावमा अकालमै ज्यान गुमाउनुपरेको छ । होम आइसोलेसनमै बसेकामध्ये असोज २८ यता सोमबारसम्म धरानमा १४ जनाको मृत्यु भएको छ । यसअघि असोज तेस्रो साता होम आइसोलेसनमा रहेका चार जनाको ज्यान गएको थियो ।

होम आइसोलेसनमा बसेको अवस्थामा ज्यान गुमाएकामध्ये धरान–१९ चौकीबारीका एक पुरुष र धरान–१४ विजयपुरमा संक्रमण आशंका गरिएका एक महिलाबारे भने आधिकारिक जानकारी छैन । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले होम आइसोलेसनमा बस्दाबस्दै जटिल अवस्था भएपछि आईसीयू र भेन्टिलेटर नपाएर ज्यान गुमाउनेको आधिकारिक तथ्यांक राख्ने प्रयास भइरहेको बताए ।

तर शवको व्यवस्थापन गर्न, लक्षण देखिएकाको स्वाब संकलन गर्न, कन्ट्याक्ट ट्रेसिङ गर्न जनशक्ति अभावले भ्याउन गाह्रो भएको उनको भनाइ छ । ‘पोजिटिभ रिपोर्ट आउनासाथ अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार पाएका कतिपय संक्रमितको ज्यान बाँचे पनि बेड अभावले कतिलाई गुमाउनुपरेको छ,’ उनले भने ।

सुनसरी जिल्लाभरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ पुरुष र १४ महिला गरी ५१ जना पुगेको छ । सोमबारसम्म पाँच पुरुष र तीन महिला गरी आठ जनाको मात्र होम आइसोलेसनमा मृत्यु भएको तथ्यांक छ । यसको अर्थ कतिपय मृतकको तथ्यांक समेटिएको छैन । स्वास्थ्य कार्यालयका जिल्ला कोभिड संयोजक अधिकृत दीक्षा श्रेष्ठका अनुसार हालसम्म संक्रमितको संख्या ३ हजार ९ सय ६२ पुगेको छ ।

तीमध्ये १ हजार ७ सय ६० जना निको भएका छन् । जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै धरानमा छन् । धरानमा मृतकहरूको संख्या ३२ पुगेको छ भने २ हजार ७ जना संक्रमित छन् ।

प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिन विभागका जनस्वास्थ्य विज्ञ डा. विजयकुमार खनालले नेपालमा कोरोना संक्रमणको भयावह अवस्था आउनै बाँकी रहेको बताए । ‘संक्रमणको पिक अवस्था भर्खरै सुरु भएको छ, । दसैंतिहार जस्ता चाडबाडका कारण र जाडो मौसम सुरु भएसँगै अवस्था थप भयावह बन्न सक्छ,’ उनले भने, ‘हालसम्म मृत्यु भएकामध्ये अधिकांश वृद्धवृद्धा, मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, क्यान्सर भएका दीर्घरोगीहरू छन् । आईसीयू, भेन्टिलेटर र अक्सिजन सप्लाई गर्ने आइसोलेसन बेड पर्याप्त भएको भए कतिपयलाई बचाउन सकिन्थ्यो ।’

प्रतिष्ठानका होस्टल वार्डेनसमेत रहेका कोभिड–१९ संयोजक डा. इन्द्र लिम्बूले आईसीयू र भेन्टिलेटरमा भर्ना गरिदिन दैनिक १५ देखि २० जना होम आइसोलेसनका बिरामीले फोन गर्ने गरेको बताए । उनले भने, ‘तर बेड अभाव छ । चाप थेग्न सकिएको छैन ।’

लक्षण नभएका संक्रमित मात्र होम आइसोलेसनमा बस्नुपर्नेमा लक्षण देखापरेका र जटिल अवस्थाकालाई महामारीका बेला राज्यले अक्सिजन सप्लाई हुने आइसोलेसन बेड वा आईसीयू र भेन्टिलेटरमा राख्ने व्यवस्था गर्न नसकेको प्रतिष्ठानका एक वरिष्ठ चिकित्सकले बताए । ‘महामारीका बेला नागरिक बचाउन गर्नुपर्ने उपायमा सरकार चुकेको छ । पीसीआर जाँच पैसा तिरेर आफैं गर भन्नु, लक्षण देखिए पनि होम आइसोलेसनमा बस भन्नु, संक्रमित मृतकको शवको व्यवस्था परिवार आफैंले गर्नु भन्नुको अर्थ संक्रमित बढुन् भन्ने सन्देश दिन खोजेको होइन र ?’

प्रतिष्ठानको कोभिड अस्पतालमा २५ वटामा बाहेक भएका अरू आइसोलेसन बेडमा अक्सिजन सप्लाई हुने व्यवस्था छैन । आईसीयू र भेन्टिलेटर बिग्रेका छन् । अक्सिजन आपूर्ति हुन सकेको छैन । पछिल्लो समय धरानमै निको भएका पाँच जनामा संक्रमण दोहोरिएको एक चिकित्सकले बताए ।

प्रकाशित : कार्तिक ६, २०७७ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?