कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘गुप्तचर शैली’कै भ्रमण सकेर फर्किए ‘रअ’ प्रमुख गोयल

जगदीश्वर पाण्डे

काठमाडौं — भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा ‘गुप्तचर शैली’कै भ्रमण सकेर बिहीबार फर्किएका छन् ।

‘गुप्तचर शैली’कै भ्रमण सकेर फर्किए ‘रअ’ प्रमुख गोयल

उनी बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । विमानस्थल स्रोतका अनुसार गोयल सोही विमानमा बिहीबार बिहान सवा १० बजे नयाँ दिल्ली फर्किएका हुन् ।

उनी आएको र गएको बाहेक सम्पूर्ण गतिविधि भने गोप्य नै रह्यो ।

राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले ‘रअ’का प्रमुख काठमाडौं आएको पुष्टि गरे । उनले कान्तिपुरसँग भने, ‘यो औपचारिक भ्रमण होइन, उहाँको व्यक्तिगत वा धार्मिक भ्रमण हुन सक्छ ।’

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउनुअघि त्यहाँकै अर्को सुरक्षा संस्थाका प्रमुखको नेपाल भ्रमणको मुख्य एजेन्डा के थियो भन्ने सार्वजनिक भएन । स्रोतका अनुसार गोयलका लागि द्वारिकाज होटल र हायात होटलमा कोठा बुक गरिएको थियो ।

गोयलको भ्रमणसम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताएका थिए । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि गोयलको भ्रमण कार्यक्रमबारे अनभिज्ञता जनाएकी थिइन् । तर परराष्ट्रले नै ‘कूटनीतिक अनुमति’ सहित भारतीय कूटनीतिक उडानका लागि आवश्यक प्रबन्ध तय गर्न भन्दै नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेखेको थियो । त्यही अनुसार नेपाल उड्डयन प्राधिकरणले प्रबन्ध मिलाएको थियो ।

दुई देशबीचको सीमा विवादमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च अधिकारी नेपाल आएका थिएनन् । गोयल नेपाल आएको यो पहिलोपटक भने होइन । उनी यसअघि सन् २०१९ को जुलाईमा आएका थिए । त्यस बेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए । उनको यसपालिको भ्रमणबारे भारत र नेपाल दुवै पक्षले गोप्य राखेका छन् । भारतीय दूतावासले गोयल आएको अस्वीकार गर्दै आएको छ ।

गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको भन्ने समाचारहरु प्रकाशित भएको भन्दै दाहालको सचिवालयले एक विज्ञप्ति प्रकाशित गर्दै भेटघाट नभएको जनाएको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?