कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दसैंतिहारमा बढ्न सक्छ चोरी/डकैती

चाडपर्व मनाउँदा र परिवारसँग रमाइलो गर्दा घरका अन्य पाटोमा ध्यान पुग्दैन । त्यसको फाइदा चोरी/डकैती गर्ने समूहले लिन सक्छन् । यस्तोमा विशेष सावधानी अपनाउन प्रहरीले सुझाएको छ ।
मातृका दाहाल

काठमाडौँ — हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैं लागेसँगै सहरबजार तथा कार्यथलोबाट घर फर्किनेको चाप बढ्दो छ । कोरोना महामारीका बीच पनि काठमाडौं उपत्यकाबाट घर फर्किनेको ताँती रोकिएको छैन ।

दसैंतिहारमा बढ्न सक्छ चोरी/डकैती

गत वर्षको तुलनामा काठमाडौं उपत्यका छाड्नेको संख्या भने कम छ । अहिले दैनिक २५ देखि ३० हजार मानिस चाडपर्व मनाउन घर फर्किने गरेका छन् ।

घर फर्किनेको ताँती टीकाको अघिल्लो दिनसम्मै कायम रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाल बताउँछन् । उपत्यकाबाट मात्रै होइन, अन्य जिल्ला तथा प्रमुख सहरका कार्यथलोबाट पनि घर फर्किनेको चाप बढ्दो छ ।

कोरोना महामारीका कारण सुनसान बनेका राजमार्ग र त्यस आसपासका होटल/रेस्टुरेन्टमा पनि चहलपहल बढेको छ । यो क्रम हरेक वर्ष खासगरी दसैंतिहारका बेला देखिन्छ । पर्व मनाउन घर फर्किनेको संख्याले हर्ष, उल्लास र रमाइलोको पनि संकेत गर्छ । तर रमाइलोसँगै यो अवधिमा अपराधका घटना पनि बढ्न सक्छन् ।

कार्यथलोबाट चाडपर्व मनाउन घर गएको मौका छोपेर आपराधिक मानसिकता भएका व्यक्ति तथा समूहले चोरी, डकैती, लुटपाटजन्य गतिविधि बढाउन सक्छन् । अझ यो जोखिम सहरी इलाकामा बढी देखिन्छ । त्यसकारण पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले चाडपर्वका बेला हुन सक्ने अपराधजन्य गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना नै कार्यान्वयनमा ल्याएका छन् । दुवै सुरक्षा निकायले चाडपर्वका बेला सुरक्षा सतर्कता थप बढाउन भन्दै मातहतका कर्मचारीलाई घरबिदा बस्न पनि रोक लगाएका छन् । यो अवधिमा आर्थिक र सामाजिक अपराधजन्य घटना बढी हुने भएकाले त्यहीअनुसार जनशक्ति परिचालन गरिएको दुवै निकायका अधिकारीको भनाइ छ ।


सामान्यतया असोज र कात्तिकमा चाडपर्व पर्छन् । दसैं, तिहार, छठ, नेपाल संवत्लगायत पर्व मनाउने र परिवारसँग बसेर रमाइलो गर्दा घरका अन्य पाटोमा ध्यान नपुग्दा त्यसको फाइदा चोरी/डकैती गर्ने समूहले लिन सक्छन् । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले घरबाहिर निस्किँदा वा पर्व मनाउन घर जाँदा त्यसको जानकारी बहालमा बस्ने भए घरधनी र छरछिमेकलाई दिएर मात्र जान सुझाव दिए । लामो यात्राका लागि निस्कनुपरे सम्भव भएसम्म नजिकैको प्रहरी कार्यालयलाई समेत जानकारी गराउन उनले सुझाए । दसैं र तिहारका बेला चोरी र लुटपाटका घटना बढी हुनसक्ने उनले बताए । त्यसमा पनि घरमा कोही नभएको मौका छोपेर चोर्ने समूह यो अवधिमा बढी सक्रिय हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । २०७५ र २०७६ मा दसैंतिहारको छेको पारेर घटेका चोरी र डकैतीजन्य अपराधको ग्राफ एकनासको छ । घटना पनि लगभग बराबरी जस्तै देखिन्छ । असोज र कात्तिकमा देशभर हुने अपराधको संख्या पनि उस्तै–उस्तै देखिन्छ ।

चाडपर्वका बेला प्रहरीमा चोरीका उजुरी बढी पर्छन् । सडकमा हिँडिरहेका बेला गरगहना, सरसामान चोर्नेदेखि घरका झ्यालढोका फोर्नेसम्मका अपराध बढी हुने गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ असोजमा देशभर अपराधका २ हजार ९ सय ६८ वटा मुद्दा दर्ता भएका थिए । चोरीसम्बन्धी मात्रै २ सय ६ वटा घटना थिए । त्यसमध्ये साधारण चोरीका घटना सबैभन्दा बढी १ सय ७२ वटा थिए । नकाबजनी चोरीका १३ र डाँकाचोरीका १० घटना दर्ता भएका प्रहरीले जनाएको छ ।

सोही वर्ष कात्तिकमा चोरीका २ सय ७० मुद्दा दर्ता भएकोमा साधारण चोरीका मात्रै २ सय १५ घटना थिए । डाँकाचोरीका ३१ घटना थिए । २०७६ असोजमा देशभर अपराधका ३ हजार ६ सय २९ वटा मुद्दा दर्ता भएकोमा चोरीका मात्रै २ सय २६ घटना घटेका थिए । यसमा पनि साधारण चोरीका १ सय ८१, डाँकाचोरीका १० र सवारी चोरीका १७ वटा मुद्दा दर्ता भएका थिए । चोरीसम्बन्धी यो संख्या कुल अपराधको करिब ८ प्रतिशत हुन आउँछ । त्यस्तै, गत वर्ष कात्तिकमा देशभर ३ हजार ७ सय ७६ वटा मुद्दा दर्ता भएकोमा चोरीका मात्रै २ सय ४२ मुद्दा थिए । गत वर्ष कात्तिकमा साधारण चोरीका २ सय ८ मुद्दा दर्ता भएका थिए । यो संख्या पनि कुल अपराधको करिब ८ प्रतिशत हो । प्रहरीका अनुसार चोरीमा संलग्न पेसेवर गिरोहले सांकेतिक भाषा प्रयोग गरेर अपराध गर्ने गरेको भेटिए पनि मानिस नभएको मौका छोपेर हुने चोरीमा भने फलामे रड, अन्य घरेलु हातहतियारलगायत प्रयोग हुने गरेका छन् ।

प्रकाशित : कार्तिक ६, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?