१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउन निर्देशन

केही निजी विद्यालयले संकाय प्रणालीमै पढाउन थालेकाले अनुगमन गर्न सरकारको आग्रह
सुदीप कैनी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रमा कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुरूप पठनपाठन गराउन निर्देशन दिएको छ । केही निजी विद्यालयले पुरानो संकाय प्रणालीमा भर्ना लिएर पठनपाठन थालेपछि शिक्षा मन्त्रालयले सूचना जारी गरेर स्थानीय तहलाई अनुगमन गर्नसमेत आग्रह गरेको छ ।

कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउन निर्देशन

पाठ्यक्रम विकास केन्द्रले नयाँ र निजी विद्यालयले पुरानै पाठ्यक्रमका आधारमा शैक्षिक गतिविधि अघि बढाएपछि विद्यार्थी र अभिभावक अन्योलमा परेकाले सरकारले निजी विद्यालयलाई सचेत गराएको हो ।

मन्त्रालयका उपसचिव विदुर गिरीले विद्यालयहरूले नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने प्रस्ट्याए । विद्यार्थीको मूल्याङ्कन (परीक्षा) समेत नयाँ पाठ्यक्रमका आधारमै हुने उनले जनाए । हिसानको आह्वानमा केही निजी विद्यालयले पुरानै पाठ्यक्रमअनुसार भर्ना लिएर वैकल्पिक माध्यमबाट पढाइ थालेका छन् । हिसानले यही शैक्षिक सत्रमा पाठ्यक्रम कार्यान्वयन गर्न असन्तुष्टि जनाउँदै त्यसलाई रोक्न लबिइङ गर्दै आएको थियो ।

निजी विद्यालयले पुरानो पाठयक्रम अनुसार विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा संकाय भन्दै कक्षा सञ्चालन गर्न थालेका छन् । नयाँ पाठ्यक्रममा संकाय प्रणाली खारेज गरिएको छ । विद्यार्थीले कक्षा ९ र १० मा जस्तै कक्षा ११ मा अनिवार्यसहित ऐच्छिक विषय छनोट गरेर पढ्नुपर्ने छ । अनिवार्यसहित ऐच्छिक विषयका पाठ्यपुस्तक छापिएर बजारमा आइसकेका छन् ।

केही निजी विद्यालय सञ्चालकले कोरोनाको बहाना गर्दै पुरानै पाठ्यक्रमका आधारमा पठनपाठन गर्न थालेकाले सचेत गराइएको उपसचिव गिरीले जानकारी दिए । ‘आगामी वर्ष कक्षा १२ मा पनि नयाँ पाठ्यक्रम लागू हुन्छ, कक्षा ११ को मूल्याङ्कन अब नयाँ पाठ्यक्रमकै आधारमा हुन्छ,’ उनले भने, ‘अभिभावक र विद्यार्थीले पनि नयाँ कोर्सअनुसार पढाइ भए/नभएको यकिन गरेर मात्र भर्ना हुनुपर्छ ।’

कक्षा १ मा पनि यसै वर्षदेखि नयाँ पाठ्यक्रमका आधारमा वैकल्पिक माध्यममा अध्ययन/अध्यापन भइरहेको छ । नयाँ पाठ्यक्रममा कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनउपयोगी शिक्षा अनिवार्य विषय छन् । ऐच्छिक विषयका लागि ४ वटा विषयगत समूह बनाइएको छ । ती समूहबाट विद्यार्थीले ३ विषय छानेर पढ्न पाउँछन् । देशभर कक्षा ११ र १२ पढाइ हुने १० हजार ३ सय ७३ सामुदायिक र ४ हजार ६ सय ५८ निजी विद्यालय छन् । ती सबै विद्यालयमा यसपटकदेखि ३ अनिवार्य र ३ ऐच्छिकसहित ६ विषयको पठनपाठन हुने केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए । शिक्षामन्त्री अध्यक्षतामा रहने परिषद्ले भने गत माघ २ मै कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउने निर्णय गरेको हो ।

कक्षा ११ मा भौतिक, रसायन, जीव विज्ञान र गणित विषय अध्ययन गर्न कक्षा १० मा न्यूनतम औसत जीपीए १ दशमलव ६ प्राप्त गरी अंग्रेजी, गणित र विज्ञानमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ । यीबाहेक अन्य विषय गर्न कक्षा १० मा न्यूनतम औसत जीपीए १ दशमलव ६ प्राप्त गरे पुग्छ । केन्द्रले असोज पहिलो साता कक्षा ११ को भर्नासम्बन्धी मापदण्ड संशोधन गरेर गत वर्षको भन्दा लचिलो बनाएको हो । यस वर्षदेखि कक्षा ११ को नयाँ पाठ्यक्रम लागू भएकाले त्यहीअनुसार कक्षा १२ को माध्यमिक शिक्षा परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?