जसपा वरीयतामा पहिलो नम्बरमा बाबुराम

जयसिंह महरा

काठमाडौँ — जनता समाजवादी पार्टीमा बाबुराम भट्टराईको वरीयता एक नम्बरमा पुगेको छ । जसपाको केन्द्रीय कार्यकारिणीको मंगलबारको बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेसँगै पूर्व प्रधानमन्त्री भट्टराई पार्टी वरीयताको एक नम्बरमा उक्लिएको पार्टीका नेताहरुले बताएका छन् ।

जसपा वरीयतामा पहिलो नम्बरमा बाबुराम

२०७२ असोजमा नयाँ संविधान जारी भएलगत्तै तत्कालीन माओवादी परित्याग गरेर नयाँशक्ति पार्टीको संयोजक हुँदै बाबुराम भट्टराई गत जेठमा जसपामा पुगेका हुन् । त्यतिबेला जसपाको वरीयताक्रमको चौथो नम्बरमा रहेका भट्टराई मंगलबारबाट एक नम्बरमा उक्लिएका हुन् ।

गत जेठ ११ गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भएपछि बनेको जनता समाजवादी पार्टी (जसपा) मा बाबुराम भट्टराईलाई चौथो नम्बरमा राखिएको थियो ।

दुवै पार्टी एक भएपछि निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको पत्रमा सुरुमा भट्टराईलाई महन्थ ठाकुरपछि दोस्रो नम्बरमा राखिएको थियो । उक्त वरीयतामा उपेन्द्र यादव र राजेन्द्र महतो लगायतका नेताहरूले असन्तुष्टि जनाएपछि भट्टराईको नाममा टिपेक्स लगाएर निवेदन दर्ता गरिएको थियो ।

दोस्रो नम्बरमा रहेको नाममा टिपेक्स लगाएर बाबुराम भट्टराईको नाम उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईभन्दा पछाडि चौथो नम्बरमा हातले लेखेर राखिएको थियो । त्यतिबेला उनको वरीयताको विषयले ठूलै चर्चा पाएको थियो । निर्वाचन आयोगमा दर्ता गर्ने बेला संघीय परिषद् हुनेबारे केही उल्लेख थिएन ।

जसपाले भने बाबुराम भट्टराईको वरीयताबारे केन्द्रीय कार्यकारिणीको बैठकले निर्णय लिने जवाफ दिएको थियो । सोहीअनुसार केन्द्रीय कार्यकारिणीको बैठकले बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो । साथै संघीय परिषद् पनि गठन गरिएको छ ।

जसपामा सर्वोच्च अंग महाधिवेशनलाई मानिएको छ । त्यसपछि संघीय परिषद् रहने विधानमा उल्लेख गरिएको नेताहरूले बताएका छन् । त्यसपछि केन्द्रीय समिति रहने छ । संघीय परिषद् अध्यक्षको अधिकारबारे पनि पार्टीको विधान संशोधन गरेर बिस्तार गरिएको जसपाका नेताहरूले बताएका छन् ।

जसपाका नेता गंगा श्रेष्ठले पार्टीमा वरीयताको विषय समाधान भएको बताए । उनले भने, 'संघीय परिषद् अध्यक्षको अधिकारबारे भन्दाखेरि अहिले संशोधन गरिएको विधानमा संघीय परिषद् र महाधिवेशनप्रति केन्द्रीय समिति उत्तरदायी हुनेछ भन्ने लेखिएको छ । सर्वोच्च अंग महाधिवेशन हुनेछ । दुई महाधिवेशनबीचको सर्वोच्च अंग संघीय परिषद् हुने हो ।'

भट्टराईको वरीयता एक नम्बारमा पुगेको हो ? भन्ने प्रश्नको जवाफमा श्रेष्ठले भने, 'व्यक्तिको भन्दा पनि संरचनाको कुरा हो । महाधिवेशन नभएका बेलामा केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुने भएकाले बाबुराम भट्टराई स्वतः एक नम्बर वरीयतामा रहने अन्डरस्टुड (स्वतः बुझिने) कुरा हो ।'

अनुशासन आयोग प्रमुखको जिम्मेवारी पाएका लक्ष्मणलाल कर्णले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुने व्यवस्था रहेको बताए । उनले भट्टराईको वरीयता आजसम्म चौथो नम्बरमै रहेको र भोलिबाट परिवर्तन हुने बताए । 'विधानमा संघीय परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुने भनिएको छ र परिषद्को अध्यक्षमा डा. भट्टराईलाई बनाउने निर्णय भएको छ । आजसम्म उहाँको वरीयता चौथो नम्बरमै थियो । भोलिबाट परिवर्तन हुन्छ होला ।'

पूर्वराजपाका अर्का एक नेताले पनि बाबुराम भट्टराई एक नम्बर वरीयता पुगेको बताए । 'विधानले कसको वरीयता के हुने भन्ने त बोलेको छैन,' ती नेताले भने, 'संघीय परिषद् केन्द्रीय समितिभन्दा माथिको संगठन भएको र भट्टराई त्यसको अध्यक्ष भएकाले उहाँ एक नम्बर वरीयतामा पुग्नुभएको हो ।' ती नेताले थपे, 'बैठकमा माइन्युटमा पहिलो नम्बरमा भट्टराईको नाम हुने भयो ।'

जसपाको अध्यक्षमा महन्थ ठाकुर एक नम्बरमा र उपेन्द्र यादव दोस्रो नम्बरमा रहेका छन् । राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् भने त्यसपछि अशोक राईको नाम रहेको छ ।

जसपाको संसदीय दलको गठन हुन बाँकी रहेको छ । वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेताको जिम्मेवारी दिने सहमति यसअघि नै भएको नेताहरूले बताएका छन् । शक्ति सन्तुलन मिलाउनका लागि महतोलाई संसदीय दलको नेता बनाइन लागिएको हो ।

पूर्वराजपाबाट अध्यक्षमा ठाकुर र संसदीय दलको नेतामा महतो रहने तथा पूर्वसमाजवादीको तर्फबाट अध्यक्षमा यादव र संघीय परिषद्को अध्यक्षको जिम्मेवारी भट्टराईलाई दिने सहमति भएअनुसार नै पदको बाँडफाँड भएको हो ।

जसपाको सोमबार सुरु भएर मंगलबार सकिएको केन्द्रीय कार्यकारिणीको बैठकले संघीय परिषद्को पनि गठन गरेको छ । सबै केन्द्रीय सदस्यहरू संघीय परिषद् सदस्य रहने र त्यसमा आवश्यकतअनुसार संख्या थपिने बताइएको छ । कतिजनाको संघीय परिषद् हुने भन्ने यकिन भइनसकेको नेताहरूले बताएका छन् ।

त्यस्तै, केन्द्रीय समिति ८ सय १ सदस्यीय हुने निर्णय पनि भएको छ । जसमा २१ जनाको टुंगो लाग्न बाँकी रहेको छ । तत्कालीन राजपाका तर्फबाट २१ जना केन्द्रीय सदस्यको नाम आउन बाँकी रहेको हो ।

जसपा केन्द्रीय कार्यकारिणीको बैठकले नेताहरूलाई जिल्लामा पार्टी समायोजना र विभागहरूको पनि जिम्मेवारी तोकेको छ ।

प्रकाशित : कार्तिक ४, २०७७ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?