नेकपा कर्णालीको विवादबारे ओली र दाहालको तर्फबाट परस्पर विरोधी विज्ञप्ति 

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदबाट हटाउने यामलाल कँडेललगायतका सांसदहरूको अविश्वासको प्रस्तावले नेकपामा विवाद बढाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष दाहालबीच कर्णाली विवादको विषयमा मंगलबार बिहान छलफल भएको थियो ।

नेकपा कर्णालीको विवादबारे ओली र दाहालको तर्फबाट परस्पर विरोधी विज्ञप्ति 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विवाद समाधानका लागि के सहमति भयो भन्ने विषयमा दुवैका तर्फबाट परस्पर विरोधी भनाई सार्वजनिक भएका छन् ।

ओली र दाहालबीचको छलफलमा विवाद कायमै रहेको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार साँझ विज्ञप्ति जारीका गरेका थिए । जसमा कर्णालीको विवाद समाधानका लागि चार बुँदे सहमति भएको दाबी गरिएको थियो । सारमा कर्णाली मुख्यमन्त्रीमा शाही कायम रहने, प्रमुख सचेतकमा कँडेल पक्षका गुलावजंग शाह नै रहने र नेकपा प्रदेश सभा संसदीय दलका नेता शाहीले प्रमुख सचेतक नियुक्त गरेकी सीता नेपालीलाई सचेतकमा कायम गरेर विवाद पूर्वको अवस्था कायम राख्ने सहमति भएको थापाको विज्ञप्तिमा थियो ।

थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ:

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"बीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु:

१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२) प्रमुख सचेतकमा उहाँ (शाही)द्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३) मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र

४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सहमति भएको भनेर विज्ञप्ति जारी गरेपछि अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि प्रेस नोट जारी गरेका छन् । दाहालको तर्फबाट सापकोटाले जारी गरेको विज्ञप्तिमा भने कँडेललगायतका नेताहरूले दर्ता गराएको अविश्वासको प्रस्ताव खारेज गर्ने र बाँकी विषय प्रदेशसभा तथा पार्टीको प्रदेश कमिटीले तय गर्ने लेखिएको छ ।

'नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो,' सापकोटाको प्रेस नोटमा लेखिएको छ, 'उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।'

कर्णाली प्रदेशमा अध्यक्ष दाहाल निकट मुख्यमन्त्री शाहीलाई हटाउनका लागि अध्यक्ष ओली पक्षका सांसद कँडेललगायत १८ सांसदले अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा दर्ता गराएका थिए । त्यसपछि प्रमुख सचेतक रहेका कँडेल पक्षका गुलावजंग शाहले उक्त प्रस्ताव अगाडि बढाउन खोजेपछि मुख्यमन्त्री तथा संसदीय दलका नेता शाहीले शाहलाई हटाएर सीता नेपालीलाई उक्त जिम्मेवारी दिएका थिए ।

दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले अविश्वासको प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएपछि कँडेल समूह अल्पमतमा परेको थियो । मुख्यमन्त्री शाहीले कार्यशैली बदल्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने लगायतका सहमति गरेको बताइएको छ । अध्यक्षद्वय ओली र दाहालले कर्णाली प्रदेशका विवादमा संलग्न दुवै पक्षलाई छलफलका लागि काठमाडौं बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए ।

प्रकाशित : कार्तिक ४, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?