गस्तीमा खटिएका प्रहरीको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

अर्जुन शाह

धनगढी — कैलालीको धनगढी नजिकै जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत ईन्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ ।

हत्या आरोपमा पक्राउ गरिएका धनगढी उपमहानगरपालिका १० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय रामगोपाल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो । अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएकाहरुले प्रारम्भिक अनुसन्धानका क्रममा आफूहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । उनीहरुमाथि ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ताको तयारी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले बताए ।

जुगेडा क्षेत्र नेपाल-भारत दुवै तर्फबाट तस्करी हुने नाका हो । यही नाकामा शनिबार राति चौकीका ईन्चार्ज विकले जवान साउदलाई आफूसँगै लिएर गस्तीमा निस्किएका थिए । त्यसै क्रममा तस्करहरुले प्रहरीलाई घेरा हालेर हत्या गरेको डिएसपी बिष्ट बताउँछन् । ‘नेपालबाट भारततर्फ मटरको दाल गोरु गाडामा राखेर मोहना नदी हुँदै भारततर्फ चोरी निकासी गर्ने क्रममा गस्तीमा रहेका प्रहरीले रोक्न खोज्दा तस्करहरुले दुवैजना प्रहरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी विष्टले भने, ‘पछाडिबाट धारिलो हतियार प्रहार गरी ढालेपछि प्रहरीले आफूसँग रहेको पिस्तोल चलाउनै पाएनन् ।’

शनिबार राति ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुमध्ये प्रहरीले खोजतलासका क्रममा असई विकको आइतबार बिहान मोहना नदीभित्र शव फ्याँकिएको अवस्थामा भेटिएको थियो । बेपत्ता जवान साउदको शव मंलगबार मोहना नदीभित्र बालुलामा गाडीएको अवस्थामा भेटाइएको थियो । ‘पक्राउ गरिएका एक अभियुक्तलाई घटनास्थलमा लिएर शव गाडिएको ठाउँ पहिचान गराइएको हो’, एक प्रहरी अधिकृतले भने ।

प्रकाशित : कार्तिक ४, २०७७ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?