वाग्मती प्रदेशसभाका नेकपा सांसदहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेशसभाका नेकपा सांसदहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाका नेकपाका सांसदहरुले दसैं भत्ताबापत प्राप्त रकम कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् ।

प्रदेशसभा सचिवालयले असोज २२ गते नै वितरण गरेको दसैं भत्ताबापत्‌को रकम नेकपा संसदीय दलको बैठकले कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए । ‘हामीले आन्तरिक छलफल गरेर प्रदेशले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निष्कर्षमा पुगेका हौं’, सचेतक पाण्डेले भने ।

कोरोना भाइरसको महामारीको समयमा जनप्रतिनिधिहरुले दसैं भत्ता लिएको भन्दै सर्वत्र विरोध भएपछि सम्पूर्ण दलहरुले उक्त रकम फिर्ता गरिरहेका छन् । प्रदेशसभामा नेकपाको ८० जना सांसद्हरु रहेका छन् । उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरुले प्राप्त गरेको सेवासुविधासमेत कोषमा जम्मा गरिने भएको छ ।

यसैगरी, कांग्रेसले आफ्ना सांसदहरुले पाउने दसैं भत्ता बापतको रकम गरिब, विपन्न, एकल महिला र दलितका लागि खर्चिने निर्णय यसअघि नै गरिसकेको छ । कांग्रेसका २२ जना सांसदहरु रहेका छन् । सांसद र स्वकीय सचिवलाई ८२ लाख ५० हजार ७ सय ९० रुपैयाँ भत्ताबापतको रकम संसद् सचिवालयले वितरण गरिसकेको छ ।

दसैं भत्ता बापतको रकम सांसदहरूलाई ५४ लाख ७९ हजार ८ सय ४० रुपैयाँ र स्वकीय सचिवहरूलाई २७ लाख ७० हजार ९ सय ५० रुपैयाँ सम्बन्धित बैंक खातामार्फत दाखिला गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । वाग्मती प्रदेशमा १ सय १० सांसद रहेका छन् ।

दसैं भत्ताबापत सभामुखले ६१ हजार ४ सय ५०, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेताले ५८ हजार, संसदीय समितिका सभापतिहरूले ५६ हजार ८ सय ४०, सचेतकहरुले ५४ हजार ५ सय २० र प्रदेशसभा सदस्यले ५२ हजार २ सय रुपैयाँ लिएका छन् ।

सभामुखका स्वकीय सचिवले उपसचिवसरह ४० हजार ३ सय ८०, शाखा अधिकृतसरहले ३५ हजार ९ सय ९०, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताका स्वकीय सचिवले शाखा अधिकृतसरह ३५ हजार ९ सय ९० र बाँकी सांसदहरूको स्वकीय सचिवले नायब सुब्बासरह २८ हजार २ सय रुपैयाँ चाडपर्व भत्ता खर्च शीर्षकमा दसैं भत्ता बुझेका हुन् ।

प्रकाशित : कार्तिक ४, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्

सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयार छन् : स्वास्थ्यमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै नागरिकहरूको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् । 

मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा सम्बोधन गर्दै उनले कोभिड–१९ को परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँच वृद्धि गरेको बताउँदै अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरू अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको जनाए ।

स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांग, ७० वर्ष पुगेका जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको नि:शुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाएको छ ।

'गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्ने व्यक्तिहरूका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदमहरू चालिएका हुन्', मन्त्री ढकालले भने ।

मन्त्री ढकालले अक्सिजन र मनिटर सहितको ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएकाले कोभिड–१९का सिकिस्त बिरामीहरूको उपचारलाई सहज बनाउने दाबी गरे ।

सम्बोधनका क्रममा अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी संचालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य सुरु भइसकेको उनले जानकारी गराए ।

प्रकाशित : कार्तिक ४, २०७७ १७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×