१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राष्ट्रिय पुस्तकालय जमलमै बनाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

गणेश राई

काठमाडौँ — राष्ट्रिय पुस्तकालय काठमाडौंको जमलमै बनाइनु पर्ने भन्दै बुद्धिजीवी, प्राध्यापक, साहित्यकारले साेमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण गराउनेमा शताब्दी पुरुष सत्यमोहन जोशी लगायत ६० जना छन् ।

राष्ट्रिय पुस्तकालय जमलमै बनाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

‘नेपालको राष्ट्रिय पहिचानको लागि राष्ट्रिय पुस्तकालय जमलमै निर्माण हुनु उपयुक्त हुन्छ,’ संयुक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘किनभने धेरैजसो देशहरूमा सहरको बीचमा नै त्यस्ता मुलुकहरूको राष्ट्रिय पुस्तकालयको भवन रहेको पाइन्छ । जमल राजधानीको केन्द्रबिन्दु, यातायातको सुविधा, बाल, वृद्ध, महिला, अपांगता भएका सबैको सजिलै पहुँच पुग्ने ठाउँ हो ।’ बृहत् टुँडिखेल योजना बनेको खण्डमा यहाँ राष्ट्रिय पुस्तकालय बन्नाले योजनालाई अझ गरिमा बढ्ने भनिएको छ ।

‘साथै सो स्थान वरिपरि ५० भन्दा बढी शैक्षिक संस्थाहरूसमेत रहेका र पुस्तकालय सबै शैक्षिक संस्थाका लागि समेत अत्यावश्यक हुने हुँदा,’ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ, ‘थाती रहेका सबै काम कारबाहीहरू तुरुन्त अगाडि बढाउने निर्णय गरी जमलमा नेपाल राष्ट्रिय पुस्तकालय निर्माण अविलम्ब सुरु गराउन सम्मानीय प्रधानमन्त्रीज्यू तथा सिंगो मन्त्रीपरिषद् समक्ष जोडदार अपिल गर्दछौं ।’

२०७२ वैशाखको भूकम्पले राष्ट्रिय पुस्तकालय रहेको हरिहर भवन जीर्ण बनेपछि पुस्तकालयमा रहेका करिब चार लाख पुस्तक बोरामा राखिएका छन् । २०७५ असोज २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले जमलमा रहेको करिब ८ रोपनी क्षेत्रफलमा राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णयसहित जग्गाधनी पुर्जा उपलब्ध गराएको थियो । त्यसैअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस्तकालय रहने भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।

डीपीआरअनुसार सात तलाको राष्ट्रिय पुस्तकालय भवन निर्माण प्रक्रिया अघि बढेको थियो । पुस्तकालय भवन नेपाली कला, संस्कृति परम्परा झल्किने अत्याधुनिक तथा प्रविधिमैत्री हुने डिजिटल नक्सा पास भएको थियो । भवन निर्माण लागत ९८ करोड रुपैयाँ लाग्ने डीपीआरमा उल्लेख छ । भवन तयार हुन तीन वर्ष लाग्ने अनुमान गरिएको थियो  । वतावरणीय प्रभाव मूल्यांकन तथा नक्सा पास भइ गत असारमा निर्माणस्थलका पुराना संरचनासमेत हटाउने काम भएको छ । तर, गत साउन ५ गते मन्त्रीपरिषद्को बैठकले ‘राष्ट्रिय पुस्तकालय भवन निर्माण कार्य हाल नगर्ने, नगराउने’ निर्णय गरेपछि अन्योल सिर्जना भएको हो । त्यसयता विभिन्न व्यक्ति, अभियन्ताले राष्ट्रिय पुस्तकालय यथास्थानमा बन्नु पर्ने माग राख्दै आएका छन् ।

प्रकाशित : कार्तिक ४, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?