ज्यान मार्ने उद्योगमा १७ वर्ष कैद सजाय सुनाइएका अभियुक्त ६ वर्षपछि पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्यान मार्ने उद्योगमा १७ वर्ष कैद सजाय सुनाइएका अभियुक्त ६ वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अपहरण र ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भएका फरार अभियुक्त नरेश मेचेलाई आइतबार काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा नयाँ बसपार्कको होटेल काठमाडौं इनमा लुकिबसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ घर भएका नरेशले २०७१ साल माघ १८ गते बिर्तामोडका सुनिलकुमार अग्रवाललाई बजरंग पन्सारीसँग मिलेर अपहरण गरेका थिए । उनीहरुले अग्रवाललाई एम्बुलेन्समा राखेर झापाको धरमपुरमा रहेको हर्कबहादुर कन्दको घरमा बन्धक बनाएर राखेका थिए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

२०७१ साल माघ २३ गते प्रहरीले धरमपुरबाट सुनिलकुमार अग्रवाललाई अपहरणमुक्त गराएको थियो । अग्रवाललाई अपहरणमुक्त बनाउने क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा एक जना प्रहरी घाइते पनि भएका थिए ।

उक्त घटनापछि फरार रहेका नरेश मेचेलाई २०७३ साल असार २१ गते झापा जिल्ला अदालतले १७ वर्ष कैद र एक लाख ५० हजार जरिवाना सुनाएको थियो ।

प्रकाशित : कार्तिक ३, २०७७ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्

विराटनगरमा थप चार संक्रमितको मृत्यु

देवनारायण साह

मोरङ — विराटनगरमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ की ६० वर्षीया महिला, विराटनगर–३ का ६६ वर्षीय पुरुष, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय र पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार विराटनगर–२ की महिलाको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनलाई असोज १९ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै विराटनगर–३ र ग्रामथान–४ का पुरुषको नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ । ग्रामथानका पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा स्वाब परीक्षण गराउँदा असोज २९ गते कोरोना पुष्टि भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

विराटनगर–३ का पुरुषलाई असोज २७ गते कोरोना पुष्टि भएको थियो । उनलाई शरीरमा अक्सिजन र रगतमा सुगरको मात्रा कमी हुनुका साथै श्वासप्रश्वासमा समस्या आएपछि आइतबार साँझ अस्पताल भर्ना गराएकोमा उपचारकै क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

यस्तै, पथरीशनिश्चरे–१ का पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ । उनलाई कोरोनाको लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजिटिभ आएको थियो । ती व्यक्ति मिर्गौलासम्बन्धी रोगले पीडित रहेको अस्पतालका प्रबन्धक राजेश भट्टराईले जानकारी दिए । यससँगै प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १२:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×