कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टेन्डर खुल्यो, सिकारी छैनन्

प्रकाश बराल

बागलुङ — गत चैतमा ढोरपाटन सिकार आरक्षमा टेन्डर पारेर राजस्व बुझाएका सिकारी आएनन् । कोरोना संक्रमणले संसारभर लकडाउन भएकाले बोलकबोल भइसकेर पनि सिकारी आउन नपाएपछि सिकारको टेन्डर रद्द भयो ।

टेन्डर खुल्यो, सिकारी छैनन्

हरेक वर्ष ढोरपाटनमा चैत र कात्तिकमा दुई पल्ट सिकारका लागि टेन्डर खुल्छ । चालु आर्थिक वर्षको पहिलो सिजनको टेन्डर अहिले खुलेको छ । तर सिकारी आउने सम्भावना भने नभएको सहायक संरक्षण अधिकृत रमेश यादव बताउँछन् । सरकारले अन्तर्राष्ट्रिय उडान खुला गरे पनि सिकारी आएर टेन्डर भर्ने सम्भावना नरहेको उनले बताए ।

गत चैतका लागि ११ वटा नाउर र ३ वटा झारल सिकारको टेन्डर खुलेको थियो । उक्त सिजनमा सिकार नभएपछि त्यति नै संख्यामा पुनः टेन्डर खुल्यो । दुई सिजनमा गरी २६ नाउर र १० वटासम्म झारलको सिकार अनुमति दिने गरिन्थ्यो ।

सिकारीले १५ देखि २१ दिनसम्म आरक्षमा बसेर सिकार गर्न पाउने व्यवस्था छ । उनीहरू ९ लाखदेखि १२ लाख रुपैयाँसम्मको बोलकबोल गरेर नाउर मार्न तयार हुन्थे । यसरी हरेक वर्ष ढोरपाटनमा २ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुने गरेको थियो । कोरोना महामारीसँगैको लकडाउनले राजस्व संकलनमा पनि असर परेको छ । अघिल्लो वर्षको दोस्रो सिजनमा एउटै नाउरको १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजार रुपैयाँ राजस्व उठेको थियो । ‘गत वर्षको रकम जस्तै राजस्व संकलन हुन्थ्यो, अहिले ठप्पै भयो,’ यादवले भने, ‘आगामी चैतमा मात्रै अव सिकार सम्भव होला जस्तो छ ।’ आरक्षले आसपासको बस्तीका मानिसलाई लक्षित गरेर सेनासँगको सहकार्यमा क्वारेन्टाइन पनि बनाएको थियो । सिकारी आएमा सुरक्षा प्रबन्ध मिलाउन आरक्षले काम गरेको हो ।

अधिकांश सिकारीहरू युरोप र अमेरिकाका हुन्थे । उनीहरू हेलिकप्टर लिएर सिधै ढोरपाटन पुग्ने गर्दथे । गत भदौमा बाढीपहिरोले सडक बगाएपछि ढोरपाटनमा गाडी चढेर घुम्न जाने क्रम पनि ठप्पजस्तै छ । सिकारका लागि हिमालयन सफारी, ग्लोबल सफारी, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालयन आउटफिटर, ट्र्याक एन्ड ट्रेल्स र नेपाल वाइल्ड लाइफ सफारीलगायतले सिकारी ल्याउने काम गरेकामा यो वर्ष उनीहरूका गतिविधि पनि ठप्प छन् । ढोरपाटनमा सात वटा सिकार ब्लक छन् । ढोरपाटन हिमाली क्षेत्र भएकाले चितवन, पर्सा र बर्दिया राष्ट्रिय निकुञ्ज जस्तो चोरी सिकार हुँदैन । तर छिटफुट रूपमा काठ र जंगली जनावर तस्कर गर्नेहरू यहाँ पनि सक्रिय छन् ।

‘बन्दाबन्दीको समय भए पनि हामीले नियमित गस्ती गरिरहेका छौं,’ ढोरपाटनस्थित सुरक्षा गुल्मका एक सेनानीले भने, ‘घरसारको उपयोगबाहेक बिक्री गर्ने तस्कर भेटिएको छैन ।’ आरक्षको क्षेत्रभित्र बागलुङ, म्याग्दी र रुकुमका बस्तीहरू छन् । केही वर्षदेखि सेना बस्न थालेकाले चोरीसिकार हटेको हो । सात वटा ब्लकमा आरक्षले सेना र संरक्षणकर्मी खटाएको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?