१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘न देश बन्यो, न हामी’

घाइते पूर्वलडाकु भन्छन्– ‘नेता कमान्डरले सबै बिर्सिए । त्यो त्याग र बलिदानको सम्मान भएन ।’
दुर्गालाल केसी

दाङ — बंगलाचुली गाउँपालिका–२ खाराकी ३१ वर्षीया कुमारी नेपाली माओवादी लडाकु थिइन् । कपिलवस्तुमा भएको भिडन्तमा गोली लाग्दा उनले बायाँ आँखा नै गुमाउनुपर्‍यो । श्रीमान् निमबहादुर नेपाली पनि लडाकु थिए । शान्ति प्रक्रियापछि उनीहरू घर फर्के । जीवन निर्वाह गर्न कठिन भयो । अहिले श्रीमान् साउदी अरबमा छन् । उनी दुई छोरा र एक छोरीसँग बस्छिन् ।

‘न देश बन्यो, न हामी’

‘हाम्रा कमान्डरहरू अहिले ठूलो पदमा पुगेको देख्दा मन रुन्छ,’ उनले गुनासो गरिन्, ‘हाम्रो आँसु कसले देख्छ र ? नेता र कमान्डरले सबै बिर्से । हाम्रा दुःख बढ्दै छन् । युद्धले आधा शरीर लग्यो, बचेको शरीर झन् धेरै बोझ भयो ।’

तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानका ३६ वर्षीय भूमिलाल चौधरी पनि सेक्सन कमान्डर भएर युद्धमा होमिए । लडाइँका क्रममा सिरहाको बन्दीपुर र म्याग्दीको बेनीमा गोली लागेर घाइते भए । उनको बायाँ हात चल्दैन । ‘कतै काम पाइन्छ कि भन्यो, एउटा हात नचल्नेले कसरी काम गर्छ र भनेर काम नै दिँदैनन्,’ उनले भने, ‘कमाइ नभएपछि घरमा झगडा मात्रै पर्छ । परिवार कसरी पाल्नु, अन्य व्यवहार कसरी चलाउनु ?’ श्रीमती, एक छोरा र छोरीका साथ रहेका चौधरीले युद्धका नाममा जीवन बर्बाद भएको महसुस गरेका छन् ।

घोराही उपमहानगरपालिका–१७ गैरागाउँका ३७ वर्षीय केशव चौधरीले देश बदल्ने सपना देखेर ठुल्ठूला लडाइँ लडे । २०५९ जेठ १३ मा भएको रुकुमको खारास्थित सैनिक व्यारेक आक्रमणमा उनी अग्रमोर्चामा थिए । त्यही क्रममा गोली लाग्दा ब्रिगेड कमान्डर रहेका चौधरीको बायाँ आँखा गुम्यो । शरीरभरि अहिले पनि बमका छर्रा छन् । उनलाई जीवनभर औषधि खानुपर्ने भएको छ तर अहिले उनलाई ज्यान पाल्नु कि औषधि खानु भन्ने चिन्ता छ । ‘मर्नु न बाँच्नु भएको छ । खानेकुराभन्दा औषधि कसरी खाने भन्ने चिन्ता छ,’ उनले भने, ‘देश बदल्ने सपना देखेको मान्छेले अहिले यो हविगत झेल्नुपरेको छ । नेताहरू त बने तर न देश बन्यो, न हामी ।’ उनको स्याहारमा श्रीमती लक्ष्मी चौधरीको पनि पूरै समय बितेको छ । श्रीमान्कै स्याहारका कारण उनले अन्य काम गर्न पाएकी छैनन् । ‘कमाइ हुने कुनै काम गर्न पाइँदैन,’ उनले भनिन्, ‘कसरी बाँच्ने भन्ने चिन्ता भयो । हाम्रो समस्या नेताहरूले भुले ।’ उनीहरूका एक छोरा र छोरी छन् । छोरा पनि अपांग भएकाले थप स्याहारको आवश्यकता परेको छ । ‘श्रीमान् र छोरालाई एकछिन पनि छोड्न मिल्दैन,’ लक्ष्मीले भनिन्, ‘रोईरोई बस्नुपरेको छ ।’

लमही नगरपालिका–७ नयाँबस्तीका ३६ वर्षीय सुन्दर चौधरी दाङको सतबरियास्थित सशस्त्र प्रहरी क्याम्पमा आक्रमण गर्ने क्रममा घाइते भए । चिउँडोबाट लागेको गोली नाक हुँदै टाउकोबाट निस्कियो । ‘भाग्यले ज्यान त बच्यो तर बाँचेजस्तो भएको छैन,’ उनले भने, ‘यो अवस्था आउला भन्ने सोचेका थिएनौं । नेताहरू सुविधासम्पन्न तरिकाले बसेका छन् । हामीलाई बाँच्नै सास्ती भएको छ ।’

घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरीका ४६ वर्षीय खुसीराम चौधरी २०६१ चैत २५ मा रुकुमको खारामा भएको सैनिक ब्यारेक आक्रमणमा घाइते भए । टाउको, छाती र घाँटीमा गोली लाग्यो । उनको दायाँ हात र खुट्टा चल्दैन । ‘केही काम गर्न सकिँदैन । जीवनभर औषधि खानुपर्ने भएको छ,’ उनले भने, ‘कमाइ नभएपछि न औषधि गर्न सकिन्छ, न ज्यान पाल्न । नेताहरूले हामीलाई हालतमा छाडे र आफ्नो जीवन बनाए ।’

रुकुम पश्चिम पुर्तिमकाँडाका ४३ वर्षीय उदय शेर्पाइली रुकुमकोट प्रहरी चौकी आक्रमणका क्रममा २०५७ सालमा घाइते भए । बायाँ कोखाबाट पसेको गोली दायाँ कोखाबाट निस्कियो । ज्यान अपांग भएपछि उनी सेना समायोजनका क्रममा अवकाश रोजेर शिविरबाट बाहिरिए । दाङको संक्रामस्थित शिविरबाहिर आएपछि उनी रुकुम फर्कन सकेनन् । तुलसीपुर–१८ हेमन्तपुरमा बस्न थाले । ‘संसार बदल्न हिँडेको मान्छे अशक्त भएर खाली हात गाउँ फर्कन मन लागेन । यहीं बस्न थालियो,’ उनले भने, ‘अहिले जीवन निर्वाह गर्न कठिन भएको छ । त्यो त्याग र बलिदानको सम्मान भएन ।’

दाङको घोराहीमा जीवन निर्वाह गर्न कठिन भएको गुनासो गर्दै घाइते पूर्वलडाकुहरु । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर ।

रुकुमपूर्व हुकामका ३८ वर्षीय भूलबहादुर विक २०५९ कात्तिक २८ मा जुम्लाको खलंगामा भएको आक्रमणमा घाइते भए । समयमा उपचार नहुँदा उनको दायाँ खुट्टा काट्नुपर्‍यो । अहिले उनी बैसाखीको भरमा हिँड्छन् । श्रीमती, तीन छोरा र एक छोरीका साथ उनी पनि तुलसीपुर–१८ धनखन्नेमा बस्छन् । ‘यो अवस्थामा रुकुम बसेर ज्यान पाल्न कठिन हुने भयो । पहाडको उकालीओरालीमा गाह्रो होला भनेर यहीं बसियो,’ उनले भने, ‘तर यहाँ पनि साह्रै गाह्रो भएको छ । जहान परिवार पाल्न मिल्ने कुनै उपाय छैन ।’

सरकारले विशिष्ट खालका घाइतेलाई मासिक १२ हजार २ सय र पहिलो श्रेणीका घाइतेलाई ६ हजार २ सय निर्बाह भत्ता उपलब्ध गराउँदै आएको छ । उक्त भत्ता सबै घाइते अपांगले नपाउँदा बाँच्न कठिन भइरहेको घाइते अपांग योद्धा संघका जिल्ला तथा प्रदेश संयोजक खगेश्वर घर्तीले बताए । जिल्लामा ७ सय ५० जना घाइते अपांग पूर्वलडाकु भए पनि अहिले राज्य र विद्रोही पक्षका २२ जनाले मात्रै भत्ता पाइरहेको उनले बताए । ‘धेरै घाइतेले निर्वाह भत्ता पाइरहेका छैनन् । पाएकाहरूलाई पनि कटौती गर्न थालिएको छ,’ उनले भने, ‘यसले हामीलाई थप चिन्तित बनाएको छ । निर्बाह भत्ता भएमा औषधि गर्न सजिलो हुने थियो । धेरैलाई खाने त परैको कुरा, औषधि गर्न पनि पुगेको छैन ।’

सबै घाइते अपांगलाई निर्बाह भत्ता उपलब्ध गराउन, उचित बास, स्वास्थ्य उपचार, रोजगारी र सन्तानको शिक्षाको ग्यारेन्टी हुन आवश्यक रहेको घर्तीले बताए । ‘आफ्नो ज्यान अलपत्र छ । छोराछोरीलाई कसरी हुर्काउने भन्ने चिन्ता छ,’ उनले भने, ‘यस्तो बेला नेताहरूले हेरेनन् भने युद्धका नाममा आधा शरीर गुमाएको के काम लाग्यो ?’

प्रकाशित : कार्तिक ३, २०७७ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?