२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

उपत्यका भित्रिने र बाहिरिनेको संख्या उस्तै

असोजयता ६ लाख ५ सय ५४ यात्रु उपत्यका बाहिरिएका छन् भने ५ लाख ५४ हजार ५ सय ३७ जना भित्रिए
सीमा तामाङ

काठमाडौँ — कोभिड–१९ महामारीका कारण यस वर्ष दसैं सुरु भइसक्दा पनि काठमाडौं उपत्यका छाड्ने र भित्रनेको संख्यामा खासै अन्तर देखिएको छैन । अघिल्ला वर्षहरूमा घटस्थापनादेखि नै दैनिक ७० देखि ७५ हजार मानिसले उपत्यका छाड्ने गरेकामा यस वर्ष उक्त संख्या २० देखि २५ हजार मात्रै छ ।

उपत्यका भित्रिने र बाहिरिनेको संख्या उस्तै

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल पनि गत वर्षको तुलनामा दुई तिहाइ भीडभाड कम भएको बताउँछन् ।

महाशाखाका अनुसार शनिबार घटस्थापनाको दिन ४ हजार ७ सय २१ सवारीसाधनमार्फत २१ हजार ४ सय ७२ यात्रु उपत्यकाबाट बाहिरिए । त्यस दिन ४ हजार ४ सय ७ सवारीमार्फत १६ हजार ६ सय ३९ यात्रु भित्रिए । त्यस्तै, आइतबार ४ हजार ६ सय ८५ सवारीसाधनमार्फत १७ हजार ३ सय जना भित्रिएकामा ४५ हजार ५ सय ७२ सवारीसाधनमार्फत २१ हजार ५ सय ७३ जना यात्रु बाहिरिएका छन् । ‘अब फूलपातीसम्म बाहिर जानेको संख्या बढ्ने र भित्रिनेको संख्या कम हुँदै जान्छ,’ ढकालले भने ।

असोजयता ६ लाख ५ सय ५४ जनाले काठमाडौं उपत्यका छाडेका छन् । यस अवधिमा ५ लाख ५४ हजार ५ सय ३७ यात्रु भित्रिएका छन् । गत वर्षको तुलनामा यस वर्ष उपत्यकाबाट बाहिरिने र भित्रिनेको संख्यामा खासै भिन्नता नदेखिएको महाशाखाका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक रामेश्वरप्रसाद यादवले बताए । महाशाखाले सार्वजनिक सवारीसाधनको अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ । क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारीसाधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीहरूलाई महाशाखाले कारबाही गर्न थालेको हो । प्रवक्ता यादवका अनुसार आइतबार मात्रै बढी भाडा लिने ४३ ट्याक्सी र ४८ वटा अन्य सवारीसाधन कारबाहीमा परेका छन् ।

महाशाखाले उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चितता, सवारी दुर्घटना न्यूनीकरण र चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको छ । यात्राका क्रममा कसैलाई केही समस्या भएको खण्डमा १०३ मा फोन गर्न महाशाखा प्रमुख ढकालले आग्रह गरे । ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बीच बाटोमै यात्रुलाई ओरालिदिने, स्वास्थ्य मापदण्ड पालना नगर्नेजस्ता समस्या आउन नदिन पनि ट्राफिक प्रहरी चनाखो बनेको उनले बताए ।

महाशाखाले उपत्यकाभित्र १४ स्थानमा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेको छ भने थप ३ स्थानमा राख्ने तयारीमा रहेको जनाएको छ । उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष राखिएका छन् । थप भीडभाड हुने स्थान छनोट गरी ३ ठाउँमा छिट्टै त्यस्ता कक्ष स्थापना गरिने महाशाखाका प्रवक्ता यादवले बताए । यात्रुहरूका गुनासा तत्काल सम्बोधन गर्न उक्त कक्ष राखिएको उनको भनाइ छ ।

टिकट काउन्टरमा विशेष निगरानी

महाशाखाले सादा पोसाकमा प्रहरी परिचालन गरी उपत्यकाका टिकट काउन्टरमा विशेष निगरानी सुरु गरेको छ । भीडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न महाशाखामा रहेको पीडित सहायता इकाइबाट सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी थालिएको यादवले बताए ।

उनका अनुसार मुख्यतः नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशालालगायत टिकट काउन्टर भएका स्थानमा निगरानी बढाइएको छ । सादा पोसाकका ट्राफिक प्रहरीले बढी भाडा लिई टिकट काट्ने, फर्जी टिकट तथा दोहोर्‍याएर टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछन् भने भाडाका बसहरूमा चढी तोकिएको मूल्यअनुसार टिकट लिएको छ–छैन जाँच पनि गर्नेछन् । टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्रको समेत व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

दुईपाङ्ग्रे सवारीसाधनको हकमा चालकले हेल्मेट प्रयोग नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ओभरलोड, सवारीसाधनको सिटबाहेक छत तथा अन्य भागमा यात्रु र मालसामान राख्ने, अन्धाधुन्ध सवारी चलाउनेजस्ता ट्राफिक नियम उल्लंघन गर्नेमाथि सीसीटीभीबाट निगरानी गर्दै कारबाही गरिने महाशाखाले जनाएको छ । महाशाखाले बसपार्कबाट बाहिरिने गाडीहरूलाई अनिवार्य रूपमा यान्त्रिक परीक्षण गराउन समन्वय गर्ने बताएको छ ।

दिनमा ४ पटक ‘सरप्राइज चेकिङ’

महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारीसाधनमा घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति गरी चार पटकसम्म विशेष जाँच थालेको छ । उपत्यकाबाट बाहिरिने नाका तथा भीडभाड हुने स्थानहरूमा सवारीसाधनको ‘सरप्राइज चेकिङ’ को व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायत स्थानमा लामा दूरीका सवारीसाधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?