२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कान्तिपुर समाचार प्रभाव : फर्कियो साइपालमा खुसी

वर्षाैंदेखि अन्धकारमा कहालीलाग्दो जीवन बिताएका वृद्धवृद्धा आँखा शिविरबाट पुन: उज्यालो संसार हेर्न पाएकामा बिछट्टै खुसी देखिन्थे । कोही डाँडाकाँडामा नजर डुलाइरहेका थिए । कोही वर्षौंपछि दृष्टि फर्किएका आफन्त र परिवारका सदस्यको अनुहार एकटकले हेरिरहेका थिए ।
वसन्तप्रताप सिंह

बझाङ — अघिल्लो दिन दुवै आँखाको शल्यक्रिया गरिएकी साइपालकी प्यारु बोहराको आइतबार बिहान पट्टी खोलिँदै थियो । तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रीता गुरुङले पट्टी खोल्नमात्रै के भ्याएकी थिइन्, ७७ वर्षीया प्यारु चिच्याइन्, ‘ओहो ! आज ब्यायो (बिहान भयो), मैले आँखी धेक्याँ (आँखा देखें) ।’

कान्तिपुर समाचार प्रभाव : फर्कियो साइपालमा खुसी

त्यसपछि उनी एकोहोरो बर्बराउन थालिन्, ‘माइस पन कति रह्याछन् । राताकाला टाला लायाका, यतिका माइस कसरी राइनु ? काँका हुन्, काँबाटी आयाका हुन् ? (मान्छे पनि कति रहेछन् । राता काला लुगा लगाएका, यतिका मान्छे कसरी चिन्नु ? कहाँका हुन् ? कहाँबाट आएका हुन् ?) ।’ एकछिनअघिसम्म कसैसँग नबोल्ने प्यारु बोलेको बोल्यै गरेको देखेर वरिपरिका अचम्म परेका थिए । नजिकै उभिएका १६/१७ वर्षका बालकलाई देखाउँदै डा. गुरुङले सोधिन्, ‘यिनलाई चिन्नुहुन्छ ?’ एक पटक नियालेर हेरेकी प्यारुले भनिन्, ‘अहँ राउँदैन (चिन्दिनँ) ।’ भीडबाट कसैले ती बालक उनको नाति भएको र उनैले घरबाट बोकेर शिविरसम्म ल्याएको बताइदिए । ‘विरिन्द ! ऊ यत्रो भइगो छ,’ उनले आश्चर्य प्रकट गरिन् । यति भन्दै गर्दा उनले आँसु थाम्न सकिनन् ।

आँखाको ज्योति गुमाएको एक दशकभन्दा बढी भइसकेकी उनले आफूले आँखा देख्दाताका नाति निकै सानो भएको र त्यसयता कसैको अनुहार चिन्न नसकेको सुनाइन् । जीवनको अन्तिम घडीमा संसार देखाइदिएको भन्दै डा. गुरुङलाई प्यारुले दिएको आशीर्वाद सुन्दा धेरैका आँखा रसाए । ‘मलाई मसान (चिहान) बाट फर्काई ल्यायौं । उज्यालो देखायौ । तिमी भगवान् हौ । जुगजुगसम्म बाँचिरनू,’ उनले भनिन्, ‘मकन रुप्याँ (मसँग रुपैयाँ) छैन । रुप्याँ भए राखेर तम्रा खुट्टामा ढोग दिन्याछ्याँ (दिनेथें) ।’ उनले यसो भन्दा डा. गुरुङ पनि भावुक देखिइन् ।

आइतबार बिहान काँडा माध्यमिक विद्यालयको प्रांगणमा देखिएको यो दृश्य हेर्न दुर्गम साइपाल गाउँपालिकावासीको भीड लागेको थियो । त्यहाँ शनिबार आँखाको शल्यक्रिया गरिएकाहरूको पट्टी एकैसाथ खोलिँदै थियो । वर्षौंदेखि अन्धकारमा कहालीलाग्दो जीवन बिताएका साइपालका वृद्धवृद्धा पुनः उज्यालो संसार हेर्न पाएकामा बिछट्टै खुसी देखिन्थे । कोही साइपालका डाँडाकाँडामा नजर डुलाइरहेका थिए । कोही वर्षौंपछि दृष्टि फर्किएका आफन्त र परिवारका सदस्यको अनुहार एकटकले हेरिरहेका थिए ।

बझाङको साइपालमा आँखा शिविर सञ्चालनका लागि आएका स्वास्थ्यकर्मीको टोलीलाई हेर्दै स्थानीय तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

पाँच वर्षदेखि आफ्नो जीवन ‘दैव’ ले अन्धकारमा पारे पनि अब आँखा देख्ने भएको भन्दै ६० वर्षीया अमृता विकले देउडा गीतमा खुसी पोखिन्, ‘पाँच वर्ष अन्धकार पाडी दैव तेरा खेल, अब आँखा उघ्रिगया आज फर्क्या बेल । सरकारकी जय होइ झाउ धेकाइ झिलीमिली, भोक लागी दूध खाया जसो भयो सिलिमिली ।’ अघिल्लो दिनसम्मको अँध्यारो संसार एकै दिनमा देख्ने बनाइदिएकामा उनी औधि खुसी देखिन्थिन् ।

साउन अन्तिम साता कान्तिपुर संवाददातासँग भेट्दा पापका कारण आफ्नो आँखा फुटेको भन्ने गरेकी धुलीकी मोतिमा रोकायाले

आफ्नो आँखाको ज्योति फर्किएकामा अचम्म मानिन् । ‘अहिले त घाम लागेका बेला द्वार (ढोका) उघारेजस्तो भयाको छ । संसारै उज्यालो भयो,’ ५५ वर्षीया उनले भनिन् । अब दिनचर्या सजिलो हुने र धेरै बाँच्ने साहस पलाएको उनले बताइन् ।

आँखाको ज्योति खुलेपछि खु सीव्यक्त गर्दै ७७ वर्षीया प्यारु बोहरा । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

गाउँपालिकामै सुरु भएको आँखा शिविरबाट उनीहरूले ‘नयाँ जीवन’ पाएका हुन् । खर्च अभावका कारण उपचार गर्न नसकेर अन्धकारमा जीवन बिताएका उनीहरूले सदरमुकाममा समेत उपलब्ध नभएको सेवा गाउँमै पाएकामा खुसी व्यक्त गरे । ‘गेटा झाने सक्कारी छेइन । आँखा नधेकी मरि झान्याँ हुँ कि मान्छो छ्याँ (गेटा आँखा अस्पताल जान सक्ने हैसियतमा थिइन् । आँखा नदेखेरै मरिजान्छु कि जस्तो लाग्थ्यो),’ धुलीका पर्वते बोहराले भने, ‘अइल त घरैखी भगवान् आया । मखी आँखा धेकाइ गया । (अहिले त घरमै भगवान् आए । मलाई आँखा देख्ने बनाइदिए) ।’

गत भदौ २४ गते कान्तिपुर दैनिकमा ‘साइपालको अँध्यारो संसार’ शीर्षकमा समाचार प्रकाशित भएपछि यहाँ शनिबारदेखि दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचार गराउन साइपाल गाउँपालिकाका विभिन्न गाउँ र छिमेकी तलकोट गाउँपालिकाबाट समेत ठूलो संख्यामा मानिस काँडा आएका थिए । नौ जना विशेषज्ञ चिकित्सकसहित ४० भन्दा बढी स्वास्थ्यकर्मीको टोलीले दुइटा अलग–अलग स्थानमा शिविर सञ्चालन गरिरहेको छ ।

आँखाका रोगीहरुको शल्यक्रिया गर्दै वरिष्ठ नेत्र चिकित्सक डाक्टर रिता गरुङसहितको टोली । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

काँडा स्वास्थ्य चौकीको भवनमा बालरोग, स्त्रीरोग, दन्तरोग, महिला तथा पुरुष बन्ध्याकरण र जनरल डिजिजसम्बन्धी सेवा सञ्चालन गरिएको छ । यहाँ सेती प्रादेशिक अस्पतालबाट आएका विशेषज्ञ र जिल्ला अस्पताल बझाङका चिकित्सकहरूले उपचार गरिरहेका छन् । शिविरमा भिडियो एक्स–रे, रगत, दिसापिसाब, खकारलगायतको परीक्षण गर्ने प्रयोगशाला पनि स्थापना गरिएको छ । आइतबार साँझसम्म शिविरमा २ सय ७३ पुरुष र ६ सय १८ महिलाले सेवा लिएको जिल्ला अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले बताए ।

यस्तै तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ नेत्र चिकित्सक गुरुङको नेतृत्वको टोलीले काँडा माध्यमिक विद्यालयमा आँखा शिविर सञ्चालन गरिरहेको छ । शिविरमा मोतिविन्दु र आँखामा मासु पलाउने रोगको शल्यक्रिया तथा आँखासम्बन्धी अन्य सेवा दिइएको छ । आइतबार साँझसम्म ३ सय ८ महिला र २ सय ३ पुरुष गरी ५ सय ११ जनाले आँखासम्बन्धी सेवा लिएको प्रतिष्ठानका कार्यक्रम अधिकृत हरि कार्कीले जानकारी दिए । उनका अनुसार आइतबार साँझसम्म ३२ महिला र २४ पुरुष गरी ५६ जनाको मोतिविन्दु र अन्य समस्याको शल्यक्रिया गरिएको छ भने १ सय ६० महिला र २ सय २० जना पुरुष गरी ३ सय ८० जनालाई चस्मा वितरण गरिएको छ ।

आँखाको शल्यक्रियापछि सामूहिक तस्बिर खिचाउँदै वृद्धवृद्धाहरु । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

हालसम्म १४ वर्षमुनिका दुई बालबालिकामा निको नहुने खालको अन्धोपन देखिएकाले उपचार सम्भव नभएको डा. गुरुङले जानकारी दिइन् । यसअघि गेटा आँखा अस्पताल र जिल्ला अस्पताल बझाङले गरेको परीक्षणमा यस गाउँपालिकाका ६ सय ४३ जनामा आँखासम्बन्धी समस्या देखिएको थियो । तीन हजारभन्दा कम जनसंख्या रहेको गाउँपालिकाका झन्डै २५ प्रतिशत मानिसमा आँखाको समस्या देखिनुको कारण समयमै उपचार नपाउनु रहेको डा. गुरुङको भनाइ छ ।

‘१०/१२ वर्षसम्म पनि उपचार नपाएका बिरामी भेटिए,’ उनले भनिन्, ‘यसअघि यहाँका मानिसले आँखासम्बन्धी कुनै पनि उपचार पाएका रहेनछन् । लामो समयसम्म उपचार नपाएका बिरामी थपिँदै जाँदा संख्या बढेको हो ।’ डा. गुरुङले देशकै दुर्गम भेगमा आएर सेवा गर्न पाएकामा आफूले भाग्यमानी महसुस गरेको बताइन् । यसअघि वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले यहाँ शिविर सञ्चालनको तयारी गरेको भए पनि भाइको कोरोना संक्रमणले मृत्यु भएकाले अन्तिम समयमा उनी शिविरमा सहभागी हुन नपाएको उनले बताइन् ।

साइपालमा शल्यक्रिया सेवासहितको बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको यो पहिलो पटक हो । चीनको तिब्बतसँग सीमा जोडिएको जिल्लाकै विकट यस गाउँपालिकामा जिल्ला अस्पतालमा समेत उपलब्ध नभएको सेवा घरदैलोमै पाएकामा स्थानीयले खुसी व्यक्त गरे । गाउँपालिकाले शिविर स्थलबाट एक दिनको पैदल दूरीमा रहेका धुली र धलौन गाउँका आँखाको शल्यक्रिया गर्नुपर्ने तर शिविरस्थलसम्म हिँडेर आउन नसक्ने र बोकेर ल्याइदिने सहयोगी नभएका १५ जनालाई हेलिकप्टरमार्फत शिविरमा ल्याइएको छ । ‘यो अपूर्व अवसरबाट असहायहरू वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाको खर्चमा हेलिकप्टरबाट बिरामी ल्याएका हौं,’ गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने ।

शिविर सञ्चालनका लागि तिलगंगा आँखा प्रतिष्ठान र हिमालयन मोतिविन्दु परियोजनाले १५ लाख तथा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख रकम खर्च गरेको छ । यस्तै जिल्ला अस्पताल बझाङ, सेती प्रादेशिक अस्पताल धनगढी र साइपाल गाउँपालिकाको १० लाख गरी ५० लाख हाराहारी रकम शिविरमा खर्च भएको अध्यक्ष धामीले बताए ।

शिविर सञ्चालनले दुर्गमका बासिन्दाले अस्थायी रूपमा राहत पाए पनि यहाँ उपचार अभावमा बर्सेनि धेरैले ज्यान गुमाउनुपर्ने र वर्षौं रोग पालेर बस्नुपर्ने अवस्था अन्त्य गर्न पहल गर्ने साइपाल पुगेका नेताहरूले आश्वासन दिएका छन् । शिविर उद्घाटन गर्न प्रतिनिधिसभा सदस्य आशाकुमारी विक, सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुन थापा, संविधानसभा सदस्य अफिलाल ओखेडा, जिल्ला समन्वय समितिका प्रमुख खड्ग खड्का साइपाल पुगेका थिए । यस्तै जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्का, प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी र अस्पताल विकास समितिका अध्यक्ष लालबहादुर खड्कालगायत पनि शिविरमा पुगेका थिए ।

प्रकाशित : कार्तिक ३, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?