लामो दूरीका सवारी साधानमा यात्रुहरुको संख्या न्यून- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लामो दूरीका सवारी साधानमा यात्रुहरुको संख्या न्यून

कान्तिपुर संवाददाता

काठमाडौँ — घटस्थापना सुरु भएपनि दसैंमा घर फर्कने यात्रु नहुँदा लामो दूरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन । काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड देखिएन । 

सरकारले कात्तिक १ गतेदेखि पुरानै भाडादर लागू गरी पूर्ण क्षमतामा सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ । तरपनि सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या न्यून देखिएको छ ।

अघिल्ला वर्षहरुमा दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो । तर यसवर्ष कोभिड संक्रमणका कारण ती क्षेत्रहरु सुनसान छन् ।

लामो दूरीमा यात्रा गर्ने सवारी साधन नै न्यून देखिन्छन् भने यात्रुहरुको संख्या पनि निकै कम छ । कात्तिक एक गतेदेखि सरकारले सवारी साधनको पुरानै भाडादर कायम राख्ने तर पूर्ण क्षमतामा यात्रु राख्‍न पाउने व्यवस्था गरेको छ । तरपनि यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरुको भनाइ छ ।

सरकारले पुरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको सवारीसाधन चालकहरु बताउँछन् । बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरु नै बस चढन नमान्ने गरेको चालकहरु बताउँछन् ।

बसमा यात्रा गर्ने यात्रुहरु पनि असुरक्षित महसुस भएको बताएका छन् । सवारीसाधनमा यात्रा गर्ने यात्रुको संख्या न्यून भएको तर लामो समय कुरैरै भएपनि पूर्ण क्षमतामा यात्रु राख्ने गरेकोले जोखिम महसुस भएको यात्रुहरुको भनाइ छ । यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम नगर्ने, मास्क र सेनिटाइजरको प्रयोग नगरेको पाइएकाले पनि संक्रमणको जोखिम महसुस भइराखेको यात्रुहरु बताउँछन् ।

संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ त्यहीँ नै दसैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि यसपटकको दसैंमा उपत्यकाबाट घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका छन् ।

प्रकाशित : कार्तिक २, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

दुर्गालाल केसी

दाङ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ र अर्घाखाँचीको सिमा क्षेत्रमा टिपरको ठक्करबाट आइतबार एक साइकलयात्रीको मृत्यु भएको छ ।

रा १ ख २०२१ नम्बरको टिपरले शितगंगा-८ मा साइकलयात्रीलाई ठक्कर दिँदा गढवा गाउँपालिका-१ जुरौनीकी २४ वर्षीया जमुना कुमालको घटनास्थलमै मृत्यु भएको हो ।

साइकल चालक जमुनाका ५८ वर्षीय बुवा बुद्धिरामकुमार गम्भीर घाइते भएको र उनलाई भालुबाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।

टिपर र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित : कार्तिक २, २०७७ १४:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×