कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

रोकियो लीला : आएनन् राम–सीता

रामलीला मञ्चनका लागि दुलहीझैं सिंगारिने नेपालगन्जको रामलीला मैदानको मञ्च अहिले खाली छ
ठाकुरसिंह थारू

नेपालगन्ज — रामलीला मञ्चनका लागि राम, सीता, लक्ष्मण, हनुमान र रावणलगायतको टोली घटस्थापनाको अघिल्लो दिनै मथुराबाट नेपालगन्ज आइपुग्थ्यो । त्यसअघि नै यहाँ चहलपहल सुरु भइसकेको हुन्थ्यो । घटस्थापनाका दिन रामको टोलीलाई नेपालगन्जमा शोभा यात्रा गराइन्थ्यो ।

रोकियो लीला : आएनन् राम–सीता

तर, यस वर्षको दसैंमा नेपालगन्जमा न राम आए, न उनकी धर्मपत्नी सीता माइती भूमिमा आइन् । नेपालगन्जवासीले घटस्थापनाका दिन रामसँगै भाइहरू भरत, लक्ष्मण र शत्रुघन तथा सीता अपहरणकारी रावण नै देख्न पाएनन् ।

लामो इतिहास बोकेको रामलीलामा पहिलोपल्ट ब्रेक लागेको हो । रामलीला मञ्चनका लागि दुलहीझैं सिंगारिने नेपालगन्जको रामलीला मैदानको मञ्च अहिले खाली छ । ‘म सानो छँदा कुनै–कुनै वर्ष हावाहुरी र पानीका कारण एक/दुई दिन रामलीला रोकिएको देखेको छु । तर, यसरी पूर्ण रूपमै रोकिएको पहिलोपल्ट हो,’ रामलीला सञ्चालन समिति नेपालगन्जका प्रचार महामन्त्री विष्णु कुमालले भने, ‘रामलीला हेर्न भीड हुने र कोरोनाको महामारी झन् फैलिन सक्ने भएकाले यस वर्ष रोकियो ।’ दसैंको पहिलो दिन घटस्थापनाबाट रामलीला सुरु गर्ने परम्परा छ । यो क्रम रावण बधसम्म चल्छ । अवधि संस्कृतिको अभिन्न अंग बनिसकेको रामलीला मञ्चनका लागि कलाकार भारतबाट ल्याउने गरिएको थियो । घटस्थापनाका दिन रामको टोलीले नेपालगन्जमा शोभा यात्रा गर्दा स्थानीयले भव्य स्वागत गर्ने चलन छ । गत वर्ष भारतको वृन्द्रावनबाट कलाकारको टोली आएको थियो ।

भारतको सीमासँग जोडिएकाले नेपालगन्जमा सन् १६४० बाट रामलीला मञ्चन सुरु भएको जानकारहरू बताउँछन् । रामलीला मञ्चन भारतीय सीमा सहरबाट नेपालगन्ज प्रवेश गरेको हो । बाँके बगियाको खुला चौरलाई रामलीला मैदान नामकरण गरी मञ्चनका लागि मञ्च निर्माण गरिएको छ । कोरोनाका कारण रोकिएपछि रामलीला सञ्चालन समितिले स्थानीय टेलिभिजनबाट राति ८ देखि १२ बजेसम्म रामायण हेर्न मिल्ने व्यवस्था मिलाएको छ । तर, प्रत्यक्ष रूपमा लीला हेर्न बानी परेको नेपालगन्जवासीलाई भने घरमै टीभी हेरेर रामायण हेर्नुपर्नेछ । ‘लाइभ हेर्नुको मजा बेग्लै हुन्थ्यो,’ त्रिभुवन चोकका स्थानीय गोपाल गुप्ताले भने, ‘कोरोनाले नेपालगन्ज सुनसान हुने भो ।’

रामलीला सञ्चालनका लागि स्थानीयले वार्षिक १५ लाखभन्दा बढी रुपैयाँ आफैं जम्मा गरेर खर्च गर्दै आएका थिए । ‘पुर्खाले जोगाएर राखेको संस्कारका लागि चन्दा मागेर भए पनि रामलीला गराउँदै आएका थियौं । तर, यो दसैंमा गर्न सकिएन,’ रामलीला सञ्चालक समितिका अध्यक्षमा हालै मनोनीत सुरेश कनौडियाले भने, ‘रामलीला संस्कृतिमात्रै होइन, इतिहास बनिसक्यो ।’

प्रकाशित : कार्तिक २, २०७७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?