२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बलात्कार घटना खुल्नै सकस

यस्तो छ कारण– आफूमाथि अपराध भएको भनेर छुट्याउन नसक्नु, घटना बाहिर आए समाजमा अपहेलित हुने डरले प्रहरीकहाँ पुग्नै ढिलाइ हुनु ।
तृप्ति शाही

बैतडी — बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीले पालिकाकै एक युवकसँग भागी बिहे गरिन् । विवाहको ६ महिनामै बच्चा जन्मिएपछि घरपरिवारसँगै गाउँघरमा होहल्ला भयो । गाउँमा बस्नै नसकिने अवस्था भएपछि प्रहरीले किशोरी आमा र नवजात छोरीको उद्धार गरेर सदरमुकाम पुर्‍यायो ।

बलात्कार घटना खुल्नै सकस

प्रहरीले उद्धार गर्दा उनकी छोरी महिना दिनकी भइसकेकी थिइन् । उद्धारपछि मात्र किशोरी सामूहिक बलात्कारमा परेको खुल्यो । उनलाई पढाउने शिक्षक, गाउँपालिकामा कार्यरत कर्मचारीलगायत अन्य तीन जना स्थानीयसमेत ५ जनाले उनीमाथि पटक–पटक बलात्कार गरेको खुलेको छ । २०७६ को कात्तिकको यो घटना २०७७ भदौमा मात्र बाहिर आएको हो ।

यस्तै बैतडीकै पञ्चेश्वर गाउँपालिकाकी १० वर्षीया बालिका ७ वर्षको उमेरदेखि बुवाबाट यौनजन्य हिंसाको सिकार भए पनि लामो समयपछि मात्र घटना बाहिर आयो । छिमेकीले बालिकाको अवस्थाबारे शंका गरेपछि गाउँपालिकाकी उपाध्यक्षलाई खबर गरे । उनले प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी अनुसन्धानबाट बालिकामाथि बलात्कार हुने गरेको खुल्यो । पछिल्लो पटक असारमा बालिकामाथि बलात्कार भए पनि साउनमा मात्रै प्रहरीमा पुगेपछि घटना सार्वजनिक भयो ।

यसरी ढिलो गरी प्रहरीकहाँ पुग्ने गरेका यी केही चर्चित घटना हुन् । जिल्लाका विभिन्न भेकमा हुने गरेका यौनहिंसा, बलात्कार र घरेलु हिंसाका घटना सकभर त गाउँमै मिलापत्र गराएर सामसुम पारिन्छ, केही गरी प्रहरीसम्म पुगे पनि निकै ढिलो गरी घटनाको उजुरी दर्ता भई कारबाही प्रक्रिया सुरु हुने गरेको छ । मेलौली नगरपालिकाकी एक महिला पनि जेठमा बलात्कृत भइन् । असोज १० गते मात्र उनी प्रहरीमा न्याय खोज्दै पुगेकी छन् । गर्भमा बच्चा बसेपछि मात्र उनी प्रहरीकहाँ आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

‘जिल्लामा महिला हिंसाका घटनाहरू पहिलेदेखि बढी नै भइरहेका छन्,’ उनले भने, ‘बलात्कारका घटना पनि ढिलो मात्र जानकारी हुने गरेका छन् ।’ डीएसपी अधिकारीका अनुसार आफूमाथि अपराध भएको भनेर छुट्याउन नसक्नु, घटना बाहिर आए समाजमा अपहेलित हुने डरले भित्रभित्रै मिलाउने चाहना राख्नुले महिला हिंसा र बलात्कारजस्ता जघन्य अपराधका घटना ढिलो गरी प्रहरीकहाँ पुग्ने गरेका छन् । जबर्जस्ती करणीका घटनामा गर्भवती भएपछि समस्या हुने भएकाले मात्र कानुनी उपचारको बाटो खोज्ने गरेको पाइएको उनले बताए ।

दुर्गम भेकमा चेतनाको कमीका कारण बलात्कार जस्ता जघन्य अपराधहरू पनि ढिलो गरी न्यायिक निकायमा पुग्ने गरेको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्ट बताउँछिन् । ‘कानुन र कारबाहीबारे पनि नागरिकहरू सचेत छैनन् । त्यसैले पनि अन्तिम अवस्थामा निकै ढिलो गरी खुल्ने गरेका छन् । महिलाहरूलाई घरपरिवार र सामाजिकलगायत कारणले पनि आफ्ना पीडाबारे खुल्न गाह्रो हुने गरेको छ,’ उनले भनिन् ।

चालु आर्थिक वर्षका तीन महिनामा जिल्ला प्रहरीमा जबर्जस्ती करणीका ८ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३ वटा मुद्दा धेरै ढिलो गरी प्रहरीमा आएका छन् । अन्य मुद्दाहरू पनि घटना भएको केही दिनपछि नै आएका छन् । उक्त अवधिमा जबर्जस्ती करणी उद्योगका दुईवटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा जबर्जस्ती करणीका ९ र करणी उद्योगका दुईवटा गरी ११ मुद्दा दर्ता भएका थिए । यीमध्ये चालु आर्थिक वर्ष र गत वर्ष तीन/तीन घटनामा आफन्तकै संलग्नता पाइएको डीएसपी अधिकारीले बताए ।

प्रकाशित : कार्तिक २, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?