पहिरोले विस्थापित अझै चौरमै

वीरेन्द्र केसी

अर्घाखाँची — गत असोज ९ गतेको पहिरोबाट विस्थापित शीतगंगा नगरपालिका–१२ कोठिया मैदानका ५१ परिवार अझै खुला चौरमा बसिरहेका छन् । विभिन्न सहयोगी दाताले खाद्यान्न, लत्ताकपडा दिए पनि बास भने चौरमै छ । 

पहिरोले विस्थापित अझै चौरमै

असोज ९ गते दिउँसो पहिरो जाँदा १७ घरका ९९ जनाले भागेर ज्यान जोगाएका थिए । त्यसपछि तीन दिनसम्म जमिन भासिएर पहिरो जाँदा ३४ घर पहिरोमा भत्किएर बगे । अहिले उनीहरू गाउँ नजिकै चौर र जंगल छेउमा बसेका छन् । यहाँ राति सुत्न टेन्टको व्यवस्था गरिएको छ ।

‘दिउँसो चौरमा खाना पकाउने, खाने, बस्ने गरेका छौं,’ ताराबहादुर नेपालीले भने, ‘घर पहिरोले बगायो, खेतबारी सबै चिरैचिरा छ, अब कहाँ गएर बस्ने ?’ चौरमा बस्दा खानेपानीको अभाव छ । जंगल छेउमा खाना पकाउँदा किरा फट्याङ्ग्रा पर्ने अर्का विस्थापित सन्तोष नेपालीले बताए । विस्थापित ५१ परिवारमध्ये केहीमात्रै छिमेकी र आफन्तको घरमा बसेका छन् ।

वर्षौंसम्म बस्दै आएको बस्ती छिनभरमै पहिरोले सखाप पारेको थियो । खेतबारी चिरैचिरा छन् । अन्नबाली नोक्सान भयो । ‘वर्षौंसम्म दुःख गरेर जोडेको घरसम्पत्ति छिनभरमै पहिरोले बगाइदिएपछि यसरी खुला जंगल छेउमा टेन्टमुनि बस्दा साह्रै चिन्ता लाग्छ,’ ताराप्रसाद अधिकारीले भने, ‘बिस्तरामा पल्टिए पनि राति निद्रा लाग्दैन ।’ बुटवल र काठमाडौंमा व्यवसाय गर्नेहरूले ६ महिना पुग्ने खाद्यान्न भने जुटाइदिएका छन् ।

पुरानो बस्तीमा पुनः घर बनाएर बस्न जमिन भासिएर चिरैचिरा परेकाले सम्भव छैन । खेतीपाती गर्न भए पनि बस्न डर छ । ‘यहाँ आएका सांसद, नेता, कर्मचारीले चाँडै बासको व्यवस्था गरिदिन्छौं भनेका छन्, खोइ अहिलेसम्म केही सुरसार छैन,’ माधव गैरेले भने, ‘न बनाऊ भन्छन्, न बनाइदिन्छन् । यसरी विस्थापित अरूको शरण र चौरमा कति दिन बस्ने ? साह्रै आपत् भएको छ ।’

आवासका लागि जग्गा छनोट गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन भए पनि कोरोना संक्रमित भएकाले काम अगाडि बढ्न सकेको छैन । ‘केही परिवार छिमेकीको घरमा बसे पनि धेरैलाई चौर, पौवामा व्यवस्थापन गरेका छौं, खोइ अहिलेसम्म जग्गा छनोट गर्न जिल्लाबाट कोही आएका छैनन्,’ वडाध्यक्ष बाबुराम गैरेले भने । आवास निर्माण गर्न प्रदेश र संघ सरकारले ढिलाइ गरेको उनको भनाइ छ । घर नभएकालाई आवास निर्माणका ३ लाख ५० हजार संघ सरकारले प्रदेशमार्फत सहयोग गर्ने प्रावधान छ । जग्गा छनोट गर्न अझैसम्म कसैले पनि पहल गरेका छैनन् ।

विस्थापितलाई चाँडै ठाउँ खोजेर आवास निर्माण गरी व्यवस्थापन गरिने शीतगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । आवास निर्माणका लागि सहयोगी दाताले दिएको केही रकम कोषमा जम्मा गरेका छन् । ‘चाँडै ठाउँ छनोट गरेर संघीय सरकारसँग घर बनाउन बजेट माग गर्छौं,’ उनले भने ।

प्रकाशित : कार्तिक २, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?