यसरी जोगिऔं दसैंमा संक्रमणबाट- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी जोगिऔं दसैंमा संक्रमणबाट

अतुल मिश्र

काठमाडौँ — विज्ञहरूले दसैंमा अत्यधिक आवतजावत हुने भएकाले काठमाडौं उपत्यकाबाट कोभिड–१९ संक्रमण देशभरि फैलिन सक्ने चेतावनी दिएका छन् । बस र साना गाडीमा कोचिएर यात्रा गर्ने भएकाले भाइरसको विस्तार धेरै हुने सम्भावना रहेको उनीहरूले बताएका हुन् । त्यसैले स्वास्थ्य सावधानी अपनाएर दसैंमा यात्रा गर्न विज्ञहरूले सुझाएका छन् । 

‘दसैं–तिहार मान्न काठमाडौं छोड्नेहरूको संख्या बढ्दो छ,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले भने, ‘यसरी उपत्यका बाहिरका गाउँ र सहरमा कोभिड भाइरस पुग्छ ।’ हटस्पटको रूपमा देखिएका उपत्यकाबाट घर जानेहरूबाटै संक्रमण नदेखिएका नयाँ ठाउँमा द्रुत गतिले संक्रमण सर्ने देखिन्छ । उनले खासगरी रात्रिबसमा झ्यालढोका बन्द हुने भएकाले हावा ओहोरदोहोर नहुँदा संक्रमणको विस्तार सजिलै हुने बताए । अझ रात्रिबसमा सुत्दा मास्क नलगाए र एसी बस भए झन् बढी संक्रमणको सम्भावना हुने उनको भनाइ छ ।

माइक्रो बसलगायत साना गाडीहरूमा समूहमा टाढा–टाढाको यात्रा गर्नु संक्रमणको दृष्टिकोणले झन् जोखिमपूर्ण भएको डा. दासले बताए । ‘एक जनाले रात्रिबसमा भएका ९० प्रतिशतसम्म व्यक्तिमा कोभिड सार्न सक्छ,’ उनले भने, ‘यो भाइरस १५ मिनेटभन्दा बढीको निकट सम्पर्कमा रहँदा सर्ने सम्भावना बढी हुन्छ, त्यसमा पनि झ्यालढोका थुनिएको बसमा त घण्टौं बस्नुपर्ने भएकाले एक जना संक्रमित नै भाइरस सार्न काफी छ ।’

दसैं मनाउन घर जाँदा काठमाडौं उपत्यकामा स्वाभाविक जनसंख्या घट्ने भएकाले संक्रमणको विस्तारमा केही कमी हुन सक्ने सम्भावना भए पनि पुनः तिहारपछि संक्रमणको दोस्रो लहर आउने विज्ञहरूको विश्लेषण छ । हाल उपत्यका र प्रदेश १ बाहेक अरू प्रदेशमा कोरोना संक्रमण भयावह रूपमा देखिएको छैन । दसैं–तिहारपछि उपत्यका फर्किनेहरूको लर्को लाग्ने समय राजधानीमा जाडो सुरु भइसक्छ । हाल युरोपेली मुलुकमा जाडो सुरु हुनासाथ कोभिड संक्रमणको नयाँ उचाइ (पिक) देखिएको छ । ‘तिहारपछि देखिने कोभिड संक्रमणको ‘पिक’ जाडोसम्म जान्छ,’ डा. दासले भने ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले दसैं–तिहारपछि कोभिडको अर्को तरंग उपत्यकामा आउन सक्ने जनाउँदै सावधानी अपनाउनुपर्ने बताए । ‘जाडोमा भाइरस बढी सक्रिय हुन्छ, यसैले सबैलाई जहाँ हुनुहुन्छ त्यहीं सुरक्षित रहेर दसैं मनाउन भनेका छौं तर उपत्यका छोड्नेहरू दिनहुँ बढ्दै छन्,’ उनले भने । वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले यस पटक सकेसम्म दसैं–तिहारमा यात्रा नगर्न आग्रह गरे । ‘यस पटकको दसैं भौतिक रूपमा भन्दा पनि भावनात्मक रूपमा मनाऔं, सम्झौता गरौं, स्थिति जटिल छ । पोहोरजस्तै सबै कुरा नखोजौं । जहाँ छौं त्यहीं दसैं मनाऔं,’ उनले भने ।

जाडोमा उपत्यकामा झ्यालढोका थुनेर एउटै कोठामा बस्नेसुत्ने आदि गर्दा संक्रमणको विस्तारमा झन् सघाउने विज्ञहरूले बताएका छन् । चाडपर्वमा धेरै व्यक्ति एउटै कोठामा कोचिएर घण्टौंसम्म तास खेल्ने, धूमपान र मदिरा सेवनले संक्रमण बढ्ने डा. दासले बताए । ‘दसैं–तिहार सुरक्षासाथ मनाउनुस्, मन्दिर नजाँदा नै जोगिइन्छ, समूहमा गर्ने काम नगरौं,’ उनले भने । उनले टीका थाप्ने क्रममा हुने निकट सम्पर्क र अधिकतम बसाइले संक्रमणको जोखिम झन् बढाउने र टीका थाप्ने क्रममा बूढापाका, दीर्घ रोगीहरूमा संक्रमणको बढी जोखिम देखिने जनाए ।

बूढापाकाबाट टीका थाप्न सकेसम्म भर्चुअल माध्यम उपयोग गर्ने वा विकल्प नभए दुवै जनाले मास्क लगाएर हात सेनिटाइज गरेर टीका थापेर तुरुन्त निस्किनुपर्ने डा. बाँस्तोलाको सुझाव छ । ‘जति बढी समय भेटघाट, सम्पर्क त्यति बढी संक्रमणको जोखिम हुने भएकाले टीका थाप्नै परे खुला ठाउँमा तुरुन्त लगाएर हिँड्नुपर्छ,’ उनले भने । दसैं–तिहार मनाउन उपत्यका बाहिर जानेहरूलाई स्थानीय निकायले दुई सातासम्म क्वारेन्टाइन बस्नुपर्ने र त्यसपछि मात्र समाजमा घुलमिल गर्न दिने नियम कायम गर्नुपर्ने विज्ञहरूको भनाइ छ । यसले गर्दा उपत्यकाको संक्रमणको तरंग मुलुकको अन्य भागमा सल्कन कम हुनेछ ।

दुई साता क्वारेन्टाइन बस्न नचाहनेहरूले एक साता क्वारेन्टाइनमा बसेपछि पीसीआर गराउँदा रिपोर्ट नेगेटिभ देखिए मात्र समाजमा घुलमिल गर्न दिनुपर्ने डा.दास बताउँछन् । राजधानीबाहिर जानेहरूलाई अनिवार्य क्वारेन्टाइनसम्बन्धी बाध्यताले अनावश्यक यात्रामा कमी आउन सक्ने सम्भावना रहन्छ । चाडपर्वको समय र चिसोमा संक्रमण बढ्ने खतरा भएकाले आगामी ३ देखि ४ महिना नेपालीहरूले थप स्वास्थ्य सजगता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

आईपीएल : दिल्ली बलियो स्थितिमा

एजेन्सी

शारजहाँ — शिखर धवनको पहिलो शतकमा दिल्ली क्यापिटल्स शनिबार चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) को पुनः शीर्षस्थानमा पुगेको छ । गत वर्षको उपविजेतामाथि विजय हात पारेपछि दिल्लीले ९ खेलमा १४ अंक जोड्दै प्लेअफमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

टस जितेर ब्याटिङ गरेको चेन्नईले शारजहाँ क्रिकेट मैदानमा १७९–४ को स्कोर बनाएको थियो । लक्ष्य पछ्याउनेक्रममा दिल्लीलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो बलमा वाइडमा एक रन आउनुका अलावा धवनले १ रनमात्र बनाए । त्यसपछिको दुई बलमा लगातार छक्का र चौथो बलमा २ रन जोड्दै अक्षर पटेलले स्कोर बराबरी बनाए ।

पटेलले रवीन्द्र जडेजाको पाँचौं बलमा पनि छक्का प्रहार गर्दै दिल्लीलाई नाटकीय विजय दिलाए । पटेल ५ बलमा २१ रन बनाई अविजित रहे । म्यान अफ द म्याच धवनले ५८ बल खेल्दै १४ चौका र १ छक्का प्रहार गरे । कप्तान श्रेयस ऐर २३ र मार्कस स्टोइनिस २४ रनमा आउट भएका थिए । यसअघि चेन्नईबाट फाफ डु प्लेसिसले ५८, शेन वाटसनले ३६ रन बनाएका थिए । अम्बाती रायडु २५ बलमा १ चौका र ४ छक्कासहित ४५ र जडेजा १३ बलमा ४ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे ।

बेंग्लोरको जितमा डी भिलियर्स चम्किए

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सले फेरि एकपल्ट आक्रामक ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई राजस्थान रोयल्समाथि ७ विकेटको जित दिलाएका छन् । शनिबार पाएको यो जित बेंग्लोरको छैटौं हो । टोली १२ अंकसहित तेस्रो स्थानमा रह्यो ।

डी भिलियर्सले २२ बल सामना गरेर एक चौका र ६ छक्का प्रहार गरे । त्यसको मदतमा बेंग्लोरले १९.४ ओभरमा ३ विकेट गुमाएर १ सय ७९ रन बनायो । जितपछि कप्तान विराट कोहलीको बेंग्लोरको प्लेअफका लागि छनोट हुने सम्भावना बलियो भएको छ । कप्तान कोहली आफैं पनि ३२ बलमा ४३ रनको योगदान दिन सफल रहे । राजस्थानले भने टस जितेर पहिले ब्याटिङ गरेको थियो । यसक्रममा २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो । कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । उनले ३६ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरे ।

प्रारम्भिक ब्याट्सम्यानको भूमिका ओर्लेका अनुभवी रोबिन उथप्पाले २२ बलमा ४१ रन बनाए । बेंग्लोरका क्रिस मोरिस सर्वाधिक सफल बलर रहे । उनले २६ रन खर्चेर ४ विकेट लिए । युजभेन्द्र चाहलले २ विकेट लिए । राजस्थानको योछैटौं हार हो । टोली तीन जितबाट ६ अंक बनाउँदै अंकतालिकामा पुछारबाट दोस्रोमा छ ।

प्रकाशित : कार्तिक २, २०७७ ०६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×