कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री र सांसदले दसैं भत्ता लिनु अनुचित : विवेकशील

कान्तिपुर संवाददाता

काठमाडौँ — वागमती प्रदेशका मन्त्री र सांसदहरूलाई दसैंभत्ता नदिन विवेकशील नेपाली दलले माग गरेको छ । दसैं भत्ता वितरण भइसकेको भए फिर्ता गराउनुपर्ने पनि विवेकशीलले माग गरेको छ । जनता कोरोनाको महामारीमा रहेका बेला सांसद र मन्त्रीले भने दसैं भत्ता लिनु अनुचित कार्य भएको उक्त दलको धारणा छ ।

मन्त्री र सांसदले दसैं भत्ता लिनु अनुचित : विवेकशील

विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड- १९)को महामारीका बेला मन्त्री र सांसदहरूलाई दसैंभत्ता दिन अनुकूल नभएको बताएकी छन् । 'वागमती प्रदेश सरकारले प्रदेशसभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दिएको दसैं भत्ता कोभिड- १९ को माहामारीको समयमा दिन अनुकूल नभएकोले उक्त रकम फिर्ता गर्न विवेकशील नेपाली दल आह्वान गर्दछ,' विज्ञप्तिमा लेखिएको छ, 'विवेकशील नेपाली दलका सांसदहरूले उक्त रकम नलिने व्यहोरा जानकारी गराउँदै अन्य सांसदहरूलाई पनि सोही व्यवस्था गर्न विनम्रतापूर्वक अपिल गर्दछौं ।'

विवेकशीलले विगतमा नै कोरोना अवधिभरी सांसद, मन्त्री तथा सल्लाहकारहरूको तलब सुविधामा कम्तीमा २५ प्रतिशत कटौती गर्नुपर्ने माग कायमै राखेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वागमती प्रदेश सरकारले फजुल खर्च बढाइरहेको विवेकशीलको आरोप छ । 'प्रदेश सरकारले हाम्रा आवाजहरूलाई सुनुवाइ नगरी फजुल खर्च बढाइरहेको स्थिति छ । यसैको पछिल्लो उदाहरणको रूपमा प्रदेश सांसद, मन्त्रीहरूलाई समेत दसैँ खर्च बाँड्ने कार्यलाई लिन सकिन्छ । आम सर्वसाधारण नागरिकहरु रोग र भोकले एकैसाथ तड्पिरहेको अहिलेको अवस्थामा सांसद, मन्त्रीहरूले दसैं खर्च लिनु सर्वथा अनुचित कार्य हो ।'

विवेकशीलका प्रदेशसभा सदस्यहरूले खातामा आएको दसैं भत्ता फिर्ता गर्ने पनि उपाध्यक्ष राईले जानकारी दिएकी छन् । वागमती प्रदेश सभामा विवेकशीलका तीन जना सदस्य रहेका छन् ।

प्रकाशित : कार्तिक १, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?