१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वीरगन्जको रेशमकोठीबाट २३ किलो सुन बरामद

भूषण यादव

वीरगन्ज — पर्साको वीरगन्ज महानगरपालिका-५ रेशम कोठीबाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ ।

वीरगन्जको रेशमकोठीबाट २३ किलो सुन बरामद

विशेष सुराकीको आधारमा प्रहरीले शनिबार अपराह्न वीरगन्ज महानगरपालिका–५ रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २३ केजी दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीको गर गहना बरामद गरेको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

अपार्टमेन्टका सुरक्षागार्डका अनुसार उक्त नम्बरको फ्ल्याट भारतीय नागरिक अशोक सिन्हाको हो । उनी भारत पूर्वी चम्पारण हरैयाका बासिन्दा हुन् । सिन्हा रक्सौल कस्टमका क्लियरिङको काम गर्छन् । सिन्हाका भाई प्रमोद कुमार सिन्हा बिहार विधानसभा निर्वाचनमा रक्सौल विधानसभा १० का भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार हुन् । विधानसभा निर्वाचन अन्तर्गत तेस्रो चरणमा नोभेम्बर ७ मा त्यस क्षेत्रमा निर्वाचन हुने जनाइएको छ ।


‘विगत २ दिनदेखि अपार्टमेन्टको निगरानीमा थियौं, अवैध सुन राखिएको छ भन्ने सुचना आएको थियो,’ एसपी गंगा पन्तले भनिन्, ‘फ्ल्याट धनीलाई बिहानसम्म कुर्‍यौं । बन्द रहेको फ्ल्याटमा कोही नआएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा खनतलासी गरेका हौँ । सुनका विस्कुट र गर गहना बरामद भएका छन् ।’

उनका अनुसार खनतलासीको क्रममा एक केजीको सुनको विस्कुट १३ पिस, मझौला खाले सुनको विस्कुट ४६ पिस, १०० ग्रामको सुनको विस्कुट १० थान र सुनका विभिन्न गर गहनाहरु ६ सय ८९ ग्राम बरामद भएको एसपी पन्तले बताइन् । त्यसमध्ये सुनको विस्कुट २२ केजी ५ सय ७६ ग्राम रहेको छ । फ्ल्याट धनी हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । सुनसहित अन्य कागजात पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?