१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सरकार आफ्नो भू-भागलाई पनि नेपालकै हो भन्‍न हिच्किचायो : नेता सिंह 

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने बाहेकको काम देखाउन सकेनन्
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मुलुकको सार्वभौमिकताको रक्षा गर्न नसकेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको भू-भागलाई पनि आफ्नो हो भन्न नसकेको बताएका हुन् । 

सरकार आफ्नो भू-भागलाई पनि नेपालकै हो भन्‍न हिच्किचायो : नेता सिंह 

हुम्लामा चीनले नेपाली भूमि मिचेको भन्दै शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले भने, 'नेपालको भौगोलिक अखण्डताको विषयलाई लिएर सरकार आफ्नो भू-भागलाई पनि नेपालकै हो भनेर भन्न हिच्किचाएको छ ।'

सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारी टोलीले स्थलगत निरीक्षण प्रतिवेदन नबुझाउँदै चीनले भूमि नमिचेको भन्ने अभिव्यक्ति दिएकोप्रति नेता सिंहले आपत्ति जनाए । 'हुम्लामा सरकारी टीम स्थलगत अवस्था बुझ्नका लागि गएको छ । तर प्रतिवेदन आउनुअगाडि नै सरकारका प्रवक्ताले केही भएको छैन भनर अपरिपक्व कुरा गरेका थिए,' उनले भने ।

नेपालको भू-भाग वर्तमान सरकारले संरक्षण र सुरक्षा गर्न सक्ने हो कि होइन भन्ने कुरा जनतामा पर्न गएको सिंहको भनाइ थियो ।

हुम्लामा चीनले नेपाली भूमि मिचेको प्रतिपक्षी कांग्रेसले बताउँदै आएको छ । चीन र नेपाल सरकारले भने दुई देशबीच कुनै पनि सीमा समस्या नरहेको बताउँदै आएका छन् । कर्णाली प्रदेशमा प्रतिपक्षी दल कांग्रेसका नेता जीवनबहादुर शाहीले भने चीनले नेपाली भूमिमा स्थायी संरचना बनाएको दाबी गरेका छन् । कांग्रेसले शाहीको प्रतिवेदनको आधारमा नै सरकारमाथि दबाब बनाइरहेको हो ।

त्यस्तै, नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी सरकारको प्रत्याभूति दिन नसकेको बताएका छन् । जनताले दिएको अत्यधिक जनमतका बाबजुद प्रधानमन्त्रीले यो अवधिमा ११ पटक मन्त्रिपरिषद् पुनर्गठनमा मात्रै बिताएको नेता सिंहको दाबी थियो । 'जनताले अत्यधिक म्यान्डेट दिए पनि ३१ महिनामा ११ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभन्दा केही पनि काम देखाउन सकेको देखिएन । कुर्सीमात्र जोगाउने काममा सरकार लागेको छ,' उनले भने ।

ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस, यति लगायतका प्रकरणमा सरकार प्रमुख ओलीको भ्रष्टाचारप्रतिको धारणा प्रस्ट पारेको नेता सिंहले बताए । 'सुशासन दिने ठाउँमा कुशासन दिने, भ्रष्टाचारमुक्त काम गर्ने ठाउँमा महामारीमा औषधि र स्वास्थ्य सामग्री खरिदमा घोटाला गरेको देख्दा नै सरकार कति असंवेदनशील रहेको छ भन्ने देखिन्छ,' उनले भने ।

बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गरेकाले पनि सरकार कानुनको शासन कायम गर्न चुकेको नेता सिंहको भनाइ थियो ।

प्रकाशित : कार्तिक १, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?