शनिबारबाट दसैं सुरु

घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा
प्रशान्त माली

काठमाडौँ — दसैं शनिबार (भाेलि)बाट सुरु हुँदैछ । पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा परेको छ । यसै शुभसाइतमा हनुमानढोका दरबारस्थित दसैं घरमा घटस्थापना गरिने भएको छ ।

शनिबारबाट दसैं सुरु

शनिबारदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहान नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा विधिपूर्पक राखेर त्यसमा थिजौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रिभर प्रत्येक दिन श्रद्धालुहरू बिहान सबेरै एक/एक तीर्थमा गई स्नान गरी शक्तिपीठहरूमा पूजाआराधना गरी नजिकको शिवलिंगलाई अघ्र्य दिने गर्छन् । राजधानीमा श्रद्धालुहरू पाटनको शंखमूलस्थित शंकर तीर्थमा स्नान गरेर महालक्ष्मी (चामुण्डादेवी) को पूजाअर्चना गर्छन् । विजया दशमीका दिन गुहयेश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी गुहेश्वरीमाईको पूजाआराधना गर्दै समापन गर्छन् ।

कात्तिक ७ गते शुक्रबार फूलपातीलाई हर्ष बढाई गर्दै डोलीमा राखेर ल्याई हनुमानढोका दरबारस्थित दसैं घर भित्र्याइन्छ । त्यस अवसरमा राष्ट्रपति हनुमान ढोका नासलचोकमा हुने पूजा कार्यक्रम सरिक हुने परम्परा छ । तर, यस वर्ष कोभिड–१९ महामारीका कारणले गर्दा राष्ट्रपति उपस्थित नहुने जानकारी विश्व युवा हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले दिए ।

त्यसै दिनको शुभसाइतमा तलेजु मन्दिरबाट तलेजु भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रिका रूपमा मनाइने परम्परा छ ।

कात्तिक ९ गते महानवमीका दिन घटस्थापना गरेको ठाउँ तथा विभिन्न शक्तिपीठ र कोतमा हाँस, कुखुरा, बोका तथा राँगा बलि चढाइ पूजा गरिन्छ । यसदिन दिनभरि सर्वसाधारणका लागि तलेजु भवानी मन्दिर खुल्ला गरिने परम्परा छ ।

उक्त दिन राजधानीका विभिन्न ठाउँमा खड्गजात्रा (पाय: जात्रा) निकालिन्छ भने घटस्थापनदेखि काठमाडौंको पचली भैरवको जात्रा सुरु हुन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका थापिन्छ ।

त्यसै दिनदेखि कोजाग्रत पूर्णिमासम्म कुमारी घरमा कुमारीको हातबाट सर्वसाधारणलाई टीका थाप्ने पम्परा छ । तर, यस वर्ष समिति व्यक्तिहरुलाई मात्र टिका थाप्ने लगाइने महांसघका अध्यक्ष महर्जनले बताए । कोजाग्रत पूणिमाका दिन महालक्ष्मीको पूजाआराधना गर्दै दसैं समापन गरिन्छ ।

प्रकाशित : आश्विन ३०, २०७७ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?