१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बूढीगण्डकीमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यति अर्ब खाए भन्‍ने कुरा निराधार र गैरजिम्मेवार : ओली

देश र जनतालाई गलत सूचना दिई भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भयो : प्रधानमन्त्री ओली
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको कुरा दोहोऱ्याएका छन् ।  नेपाल प्रहरीको ६५औं स्थापना दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको बताएका हुन् ।

बूढीगण्डकीमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यति अर्ब खाए भन्‍ने कुरा निराधार र गैरजिम्मेवार : ओली

नेपालजस्तो मुलुकमा जागिर पाउनु, तलब पाउनु गरिबीको रेखामुनि पर्नु नभएको भन्दै लोभलालच, र व्यक्तिगत लाभ र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उनले बताए ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाए पनि केही गैरजिम्मेवार तत्वले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै बूढीगण्डकीमा अर्बौं भ्रष्टाचार भयो भन्ने कुरा निराधार भएको बताए । ‘एउटा निर्णय नभएको, कसैले नलिएको कार्यारम्भ नभएको, हुन्छ हुँदैन भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएकोसमेत सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्तिको एउटा कुरा हो तर हामी त्यति गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं ।’

बूढीगण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भयो भनेर देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

केही दिनअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता बाबुराम भट्टराईले एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले ९ अर्ब रुपैयाँ खाएको भनेर विवादित अभिव्यक्ति दिएका थिए । त्यसपछि कांग्रेस र नेकपा दुवैले विज्ञप्ति निकालेर आरोप पुष्टि गर्न भट्टराईलाई चुनौती दिएका थिए । त्यसपछि भट्टराईले भने आफ्नो काम सडकमा प्रमाण देखाउँदै हिँड्ने नभएको उल्लेख गर्दै निष्पक्ष छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

आफूहरु सत्य निष्ठा र जिम्मेवारीका साथ मात्र अघि बढ्ने प्रधानमन्त्री ओलीले बताए । भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताका साथ अघि बढे पनि अरु कुराहरुमा सरकार सहनशीलताका साथ अघि बढ्ने उनले बताए । अपराध र भ्रष्टाचारविरद्धको शून्य सहनशीलताको नीति अपनाउन नेपाल प्रहरी प्रतिबद्ध भएर अघि बढ्ने कुरामा आफू विश्वस्त रहेको पनि प्रधानमन्त्री ओलीले बताए । प्रहरीमाथि नागरिकको विश्वास कमजोर भए नागरिक र प्रहरीबीचको सम्बन्ध नै कमजोर हुने पनि उनले बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र खटिरहेको भन्दै प्रशंसा गर्दै आपराधिक क्रियाकलाप रोक्न कुनै पनि प्रकारको दबाब र प्रभावमा नपर्न नेपाल प्रहरीलाई आग्रह गरे ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन ३०, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?