२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

धूलोले दिउँसै देखिन्‍न दाउन्ने सडक

नारायण शर्मा

नवलपरासी पूर्व — पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा खाल्डाखुल्डी र धूलोका कारण दिउँसै बत्ती बाल्नुपर्ने अवस्था छ । घण्टौं जामको सास्ती पनि छँदै छ । यसले दुर्घटनाको जोखिम बढाएको छ । दुम्कीबास र बर्दघाटबीचमा पर्ने यो खण्डको १४ किलोमिटर दूरी पार गर्न अहिले ३ घण्टाभन्दा बढी समय लाग्छ ।

धूलोले दिउँसै देखिन्‍न दाउन्ने सडक

वर्षातमा गएको पहिरो सुकेर सडक धुलाम्य छ, सयौं खाल्डाखुल्डी छन् । महिनौं भइसक्दा पनि पहिरो पन्छाइएको छैन । जसका कारण धुलाम्य सडकमा अगाडिको गाडी नै देख्न मुस्किल हुने गरेको चालकहरू बताउँछन् ।

बिग्रिएको सडक मर्मत सम्भारमा कसैले चासो देखाएको छैन । बुटवल–नारायणगढ सडकखण्ड फराकिलो गर्न चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको छ । १७ अर्ब रुपैयाँको लागतमा चार वर्षभित्र सडक विस्तार सक्ने गरी ठेक्का दिइएको हो । विस्तारको कामसँगै निर्माण अवधिमा सडकको खाल्डाखुल्डी पुर्ने तथा सरसफाइ गर्ने जिम्मेवारीसमेत ठेकेदार कम्पनीकै हो । तर कम्पनीले लकडाउनपछि काम अघि बढाएको छैन ।

दाउन्ने मात्रै होइन पूर्वी र पश्चिम नवलपरासीका मुख्य बजारका चोकचोकमा सडक भत्किएर क्षतविक्षत हुँदा पनि मर्मतसम्भार र सामान्य पानी हाल्ने कामसमेत नगर्दा यात्रु तथा स्थानीयले सास्ती भोगिरहेका छन् । गैंडाकोट नगर प्रमुख छत्र पौडेलले राजमार्गका पुल, कल्भर्ड भत्काएर अलपत्र छोडेका कारण यात्रुले दुःख पाएको बताए ।

प्रकाशित : आश्विन ३०, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?