कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घण्टौं जामले हैरानी

क्षतविक्षत सडक र धेरै स्थानमा एकतर्फी मात्रै सवारी सञ्चालनमा आएकाले घण्टौंसम्म जामको सास्ती खेप्दै यात्रु र चालक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
माधव अर्याल

पाल्पा — तराईबाट पहाड जोड्ने छोटो दूरीको सडकमध्येमा पर्छ सिद्धार्थ राजमार्ग । यो राजमार्ग भएर रूपन्देहीबाट गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, अर्घाखाँची, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्म पुग्न सकिन्छ ।

घण्टौं जामले हैरानी

भारतीय सीमा सुनौलीदेखि १ सय २० किलोमिटरमा गण्डकी प्रदेशको राजधानी पोखरा पुगिन्छ तर समयमै सडक मर्मत नगर्दा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन् । वर्षायाम होस् वा हिउँद, जहिलेसुकै सिद्धबाबा क्षेत्रमा यात्रु र चालकले हैरानी खेप्नुपर्छ ।

पछिल्लो केही महिनायता सडकमा खसेको पहिरो हटाउने कामसमेत अहिलेसम्म भएको छैन । ठाउँ–ठाउँमा सडक भासिएको छ । यसका कारण चालक र यात्रुले जोखिम र सास्ती बेहोर्दै यात्रा गर्नुपरेको बताउँछन् चालक शिव शेरचन । उनका अनुसार अहिले काठमाडौंबाट पाल्पा पुग्दा कम्तीमा ४ देखि ६ घण्टा जाममा बस्नुपर्छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा जामको हैरानी खेपेका उनले सिद्धार्थ राजमार्गमा कम्तीमा ४ घण्टा जाममा बस्नुपरेको सुनाए । ‘दाउन्ने अनि यहाँको जाम, नहिँडी हुँदैन, हिँडौं हैरानी मात्रै छ,’ उनले भने, ‘एक दिन होइन, महिनौंदेखि यस्तै समस्या छ ।’ शेरचनको मात्र होइन, केही महिनायता सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हरेकको यस्तै अनुभव छ ।

विशेष गरी यस राजमार्गको बर्तुङ–चिडियाखोला सडक खण्ड क्षतविक्षत बनेको छ । यस वर्षको वर्षायाममा धेरै स्थानमा सडक भासिएकाले पनि यातायात सञ्चालन एकतर्फी हुँदा जामको हैरानी खेप्नुपरेको हो । ‘बुटवल पुगेर तानसेन फर्किन ४ देखि ६ घण्टाको समय छुट्याए हुन्छ,’ जिप चालक सुमित कुँवरले भने, ‘घण्टौं जाममा फस्नु सामान्य भइसकेको छ ।’ राजमार्गको चिडियाखोला नजिकै कदमबास, सिद्धबाबा क्षेत्र, ड्यामसाइड, पैठेडाँडामा सडक भासिएको छ । यस्तै, भूतखोला, झुम्सा, पानीमिल, चौबीस माइलमा पनि सडक भासिएर यातायात एकतर्फी मात्रै सञ्चालनमा छ । सडक कहिलेसम्म मर्मत हुने हो कुनै ठेगान छैन ।

सडक डिभिजन कार्यालय, पाल्पाले भने भासिएको सडक यस वर्ष नबन्ने जनाएको छ । ‘पहिरो सफा गर्न बजेट छ,’ सडक डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले भने, ‘तर भासिएको सडक बनाउन बजेट छैन । अहिले आउनेजस्तो अवस्था पनि देखिएको छैन ।’

चुनढुंगा खानी सञ्चालनमा रहेकाले हाल यो सडक हुँदै दैनिक ८ सयभन्दा बढी टिपर मात्रै आउजाउ गर्छन् । ‘चाडपर्वका मुखमा टिपर सञ्चालनले झनै जाम हुने गरेको छ,’ चालक कुँवरले भने, ‘यस्तै हो भने यस वर्ष झन् दुःख पाउने अवस्था हुन्छ ।’ राजमार्गका केही स्थानमा अघिल्लो वर्षदेखि नै भासिन सुरु गरेको हो । यस वर्ष धेरै स्थानमा दुईतर्फी सवारी सञ्चालन हुन नसक्ने गरी सडक भासिएको छ ।

कतिपय स्थानमा कम्तीमा ५० देखि ८० मिटर लम्बाइमा राजमार्ग भासिएको छ । सडकमा भेटिएका लेन्थमेन सुपरभाइजर जंगबहादुर सुनारले भने, ‘यस वर्षको वर्षातमा सडक धेरै भासियो, पानी धेरै परेकाले सडकको ५० मिटर माथिबाट तिनाउ खोलासम्मै बगेको छ ।’ उनका अनुसार अघिल्लो वर्ष भूतखोला र सिद्धबाबा नजिकै सडक भासिएको थियो ।

भासिएको सडकमा ग्राभेल राख्ने र कटिङ गर्नुपर्ने हुन्छ । यस सडक खण्डमा दैनिक ५ हजारभन्दा बढी सवारीसाधन गुड्छन् । पहाडी भेगमा जाने मालवाहक ट्रक र असोज लागेपछि चुनढुंगा बोक्ने टिपर गुड्ने भएकाले बढी जाम हुने गरेको पाल्पाका ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले बताए ।

प्रकाशित : आश्विन ३०, २०७७ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?