कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मुद्दा नलिन प्रहरीलाई ‘दबाब’

ओमप्रकाश ठाकुर

सर्लाही — अघिल्लो साता सर्लाहीको रामनगर–७ सिसौटको चमार बस्तीमा सामान्य विषयमा भएको झगडा कुटाकुटमा परिणत भयो । ६० वर्षीय महेन्द्र राम गम्भीर घाइते भए । दीर्घरोगीसमेत रहेका उनको उपचारका क्रममा असोज २२ गते ज्यान गयो ।

आफ्ना कार्यकर्ताको कुटपिटबाट ज्यान गएको भन्दै कांग्रेसले ११ जनाको नाम किटान गरेर प्रहरीमा उजुरी दर्ता गराउन खोज्यो । प्रहरीले लिन मानेन । कांग्रेसले प्रहरीमाथि दबाब दिन मृतकलाई सहिद घोषणा र घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग राखी बुधबार प्रदर्शन गर्‍यो । प्रदर्शनमा सहभागी कार्यकर्तासहित जाहेरी लिएर जाँदा प्रहरीसँग झडप भयो । घटनामा १७ प्रदर्शनकारी र ३२ सुरक्षाकर्मी घाइते भए ।

प्रदर्शनकारीतर्फ घाइतेमा अधिकांश महिला छन् । दुईको हात र एक जनाको खुट्टा भाँचिएको छ । रामका परिवारले अझैसम्म शव बुझेका छैनन् । शव वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमै छ । दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने कांग्रेसको अडान छ । यो घटनामा कांग्रेसले राजनीतिक रंग दिन खोजेको सत्तारूढ नेकपाको आरोप छ । सर्लाही क्षेत्र नम्बर ४ मा यस्ता घटनामा पहिलेदेखि नै राजनीति हुँदै आएको छ । यहाँ एक पक्षले अर्को पक्षलाई फसाउने र राजनीतिक रिसिइबी साँध्दै आएका छन् । यस्तोमा प्रहरी पनि दबाबमा पर्ने गरेका छन् । गत असार ११ मा रामनगर–४ का ५५ वर्षीय रामजलमको शव शंकास्पद अवस्थामा फेला पर्‍यो ।

फेला परेको वडाध्यक्ष नरेश महतोले प्रहरीलाई खबर गरे । घटनामा अनुसन्धान गरिरहँदा प्रहरीले वडाध्यक्ष महतोलाई नै नियन्त्रणमा लियो । कांग्रेसबाट निर्वाचित उनी हाल पुर्पक्षका लागि कारागारमा छन् ।

प्रहरीले सत्तापक्षको दबाबका कारण वडाध्यक्षलाई पक्रेर जेल चलान गरेको दाबी रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार वर्माको छ । यही घटनामा पटकपटक कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भइसकेको छ । दुई वर्षअघि वडाध्यक्ष महतोका काका रामविलासको हत्यामा नेकपाका कार्यकर्ता जेल चलान भएपछि उनीहरूको डिजाइनमा वडाध्यक्ष महतोलाई फसाइएको वर्माको आरोप छ । विभिन्न स्वार्थसँग जोडिएर दलका नेता कार्यकर्ताबीच पटकपटक झडप र भिडन्त भइसकेको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?