कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होम आइसोलेसनमा बस्नेलाई बेवास्ता

फातिमा बानु

काठमाडौँ — ललितपुरको एक घरमा सात जना कोरोना संक्रमित छन् । सबैजसोमा लक्षण देखिएको छ । संक्रमण पुष्टि भएको एक साता बितिसके पनि राज्यका तर्फबाट कुनै निगरानी नहुँदा मानसिक समस्यामा छन् ।

होम आइसोलेसनमा बस्नेलाई बेवास्ता

‘हामी एउटा फ्ल्याटमा बस्दै आइरहेका थियौं,’ २४ वर्षीया एक संक्रमितले भनिन्, ‘यो रोग भाइरसको आक्रमणबाट हुन्छ भन्नेबाहेक अरू व्यावहारिक पाटोबारे हामीलाई थाहा छैन, जेसुकै होस् भनेर बसिरहेका छौं ।’ पीसीआर रिपोर्ट पोजिटिभ आउनासाथ अस्पताल जानुपर्ने हो या घरमै भए कसरी बस्नेबारे थाहा नभएको उनीहरूको भनाइ छ ।

उक्त समूहमा मुटुको शल्यक्रिया गरेकी युवती पनि छिन् । उनलाई सुक्खा खोकी, रिंगटा र पखाला लाग्ने भइरहेको छ । बिरामीका लागि अस्पतालमा बेड छैन भन्ने सञ्चारमाध्यमबाट थाहा पाएपछि उपचार गराउन नखोजेको उनले बताइन् । ‘लक्षण कम गर्न के गर्नुपर्छ, के खानुहुन्छ/हुँदैन केही थाहा भएन,’ उनले भनिन्, ‘अपरेसन गरेको मान्छेलाई कोरोनाले च्याप्छ रे, यस्तो भयो भने कहाँ जाने होला ?’ कोभिड–१९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्डमा लेखिएको भए पनि उनीहरू यसबारे जानकार छैनन् ।

कालीमाटीमा तरकारी व्यवसाय गर्दै आइरहेका ३४ वर्षीय पुरुष चार दिनदेखि संक्रमित भएर घरमै बसेका छन् । परिवारमा १० भन्दा बढी सदस्य छन् । कोठा सीमित छन् । शौचालय एउटा मात्रै छ । ‘के खानुपर्छ, गाह्रो भए कसलाई बोलाउने केही थाहा छैन,’ उनले भने, ‘मास्क लगाएर बाहिर जान मिल्छ होला भनेर हिँडे पनि ।’ काठमाडौंको एक होस्टेलमा १२ जना कोरोना संक्रमित छन् । ‘कसैलाई लक्षणसमेत छ,’ एक संक्रमितले भनिन्, ‘बस्नेखाने तरिकाबारे पनि थाहा भएन ।’

कोभिड–१९ संक्रमितको आइसोलेसनसम्बन्धी मापदण्डअनुसार होम आइसोलेसनमा बसेका बिरामी स्थानीय तहको नियमित निगरानीमा हुनुपर्छ । स्थानीय तहका स्वास्थ्यकर्मीले घरमा बसेका संक्रमितलाई दिनमा कम्तीमा दुई पटक फोन या एसएमएस गरेर स्वास्थ्य अवस्थाको जानकारी राख्नुपर्छ । निर्देशिका व्यवहारमा लागू नहुँदा संक्रमितहरू अलमलिएर बसिरहेका छन् ।

कान्तिपुरसँग सम्पर्कमा आएका २५ जनाभन्दा बढी संक्रमितले स्थानीय तहबाट कुनै फोन नआएको र मन्त्रालयको हटलाइनमा फोन गर्दा ‘आफ्नै वडामा सोध्नुस्’ भन्ने जवाफ पाएको बताए । घरमा रहेका संक्रमितहरूको अनुगमनका लागि हरेक स्थानीय तहले ५० जना संक्रमित बराबर एक जना स्वास्थ्यकर्मी व्यवस्था गरेको छ । निर्देशिकामा संक्रमितलाई श्वासप्रश्वासमा कठिनाइ, छाती दुख्ने, होस हराए या जटिल अवस्था आए स्थानीय तहका स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्ने उल्लेख छ । संक्रमितको निगरानीमा खटिएका स्वास्थ्यकर्मीलाई सरकारले प्रतिबिरामी २ सय रुपैयाँ भत्ता व्यवस्था पनि गरेको छ ।

अलमलका कारण संक्रमितहरूले मानसिक रूपमा पनि उत्तिकै तनाव झेलिरहेका छन् । होम आइसोलेसनका संक्रमितलाई निगरानी गर्ने सवालमा काठमाडौं र ललितपुरका स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीले कामै नगरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रकाशित : आश्विन ३०, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?