कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुनसान छ सपनाको गन्तव्य !

आश गुरुङ

लमजुङ — हिमाल फेदको कञ्चन हावापानी । कलकल बगेको मर्स्याङ्दी । हिमशिखर देखिने नीलो आकाशको छाया हिमतालमा परेको छ । हिउँचुली र तालको क्षितिजलाई हेर्न बर्सेनि पदयात्रीको ओइरो लाग्ने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान छ तर अन्तर्राष्ट्रियस्तरमा भने यहाँको चिया र भोजनको वर्णन गरिएको छ ।

सुनसान छ सपनाको गन्तव्य !

पर्यटकीय गन्तव्यबारे जानकारी दिने विश्वकै चर्चित ट्राभल गाइडबुक ‘लोन्ली प्लानेट’ ले चक्रीय अन्नपूर्णलाई पदयात्रीका लागि सपनाको गन्तव्य भनेको छ । उसले चक्रीय अन्नपूर्ण पदमार्गलाई विश्वभर पदयात्राका लागि उत्कृष्ट १० मा समेटेको छ । लोन्ली प्लानेटले ‘पैदल यात्रा गर्ने, गम्भीर पदयात्रा गर्ने र पदयात्रीका लागि सपनाको गन्तव्य, अद्भुत पहाड र लुकेका पहाडमा गाउँ छन्’ भनी बयान गरेको छ । यहाँको भोजन र मीठो चियाका भाँडा प्रदान गर्ने आकर्षक लजहरू छन् । तिलिचो ताल र ङावलको गाउँको बयान उसले गरेको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा छोटोदेखि एकमहिने लामो यात्रा गर्न सकिने पदमार्ग रहेको र जुन विश्वकै रोमाञ्चकारी रहेको लोन्ली प्लानेटले वेबसाइटमा राखेको छ ।

पर्यटन व्यवसायी त्रिपल पी गुरुङ चक्रीय अन्नपूर्ण पदमार्गले नेपालको गौरव बढाएको दाबी गर्छन् । ‘अन्तर्राष्ट्रियस्तरमा भएको चर्चाबारे सरकारले गम्भीर रूपमा लिनुपर्छ । यो राज्यको सम्पत्ति हो,’ उनले भने, ‘अरूको कुरालाई हामी पछ्याउन सकिरहेका छैनौं ।’ चक्रीय पदमार्गबारे लोन्ली प्लानेटले गरेको वर्णनलाई उनले सकारात्मक रूपमा लिएका छन् । ‘अहिले कोरोना जोखिम छ । सरकारले दीर्घकालीन योजना बनाओस् । छुट्टै नीति बनाओस् । पदमार्गमा जाने र सुरक्षित हुने वातावरण तय गरोस,’ उनले भने ।

लोन्ली प्लानेटले पदयात्रा रुचाउने आफ्ना पाठकलाई आगामी वर्षका लागि चक्रीय अन्नपूर्ण पदमार्गमा साहसिक यात्रा गर्ने तयारी गर्न भनेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने यो मार्ग लमजुङको बेंसीसहरबाट सुरु भएर मनाङ हुँदै पदमार्गको ५ हजार ६ सय १६ मिटर उचाइमा अवस्थित भन्ज्याङ थोराङ–ला पार गरी मुस्ताङ, म्याग्दी भएर पोखरा पुगेर टुंगिन्छ । यात्रामा अग्लो ठाउँमा अवस्थितमध्येको एक तिलिचो ताल हो । यो समुद्र सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा पर्छ । यहाँ गएकाहरू थोराङ–ला चढ्छन् वा पुनः गएको बाटो फर्किन्छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार तिलिचो पुग्ने र थोराङ–ला पुग्नेले साहसिक अनुभूति गर्छन् ।

सन् १९८६ मा स्थापना भएको एक्यापले औपचारिक रूपमा १९९२ देखि अन्नपूर्ण क्षेत्रमा आएका विदेशीको तथ्यांक राख्न थालेको हो । पछिल्लो वर्ष सन् २०१९ मा १ लाख ८१ हजार विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । चक्रीय अन्नपूर्ण पदमार्गमा सन् २०१९ मा २७ हजार ५१ पर्यटक भित्रिएको एक्यापको तथ्यांक छ । एक्यापका निर्देशक राजकुमार गुरुङका अनुसार एक्याप क्षेत्रमा भित्रिएका पर्यटकले यहाँका बासिन्दालाई रोजीरोटी चलाउने मात्रै नभएर कमाउने बनाएका छन् ।

लोन्ली प्लानेटले उत्कृष्ट १० भित्र चक्रीय अन्नपूर्ण पदमार्गलाई समेट्दा लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पर्यटन व्यवसायी रामकुमार श्रेष्ठले गौरवको अनुभूति गरे । ‘पहिले पनि हामी उत्कृष्ट १० औं नम्बरमा थियौं । मनाङसम्म मोटर पुगेपछि हट्यो । अहिले लोन्ली प्लानेटले राख्यो । यो सौभाग्य हो,’ उनले भने, ‘प्रकृतिले हामीलाई विश्वमाझ चिनाइरहेको छ । यसको प्रयोग गर्न जान्नुपर्छ ।’ सरकारले पर्यटनलाई पहिलो उद्योगका रूपमा विकास गर्नुपर्ने र सबै विकास पर्यटनमैत्री हुनुपर्ने उनले बताए ।

चक्रीय अन्नपूर्ण पदमार्गको फेरो पदयात्रा गर्नलाई २१ दिनको प्याकेज हो । मनाङ र मुस्ताङसम्म मोटरबाटो बनाइएपछि अहिले दूरी एक सातामा छोटिएको छ । हिँडेरै यात्रा गर्नेका लागि २१ दिनमा उनीहरू मनाङ–मुस्ताङ हुँदै पोखरा झर्छन् । मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ चक्रीय अन्नपूर्ण पदमार्गलाई अझै सरकारले विश्वबजारमा पुर्‍याउन नसकेको गुनासो गर्छन् ।

प्रकाशित : आश्विन ३०, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?