पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन

जासुसीको आरोप पुष्टि भए १४ वर्षसम्म कैद सजाय हुन सक्ने
सुरेशराज न्यौपाने

नयाँदिल्ली — दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई पक्राउ गरेको औपचारिक जानकारी दियो ।

पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन

ती गोप्य सूचना प्राप्त गर्न शर्माका ‘मतियारको भूमिका खेलेका’ दुई विदेशीलाई पनि पक्राउ गरिएको प्रहरीले सुनायो । पक्राउ परेका दुई विदेशीमा क्विङ सी नामकी चिनियाँ महिला र उनका सहयोगी नेपाली नागरिक राज भनेर चिनिने शेरसिंह बोहरा भनी खुलाइएको थियो । उनीहरूमाथि भारतविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आरोप पुष्टि भए सरकारी गोपनीयता कानुनबमोजिम १४ वर्षसम्म कैद हुन सक्छ ।

दिल्ली प्रहरीको विशेष सेलले अन्य मुलुकका लागि सुराकी गरेको भन्दै पत्रकार शर्मालाई सेप्टेम्बर १४ मा पक्राउ गरेको थियो । उनीमाथि चिनियाँ जासुसहरूलाई गोप्य सूचना पुर्‍याएको आरोप लगाएको थियो । शर्मालाई चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई समाचार पठाउने नाममा सीमा सुरक्षासम्बन्धी संवेदनशील जानकारी दिएको आरोप लगाइएको छ । कर छल्न खोलिएका एमजेड फार्मेसी र एमजेड मल्स नामका दुई सेल कम्पनीबाट शर्मालाई समाचारको भुक्तानी हुँदै आएको प्रहरीको दाबी छ ।

दिल्ली प्रहरीका अनुसार ती दुई कम्पनीमध्ये औषधि सप्लायर्स कम्पनीका सञ्चालक बोहरा थिए । कम्पनीको सबै कारोबार दिल्लीको महिपालपुरस्थित कार्यालयबाट हुँदै आएको प्रहरीको भनाइ छ । बोहरालाई सुरुमा १४ दिन दिल्ली प्रहरी हिरासतमा राखिएको थियो । पछि अदालतको अनुमति लिएर उनलाई थप अनुसन्धानका लागि भन्दै तिहाड जेलमा राखिएको छ ।

कान्तिपुरलाई प्राप्त दस्तावेजअनुसार २५ वर्षीय बोहराको खास नाम शेरबहादुर बोहरा हो । उनी कञ्चनपुर जिल्लाको लक्ष्मीपुर निवासी हुन् । पारिवारिक स्रोतका अनुसार उनी आठ वर्षदेखि दिल्लीमा बस्दै आएका थिए । उनले डेढ वर्षअघि विवाह गरेकी श्रीमती गाउँमै बस्छिन् । बोहरा पक्राउ परेको केही दिनमै उनकी श्रीमतीले छोरी जन्माएकी थिइन् । सुरुमा पर्यटकलाई गाडीमा घुमाउने गरेका उनी दुई वर्षदेखि चिनियाँ कम्पनीमा आबद्ध थिए । दिल्ली प्रहरीले उनलाई कम्पनीको निर्देशक भएको दाबी गरे पनि उनको काम सामान्य कर्मचारीको मात्र रहेको परिवारको दाबी छ ।

दिल्ली प्रहरीले पत्रकार सम्मेलन गरेर नेपाली नागरिक पक्राउ गरेको बताए पनि भारत सरकारले त्यसको औपचारिक जानकारी दिल्लीस्थित दूतावासलाई दिएको छैन । कूटनीतिक मामिलासम्बन्धी भियना अभिसन्धिअनुसार विदेशी नागरिकलाई कुनै अपराधमा पक्राउ गरिएको छ भने त्यसको जानकारी तत्काल सम्बन्धित मुलुकको दूतावास वा नियोगलाई गराउनुपर्छ । पक्राउ परेका विदेशी नागरिकले मागेको खण्डमा कानुनी परामर्शको सेवा पनि उपलब्ध गराउनुपर्ने व्यवस्था उक्त अभिसन्धिमा छ । भारत र नेपाल त्यसका पक्ष राष्ट्र हुन् ।

भारतको गृह मन्त्रालयले एक वर्षअघि जारी गरेको परिपत्रमा पनि कुनै विदेशी नागरिकलाई हिरासतमा लिनासाथ तत्कालै सम्बन्धित मुलुकको दूतावासको कन्सुलरलाई जानकारी दिनुपर्ने उल्लेख छ । ‘प्रहरीले सार्वजनिक रूपमा नेपाली नागरिकलाई पक्राउ गरेको बताए पनि दूतावासलाई औपचारिक जानकारी आएको छैन,’ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले भने ।

नेपाल सरकारले पनि आफ्ना नागरिकका विषयमा चासो देखाएको देखिँदैन । जबकि बोहराको परिवारले रिहाइका लागि सरकार, दिल्लीस्थित दूतावास र सम्बन्धित निकायलाई आग्रह गरेको छ । परिवारका तर्फबाट भाइ नरेशले असोज १७ मा कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ प्रधानमन्त्री कार्यालय, परराष्ट्र र गृह मन्त्रालय, सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालय र दिल्ली दूतावासलाई समेत पठाइएको थियो । तर यी कुनै पनि निकायले चासो राखेका छैनन् ।

प्रवासी नेपाली संगठनहरूले भने यस विषयमा सोधपुछ गर्ने गरेका छन् र उनीहरूले नै दूतावासलाई त्यस विषयमा पहल गर्न आग्रह गर्दै आएका छन् । अखिल भारतीय नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बोहरा पक्राउका सम्बन्धमा दूतावासलाई जानकारी गराएको बताए । ‘दोषी हो भने त यहाँको कानुनअनुसार सजाय होला तर निर्दोष व्यक्ति बिनासर्त तत्काल रिहाइ हुनुपर्छ भन्ने हाम्रो माग हो र त्यसका लागि दूतावासले पनि पहल गर्नुपर्छ,’ उनले भने । उनले बोहरामाथि भारतीय प्रहरीले लगाएको आरोपको निष्पक्ष छानबिनको ग्यारेन्टी हुनुपर्ने मागसमेत गरेका छन् ।

विगतमा पनि भारतीय पक्षबाट दूतावासलाई तत्काल जानकारी गराइएका घटना विरलै छन् । जसले गर्दा समस्यामा परेका नेपालीबारे दूतावास लामो समयसम्म बेखबर हुने गरेको छ । कतिपय घटनाको जानकारी पाए पनि दूतावासले बेवास्ता गरेका उदाहरण पनि छन् । प्रवासमा रहेका नेपाली संगठनहरूले समेत नेपालीसँग सम्बन्धित विषय तथा घटनाबारे भारतीय पक्षले दूतावासलाई जतिसक्दो चाँडो जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् ।

‘भारतीय पक्षबाट नेपाली दूतावासलाई समयमै जानकारी गराए नेपालीले अनावश्यक झमेला र पीडा व्यहोर्नुपर्दैन । यसले दुई देशबीच विश्वासको वातावरण बनाउन पनि सहयोग मिल्छ,’ खड्काले भने ।

प्रकाशित : आश्विन ३०, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?