२ सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक (नामावलीसहित) - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक (नामावलीसहित) 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न समयमा मानवअधिकार उल्लंघन गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । आयोगले बिहीबार २ सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको हो ।

राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष अनुपराज शर्माले २० वर्षमा गरेका कामको समीक्षासहितको आयोगको प्रतिवेदन सार्वजनिक गर्दै मानवअधिकार उल्लंघनकर्ताहरूको नाम सार्वजनिक गरेको हो ।

तत्कालीन माओवादीले गरेको सशस्त्र विद्रोहसहित विभिन्न समयमा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरूको नाम आयोगले सार्वजनिक गरेको हो । आयोगको प्रतिवेदनमा २८६ जना मानवअधिकार उल्लंघनकर्ताहरुको विवरण उल्लेख गरिएको छ ।

आयोगले नाम सार्वजनिक गरेका २ सय ८६ मानवअधिकार उल्लंघनकर्ताहरूमध्ये निजामती कर्मचारी १६, नेपाल प्रहरी ९८, नेपाली सेना ८५, सशस्त्र प्रहरी ८, नेकपा माओवादी ६५, शिक्षक ४, चिकित्सक २, मावअधिकारकर्मी १ र अन्य ७ जना रहेका प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, यसबीचमा आयोगले सिफारिस गरेका एक हजार १ सय ९५ जना मानवअधिकार उल्लंघनकर्ताहरूको अवस्था पनि उल्लेख गरेको छ । जसमा ७ सय ७९ जना राज्यपक्षका, २ सय ८७ जना माओवादी पक्षका, सरकार र माओवादी संयुक्त ३८ जना, प्रतिकार समूहका २३ जना, शिक्षक १६ जना, अन्य ५२ जना रहेका छन् ।

आयोगले नाम उल्लेख गरेका व्यक्तिहरूमा ठूलो संख्यामा सुरक्षा निकायका अधिकारीहरू रहेका छन् । उनीहरूले तत्कालीन अवस्थामा मानवअधिकार उलंघन गरेको आयोगको प्रतिवेदनमा लेखिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको पूर्णपाठ:

प्रकाशित : आश्विन २९, २०७७ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

शिव पुरी

रौतहट — डेढ साताअघि रौतहटको बृन्दावन नगरपालिका-४ मा एक बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । 

गढिमाई नगरपालिका १ समनपुर घर भएकी १४ वर्षीया बालिका सन्जाकुमारी साहको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले ४५वर्षीय चुनु साहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

असोज १६ गते घर नजिकैको उखुबारीमा घाँस लिन गएकी बालिकालाई गाउँकै ४५ वर्षीय चुनु साहले बलात्कार गरेका थिए । बालिकाले अभिभावकलाई भन्ने डरले चुनुले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।

‘बालिकालाई सुरुमा फकाए छ । त्यसपछि बलात्कार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने,‘घट्ना सार्वजनिक हुने डरले बालिकाको हत्या गरेको रहेछ ।’

बालिकाको हत्या गरी साह फरार थिए । बालीका वृन्दावन नगरपालिका-४ पलटुवास्थित मामा बैनाथी साहको घरमा बस्दै आएकी थिइन् । स्थानिय होसनारायण यादवको उखु खेतमा सन्जालाई मृत अवस्थामा गाउँकै बालक अखिलेश यादवले देखेर गाउँलेलाई खबर गरेका थिए । घटनाको ६ दिनपछि चुनुलाई प्रहरीले पक्राउ गरेको थियो ।

बालिकालाई बलात्कार पछि हत्या गरेको चुनुले स्वीकारेको एसपी शाहले बताए ।

पक्राउ परेका साहलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : आश्विन २९, २०७७ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×