कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हुसुरडाँडा बन्यो बहराइन पिक

हरिराम उप्रेती

गोरखा — मनास्लु हिमाल आरोहणका लागि आएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफालाई चुमनुब्री गाउँपालिका–१ सामागाउँवासीले गत मंगलबार भव्य स्वागत गरे । स्थानीय पोसाक लगाइदिए । परम्परागत नृत्य देखाए । त्यति मात्रै होइन स्थानीय एक डाडाँको नाम नै बहराइनको राजपरिवारको नामबाटै नामकरण गरिदिए ।

हुसुरडाँडा बन्यो बहराइन पिक

सामागाउँवासीले स्थानीय हुसुरडाँडालाई ‘रोयल बहराइन पिक’ नामकरण गरेका हुन् । ‘हामीले दिन सक्ने केही छैन,’ स्थानीय मिङ्मार लामाले भने, ‘विशिष्ट पाहुना पाल्नुभएको छ, उहाँलाई खुसी पार्न र सम्मानका लागि डाँडाको नामकरण गरेका हौं ।’ बहराइनका राजकुमार आउँदा विशिष्ट सम्मान र कोसेलीस्वरूप डाँडाको नामकरण गरिएको स्थानीयको भनाइ छ ।

जसका कारण यहाँको पर्यटन क्षेत्रको विकास हुने अपेक्षा पनि राखेका छन् । ‘जमिन नै दिएका होइनौं, डाँडाको नाममात्र नामकरण भएको हो,’ लामाले भने, ‘राजपरिवारको सदस्यजस्तो मान्छे हाम्रो गाउँ आइपुग्नुभएको छ, माया र सद्भावका लागि हामीले दिन सक्ने सम्मान दिएका हौं ।’

स्थानीय अगुवाको सल्लाहमा डाँडाको नामकरण गरिएको हो । उक्त डाँडा झन्डै ५ हजार मिटर उचाइको रहेको उनले बताए । ‘यहाँको पोसाक (छुवा) लगाएर सम्मान गरेपछि उहाँ साह्रै खुसी हुनुभएको थियो, डाँडाको नाम नै राखिदिएको बताएपछि त झनै खुसी हुनुभयो,’ उलने भने, ‘हेलिकप्टर लिएर डाँडाको परिक्रमासमेत गर्नुभयो, फर्किएर आएपछि पनि खुसी लागेको प्रतिक्रिया दिनुभयो ।’

यसअघि पनि उत्तरी गोरखाका विभिन्न ठाउँका नाम त्यहाँ पुगेका विशिष्ट व्याक्तिको नामबाट राखिएको छ । सामागाउँ भ्रमणमा पुगेका तत्कालीन राजा वीरेन्द्रको नाममा स्थानीय तालको नामकरण भएको थियो । ‘राजाजस्तो विशिष्ट पाहुना आउँदा यसरी नामकरण गर्ने परम्पराजस्तै छ,’ उनले भने, ‘धेरै पहिले राजा वीरेन्द्र आउँदा स्थानीय एक तालको नाम ‘वीरेन्द्र ताल’ राखिएको थियो, अहिले यहाँ आएका पर्यटक वीरेन्द्र ताल भन्दै हेर्न जान्छन् ।’

२०७२ वैशाख १२ को भूकम्पले प्रभावित धार्चे गाउँपालिका–७ लापुको एक विद्यालय निर्माणका लागि श्रमदान गर्न आइपुगेका बेलायती राजकुमार ह्यारीको नामबाट पनि यहाँस्थित एउटा डाँडाको नाम राखिएको थियो । ह्यारीले प्रभात किरण माविको भवन निर्माणका लागि ५ दिन श्रमदान गरेका थिए । उनको सम्मानमा लापुवासीले स्थानीय तम्बु डाँडालाई ‘ह्यारी हिल’ नामकरण गरेका थिए ।

ह्यारी हिलमा अहिले पूर्वाधार निर्माणसमेत भएको छ । ‘यसरी नामकरण गर्दा पर्यटक आउँदो रहेछ,’ स्थानीय जीव तमुले भने, ‘फेरि सम्बन्ध पछिपछिसम्म रहिरहन्छ ।’ तत्कालभन्दा पनि दीर्घकालीन रूपमा पनि यसले पर्यटन विकासमा फाइदा पुर्‍याउने उनको भनाइ छ ।

विशिष्ट व्यक्तिको नामबाट नामकरण गर्दा चर्चा बढी हुने र पर्यटक आवागमनमा वृद्धिसमेत हुने स्थानीयको अपेक्षा छ । बहराइनका राजकुमारसहितको टोलीले बिहीबार बिहान ८,१६३ मिटर उचाइको मनास्लु हिमालको सफल आरोहण गरेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २९, २०७७ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?