गाउँ भित्रिने बढे, सावधानी छैन

मुगु, कालिकोट, सल्यान — मुगुमकार्मारोङस्थित महगाउँका ४५ वर्षीय पुरुष शनिबार नेपालगन्जबाट जिपमा मुगु पुगे । उनलाई गमगढी पुगेपछि कोरोना संक्रमण भएको पुष्टि भयो । नेपालगन्जमा पीसीआर परीक्षणका लागि स्वाब दिएका उनी रिपोर्ट नआउँदै मुगु पुगेका हुन् ।

गाउँ भित्रिने बढे, सावधानी छैन

अहिले उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । गत साता मुगु पुगेका छायानाथ रारा नगरपालिकाका एक कर्मचारीले पनि नेपालगन्जबाट गमगढी पुगेपछि मात्र आफू संक्रमित भएको थाहा पाएका थिए ।

सार्वजनिक सवारीसाधन सञ्चालनमा आएपछि जिल्ला बाहिरबाट गाउँ फर्कनको संख्या बढेको छ । तर स्थानीय सरकारले सावधानी नअपनाउँदा संक्रमितहरू धमाधम गाउँ पसिरहेका छन् । भारत तथा देशभित्रैबाट आउनेमध्ये अधिकांश पीसीआर परीक्षण नगरेरै गाउँ फर्किरहेका छन् । परीक्षण गराएर हिँडेकाहरू केहीलाई मुगु पुगेपछि मात्र संक्रमित भएको जानकारी आउने गरेको छ । अहिले झन्डै दैनिक २ सय जना मानिसहरू गमगढी आइरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।

बाहिरबाट आएका तीन जनामा संक्रमण पुष्टि भएपछि पुनः पीसीआर परीक्षणका लागि स्वाब जुम्ला पठाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए । उनका अनुसार संक्रमित व्यक्ति भित्रने जोखिम बढेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्लामै पीसीआर मेसिन नहुँदा परीक्षणमा समस्या भएको उनले गुनासो गरे । दसैं नजिकिएसँगै बाहिरबाट आउनेहरू बढेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । ‘गाडी खुलेपछि झन् जोखिम बढ्यो,’ उनले भने, ‘स्थानीय तहलाई जिल्ला भित्रिएकालाई क्वारेन्टाइनमा बसाउन आग्रह गरेका छौं ।’ बाहिरबाट फर्किएकाको पीसीआर परीक्षण गर्न मातहतका निकायलाई निर्देशन दिएको उनले बताए ।

काठमाडौंमा अध्ययनरत कालीकोटको खाडाचक्र–१ का नमराज विश्वकर्मा दुई साताअघि घर फर्किए । सिधै घर गएका उनलाई पाँच दिनदेखि ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएको छ ।

जिल्ला अस्पतालमा स्वास्थ्य जाँच र स्वाब दिन गए पनि अस्पताल बन्द हुँदा उनले सेवा पाएनन् । केही स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि एक सातादेखि अस्पताल बन्द छ । ‘कोरोना लाग्यो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘त्यसैले घरमा सोमबारदेखि एक्लै बस्न थालेको छु ।’ उनले शंकास्पद बिरामीको समेत स्वाब परीक्षण नहुँदा गाउँमा कोरोना संक्रमण बढ्दै गएको बताए ।

असार–साउनमा करिब १ सय जनामा कोरोना संक्रमण भएको कालीकोटमा भदौको दोस्रो साता संक्रमितको संख्या शून्यमा झरेको थियो । असोज लागेयता कोरोना संक्रमितहरू थपिएका थपियै छन् । सुर्खेतबाट घर फर्किएको तीन दिनपछि ज्वरोले थला परेका खाडाचक्र–३ का एक युवकमा परीक्षणका क्रममा संक्रमण पुष्टि भयो । उनी अहिले जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भए पनि उनीसँग सम्पर्कमा आएकाको स्वाब संकलन हुन सकेको छैन ।

स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक र समुदायका व्यक्तिमा कोरोना संक्रमण बढ्दै गएको खाडाचक्र नगरपालिकाका स्वास्थ्यकर्मी रवीन्द्र सेजुवालले बताए । उनका अनुसार संक्रमण बढेपछि भारतबाट फर्किएका र सक्रिय संक्रमितको ‘क्लोज कन्ट्याक्ट ट्रेसिङ’ मा रहेकालाई मान्मस्थित सनलाइट होटलको क्वारेन्टाइनमा राख्न थालिएको छ । ‘दसैंका बेला सबै घर फर्किन्छन्, सबैलाई क्वारेन्टाइनमा राख्न सकिन्न,’ उनले भने, ‘व्यक्ति आफैं सचेत भएर होम क्वारेन्टाइनमा बस्नुपर्छ ।’ उनले स्वास्थ्य सतर्कता नअपनाउँदा गाउँगाउँमा संक्रमण फैलिएको बताए । बाहिरबाट फर्किएकालाई निर्बाध रूपमा घर पठाउँदा कोरोना संक्रमणको जोखिम बढिरहेको नागरिक अगुवा कालीबहादुर मल्लले बताए ।

जिल्लाका ९ वटै स्थानीय तहले भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्ने गरे पनि अन्य जिल्लाबाट आउनेलाई सिधै घर पठाउने गरेका छन् । भारतमा बढी जोखिम भएकाले त्यहाँबाट फर्किनेलाई कडाइ गरिएको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनका अनुसार गाउँपालिकाबाट भारत गएका करिब ९ सय जना घर फर्किसकेका छन् । दसैं नजिकिएपछि भारतभन्दा विभिन्न जिल्ला र सहरबाट घर फर्किनेको संख्या धेरै रहेको प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग हुँदै दिनमा २ देखि ३ सय जना जिल्ला भित्रिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज आनसिंह भण्डारीले बताए ।

सल्यानको बन्गाडकुपिण्डे नगरपालिकाले भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाउन थालेको छ । सामुदायिक विद्यालयमा स्थापना गरिएका क्वारेन्टाइन हटेपछि बाहिरबाट फर्किएकाहरू घर जान थालेका हुन् ।

सार्वजनिक यातायातका साधनमा फर्किएकाहरू सिधै घर जान थालेपछि कडाइ नगरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए । उनले भारतको मुम्बई, नासिक, मद्रास र गुजरातबाट नगरवासीहरू फर्किरहेको जनाए । उनका अनुसार बाहिरबाट आएकालाई १४ दिनको होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

भारतबाट आएकालाई यसअघि विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको थियो । पठनपाठन सुरु गर्ने तयारीका लागि नगरपालिकाले क्वारेन्टाइन हटाएको छ । स्थानीय सरकारको बेवास्ताले गाउँमा संक्रमणको जोखिम बढिरहेको स्थानीय नन्दराम बोहराले बताए ।

प्रकाशित : आश्विन २९, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?