निको हुने दर नबढे उपत्यकामा बेड अभाव

विज्ञ भन्छन्– परीक्षणमा वृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालनालगायत प्रक्रिया दुई साता कडाइका साथ पालना भए संक्रमणको दरमा कमी आउन सक्छ ।
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ संक्रमणको दरमा तत्काल क्रमिक रूपमा सुधार नभए काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा बेड अभाव हुने देखिएको छ । अस्पतालमा भर्ना हुने र डिस्चार्ज हुने दरमा सन्तुलन ल्याएर मात्र बेड पाउने अवस्था आउन सक्छ ।

निको हुने दर नबढे उपत्यकामा बेड अभाव

उपत्यकामा बुधबारको तथ्यांकअनुसार सरकारी अस्पतालको आईसीयूमा ८३ जना र भेन्टिलेटरमा ३० जना कोभिडका बिरामीको उपचार भइरहेको छ । यस्तै निजी अस्पतालको आईसीयूमा ४४ जना र १९ जना भेन्टिलेटरमा छन् । हाल सरकारी अस्पतालमा कोभिडका लागि १५०८ वटा आइसोलेसन, २२५ वटा आईसीयू र १२० वटा भेन्टिलेटर छुट्याइएको छ । उपत्यकाको सरकारी स्वास्थ्य संरचनामा जनरल बेड भने ३४७६ वटा छन् । सरकारी अस्पताललाई कोरोना अस्पतालमा परिणत गर्ने निर्णय भएपछि अरू बिरामीको व्यवस्थापन झन् कठिन बनेको छ ।

मुलुकमा बुधबार कोभिड संक्रमणको दर १८.९१ प्रतिशत छ । मंगलबार २२.८२, सोमबार २७.८५, आइतबार १६.६६, शनिबार २५.९२ र शुक्रबार १५.५० प्रतिशत थियो । पछिल्लो केही सातादेखि मुलुकमा दिनहुँ पुष्टि हुने संक्रमणको आधाभन्दा बढी उपत्यकामा देखिने गरेको छ । लामो समयसम्म दुई प्रतिशतभन्दा कम रहेको संक्रमण दर पछिल्ला दिनमा अत्यधिक बढेको छ । हाल संक्रमण दरसमेत ९.६६ प्रतिशत पुगिसकेको छ । ‘अहिलेको आवश्यकताअनुसार सरकारी अस्पतालमा बेड पुग्छ, पुर्‍याइन्छ’, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘अहिलेको संक्रमण दर ओरालो नलागे वा उक्लिँदै गएमा राजधानीको सरकारी अस्पतालमा बेड पुर्‍याउन सम्भव हुन्न ।’

कोभिड संक्रमणको दर २ प्रतिशतसम्म रहिरहे स्वास्थ्य सेवा प्रणालीमा दबाब कम हुन्छ । त्यसबेला संक्रमितलाई समेत जोखिम कम हुन्छ तर संक्रमणको दर १२ प्रतिशतभन्दा माथि जाँदा नियमित स्वास्थ्य सेवा प्रणाली प्रभावित हुन थाल्छ । त्यसबेला बिरामीले तोकिएको समयमा उपचार पाउन सक्दैनन् । अहिले साप्ताहिक रूपमा हेर्दा संक्रमणको दर १२ प्रतिशतभन्दा माथि गइसकेकाले स्वास्थ्य प्रणालीमा परेको अत्यधिक दबाब थेग्न कठिन भएको छ । ‘अब संक्रमणको दर त्योभन्दा माथि जाने संकेत देखिएको छ,’ डा.अधिकारी भन्छन्, ‘जनस्वास्थ्यको मापदण्ड कडाइसाथ पालना गरेर संक्रमित हुनेहरूको अनुपातमा कमी ल्याउनुपर्छ ।’ अस्पताल भर्ना भएका कोभिडका बिरामी सरदर १४ दिन अस्पताल बसेको तथ्यांक छ ।

जनस्वास्थ्यका उपाय अपनाएर संक्रमणको विस्तारमा कमी नल्याए अस्पतालमा बेड पाउन सक्ने अवस्था रहँदैन । ‘एक जना बिरामी भर्ना भएपछि एउटा बेड सरदर १४ दिनसम्म ओगटिन्छ,’ डा. अधिकारी भन्छन्, ‘यसैले लक्षण भएका बिरामीले सहज उपचार सेवा पाउन, अस्पतालमा रोगी भर्ना र डिस्चार्ज हुने अनुपातसँगै कोभिडको संक्रमण दरको तारतम्य मिलाउनु आवश्यक छ ।’

संक्रमणको दर बढ्दै जाँदा आईसीयू, भेन्टिलेटर, स्वास्थ्य संरचना थप्न सकिए पनि सघन उपचार गर्ने सक्षम दक्ष जनशक्ति पाउन नसकिने अवस्था छ । ‘एक्कासि उल्लेख्य संख्यामा सघन उपचारका लागि आवश्यक दक्ष जनशक्ति कहाँबाट ल्याउने ?’ डा.अधिकारी भन्छन्, ‘भएकै जनशक्ति उपयोग गर्नु हाम्रो आवश्यकता र बाध्यतासमेत हो । यसैले संक्रमणको विस्तारलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर नियन्त्रित राख्नसके यसले स्वास्थ्य सेवा र बिरामीबीच सन्तुलन कायम रहन्छ ।’

उपत्यकालगायतका ठाउँमा संक्रमणको दरमा कमी ल्याउन कोभिड परीक्षण अत्यधिक बढाउनुपर्ने र जनस्वास्थ्यको मापदण्डलाई सबैले कडाइसाथ पालना गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले बताए । घरबाहिर निस्केर काममा जाने सबैको परीक्षण गर्नुपर्ने र संक्रमण देखिनासाथ आइसोलेसनलगायत उपचार प्रक्रियामा ल्याएर नयाँ व्यक्तिलाई संक्रमण हुन नदिन विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

परीक्षणमा वृद्घिसँगै कन्ट्याक्ट ट्रेसिङ र केस इन्भेस्टिगेसनसमेत बढाउनु आवश्यक रहेको जनाउँदै डा.अधिकारी भन्छन्, ‘जनस्वास्थ्यको मापदण्ड सबैले पालना गर्नुपर्छ । ज्ञानको हिसाबले सबैलाई उक्त मापदण्डबारे थाहा छ तर संक्रमण दरमा कमी ल्याउन व्यवहारमा उतार्नुपर्छ ।’

विज्ञहरूका अनुसार परीक्षणमा वृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालनालगायत प्रक्रिया दुई साता कडाइका साथ पालना भए संक्रमणको दरमा कमी आउन सक्छ ।

प्रकाशित : आश्विन २९, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?