लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन

वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी, कोभिड संक्रमितका लागि छैन वैकल्पिक व्यवस्था
राजेश मिश्र

काठमाडौँ — लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ । कोभिड–१९ संक्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको हो ।

विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६ सय ३८ पदको विज्ञापन बुधबार गरिएको छ । निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो । सरकारले रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गर्ने निर्णय असोज पहिलो साता नै गरेको थियो ।

त्यसैअनुसार आयोगले गत चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ ।

लोकसेवा आयोग अध्यक्ष भन्छन् - ‘संक्रमितले लेखेको उत्तरपुस्तिकाबाट भाइरस सर्न सक्छ’

अहिले विज्ञापन गरिएका सहसचिव र उपसचिव पदको लिखित परीक्षा मंसिर अन्तिममा सुरु भएर माघ अन्तिमसम्म चल्नेछ । ‘बिहान र दिउँदो दुई सिफ्टमा परीक्षा चलाउँदा पनि माघ अन्तिमसम्म जाँचको रुटिन बनेको छ,’ आयोगका अध्यक्ष उमेश मैनालीले भने । यसपछि क्रमश: शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत पदका रिक्त दरबन्दीहरूको विज्ञापन गरिने उनले उल्लेख गरे ।

आयोगले परीक्षामा कोभिड–१९ संक्रमितले परीक्षामा बस्न नपाउने गरी मापदण्ड तयार पारेको छ । कोभिड संक्रमितका लागि वैकल्पिक व्यवस्था नगरिएकामा विरोध पनि भइरहेको छ । परीक्षा हलमा प्रवेशपूर्व विद्यार्थी स्वयंले आफूलाई कोभिड संक्रमण भए/नभएको घोषणा गर्नुपर्ने मापदण्डमा भनिएको छ । संक्रमित विद्यार्थीका लागि अर्को मितिमा वा छुट्टै हल व्यवस्थापन गरेर परीक्षा लिन सम्भव नदेखिएको अध्यक्ष मैनालीले बताए ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई तोकेर परीक्षाको तयारी गरिएको बताए । एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् । एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । एउटा बेन्चमा एक जना परीक्षार्थी मात्रै हुनेछन् । परीक्षार्थी तथा परीक्षा गराउन खटिने जनशक्तिले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने परीक्षा व्यवस्थापन मापदण्डमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञापन

प्रकाशित : आश्विन २९, २०७७ ०६:१६
प्रतिक्रिया
पठाउनुहोस्

थाइल्यान्डमा चर्कियो सरकारविरोधी प्रदर्शन

एजेन्सी

बैंकक — थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै बुधबार दसौं हजारले प्रदर्शन गरेका छन् । राजधानी बैंककमा भेला भएका प्रदर्शनकारीले राजाको अधिकार कटौतीको मागसमेत जोडदार रूपमा उठाएका छन् ।

राजा र सेनाप्रति बफादार मानिने प्रधानमन्त्री प्रयुथ चान–ओचालाई सत्ता त्याग्न दबाब दिने उद्देश्यले थाइल्यान्डमा तीन महिनादेखि नियमितजसो प्रदर्शनहरू गरिँदै आएका छन् ।

‘तानाशाहको अन्त्य गर । लोकतन्त्र अमर रहोस्’ भन्ने नारा लगाएका प्रदर्शनकारीहरू लोकतान्त्रिक स्मारकमा भेला भएका थिए । लोकतन्त्र पक्षधर प्रदर्शनकारीको राजतन्त्र समर्थकबीच केही स्थानमा झडपसमेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भिडन्तका क्रमम दुवै पक्षधरले विपक्षीलाई मुक्का प्रहार गर्नुका साथै प्लास्टिकका बोतलहरू फालेका थिए । सरकारविरोधी प्रदर्शनकारीहरूले बुधबार थाई राजा महा भाजिरालंकर्णको स्वदेश फिर्तीको मौका पारेर विरोध गरेका हुन् । प्रहरी अधिकारीमाथि नीलो रङ छ्याप्ने तथा राजाको सवारीका क्रममा अवरोध पुर्‍याउन प्रयास गरेको आरोपमा २१ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सार्वजनिक रूपमा विरलै देखिने भाजिरालंकर्ण अधिकांश समय जर्मनी बित्छ । थाइल्यान्डमा कोभिड–१९ को महामारी फैलएपछि त उनी झन् अधिकांश समय विदेशमै बसे । बैंककस्थित सबै सैन्य इकाइको निर्देशन आफ्नो हातमा लिनुका साथै अन्य शक्ति केन्द्रित गरेपछि भाजिरालंकर्णप्रति सर्वसाधारणहरू रुष्ट बनेका छन् ।

प्रकाशित : आश्विन २८, २०७७ २२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×