कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किन खोसियो पोखरेलको रक्षाको जिम्मेवारी ? 

बालुवाटार स्रोत भन्छ, ‘उहाँको बढुवा भएको हो, घटुवा होइन’
जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर यो मन्त्रालय आफ्नै मातहतमा राखेका छन् ।

किन खोसियो पोखरेलको रक्षाको जिम्मेवारी ? 

प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा रहेका उपप्रधानमन्त्री पोखरेललाई किन बिनाविभागीय मन्त्रीजस्तै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा लगियो भन्ने जिज्ञासा उठेको छ ।

उनको मन्त्रालय खोसिनुको प्रमुख कारण रक्षामा एकपछि अर्को विवाद हुनु र खराब काम गरेको भन्ने गुनासो प्रधानमन्त्री ओली सामु पटक–पटक पुग्नुलाई मानिएको छ । नेपालमा कोभिड–१९ को आगमनसँगै पोखरेलले गरेका काम र रक्षा मन्त्रीको रुपमा नेपाली सेनाभित्र लगातारको हस्तक्षेपका कारण पोखरेललाई रक्षा मन्त्रालयबाट मुक्त गरिएको हो ।

...

कोभिड–१९ को रोकथाम र नियन्त्रणको तयारीको लागि मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार नेपाली सेनालाई चीनबाट जीटुजी (सरकार–सरकार) प्रक्रियामा स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिइयो । सेनाले सोही तयारीअनुसार वैशाख ७ गते चीनको सरकारी कम्पनी सिनो फार्म इन्टरनेसनलसँग सम्झौता गर्‍यो । सेनाले करिब २ अर्ब २६ करोड रुपैयाँमा ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो । तर उक्त स्वास्थ्य सामग्री नेपाल आइपुग्न लामो समय कुर्नु पर्‍यो ।

सेनाले विमानमा एउटा सामग्री ल्याउनको लागि सूची पठाए पनि अर्को सामग्री विमानमा राखेर नेपालमा ल्याइयो । ‘यो किन, कसरी र कसले गर्‍यो भन्नेमा हामी आफै चकित भयौं,’ सेनाका एक उच्च पदाधिकारीले कान्तिपुरसँग भनेका थिए, ‘हामीले यहाँ हाम्रो परराष्ट्र मन्त्रालय, चिनियाँ दूतावास र उसको सैनिक सहचारी, बेइजिङमा रहेको हाम्रो दूतावासका सैनिक सहचारी अन्य च्यानल लगाउँदासमेत स्वास्थ्य सामग्री ल्याउन अवरोध भयो ।’ यसको मुख्य कारण सरकारी उच्च तहमा पहुँच भएको ओम्नी बिजनेस इन्टरनेसनलले खरिद गरेर ल्याएको सामग्रीलाई नै प्रयोग गर्नु पर्ने र त्योभन्दा अघि सेनाले खरिद गरेको सामग्री ल्याउन अवरोध गर्ने भन्ने मनसाय रहेको सेनाले आन्तरिक रुपमा निचोड निकालेको थियो ।

सोही स्वास्थ्य सामग्री खरिद प्रक्रियाको अर्को महत्वपूर्ण पाटो हो, चीनबाट नेपाली सेनालाई प्राप्त हुने अनुदानबाट नै स्वास्थ्य सामग्री ल्याउने सेनाको प्रस्ताव । जुन प्रस्तावलाई रक्षा मन्त्रालयले मानेन । चीनले नेपाली सेनालाई दिने एक सय ५० आरएमबी अर्थात् करिब २ अर्ब ५६ करोड रुपैयाँ अनुदान सहयोगबाट पनि स्वास्थ्य सामग्री ल्याउन सक्ने भन्दै रक्षा मन्त्रालयलाई लिखित प्रस्ताव गरेको थियो । तर, पोखरेलले ‘कोरोना भाइरस रोकथाम कोषमा पर्याप्त रकम रहेको’ भन्दै अनुदानबाट स्वास्थ्य सामग्री ल्याउन नपर्ने मौखिक जवाफ सेनाका उच्च अधिकारीलाई दिए ।

प्रधानसेनापति थापा र रक्षा मन्त्रीबीच स्वास्थ्य सामग्री खरिद प्रकरणअघि नै द्वन्द्व सुरु भइसकेको थियो । सैनिक स्रोतका अनुसार पोखरेलले द्रूतमार्गको परामर्शदाता र अन्य प्रक्रियामा भूमिका खेल्ने काम गरे । जसले गर्दा सेनालाई काम अघि बढाउन गाह्रो भयो । द्रूतमार्ग निर्माणको लागि सरकारको पक्षबाट गरिदिनु पर्ने मुअब्जाको सम्बन्धमा कामलाई पूरा गर्न पोखरेलले पहल नगरेको पनि सेनाको भनाइ छ । बरु, यसलाई अरु राजनीतिकरण गर्ने काममा उनी लागेको सेनाको निष्कर्ष छ । सेनाले २०८१ सालभित्रमा उक्त द्रूतमार्ग बनाइसक्ने भनेको छ ।

गौरवशमसेर राणाको पालामा ल्याएको एमआई–१७ हेलिकप्टर मर्मतका लागि रक्षा मन्त्रालयमा प्रस्ताव गरे पनि उपप्रधानमन्त्रीले मर्मत गर्नुभन्दा नयाँ खरिदको प्रस्ताव गर्न सेनालाई निर्देशन दिए । पोखरेलको नयाँ हेलिकप्टर खरिदमा मोह देखिएपछि प्रधानसेनापति थापाले सेनाले खरिद गर्ने योजना बनाइसकेको दुई हेलिकप्टरलाई हालका लागि खरिद नगर्ने योजना बनाएको स्रोतले दावी गर्छ ।

सैनिक स्रोतका अनुसार सेनाले अमेरिकाबाट ल्याउन लागेको १० हजार एम–१६ हतियार खरिदमा पनि पोखरेलको चासो बढेको भन्दै सैनिक नेतृत्व उनीसँग रुष्ट थियो । ‘उहाँ (पोखरेल) ले हरेक कुरामा इन्ट्रेस राख्नु हुँदोरहेछ । उहाँले इन्ट्रेस नराखेको कुनै पनि कुरा बाँकी रहेनछन्,’ प्रधान सेनापति थापाले आफ्ना गोप्य भेटभाटमा चिन्ता व्यक्त गरेको स्रोतले कान्तिपुरलाई बताएको थियो ।

सेनाले एउटा रुपमा अघि बढाउन आएको तर रक्षामन्त्रीका कारण काम गर्न गाह्रो भएको प्रधानसेनापति थापाले निचोड निकालेका थिए । पोखरेलले नयाँ खरिदका लागि जति पनि बजेट दिने तर पुरानो मर्मतको लागि माग गरेको बजेटलाई मन्त्रालयमै फाइल अड्काउने गरेको सैनिक स्रोतको दावी छ । लगातार रुपमा हुने सैनिक बढुवाको फाइल, सेनाका अधिकारीहरुको वार कलेजमा पढ्नको लागि जानु पर्ने फाइल, बाहिनीमा उच्च सैनिक अधिकारीहरुको पोष्टिङ अड्किएकोमा पनि सेनाका अधिकारीहरुको असन्तुष्टि थियो । पछि प्रधानमन्त्रीको आदेशले यी काम अघि बढेका थिए ।

केही समयअघि रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा पोखरेलले नेपाली सेनाको कामलाई ‘लकिरका फकिर’ भन्दै आलोचना गरे । पोखरेलले ‘एउटा भिक्षा माग्ने पनि सधैँ एउटै बाटोमा गए, उसले भिक्षा पाउँदैन । त्यसैले समयअनुसार क्रियटिभ ढंगबाट काम गर्नु पर्ने’ भन्दै प्रधानसेनापति थापासहित उच्च सैनिक अधिकारीहरुलाई व्यङ्ग्य गरेका थिए । थापाले जवाफमा द्रूतमार्गको काममा ढिलाई हुनुको कारण कन्सल्ट्यान्ट छनोटमा ढिलाई हुनु तथा खोकनाको जग्गासहित विभिन्न रहेको बताएका थिए ।

ओली सरकारका एक मन्त्रीले हालै भनेका थिए, ‘पार्टीभित्र शक्ति संघर्ष नभएको भए, पोखरेलको मन्त्री पद गइसक्थो, उनी सचिवालय सदस्य भएका कारण पद बचेको छ ।’ नेकपा आन्तरिक शक्ति संघर्ष मत्थर हुनासाथ बुधबार रक्षाबाट पोखरेल बाहिरिए ।

यसअघि रक्षामन्त्रीको काम गराइबारे प्रधानसेनापति थापाले प्रधानमन्त्री केपी ओलीलाई बताइसकेका थिए । प्रधानमन्त्री ओलीले थापालाई त्यसबेला केही समय पर्खिन भनेका थिए ।

विभागीय मन्त्री र प्रधानसेनापतिबीचको द्वन्द्वबारे सेनाले भने कुनै टिप्पणी गर्न चाहेको छैन । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले ‘सम्बन्धमा कुनै समस्या नभएको’ बताएका थिए ।

तर, अर्का एक एक सैनिक अधिकारीले सम्बन्धको एउटा उदाहरण सुनाए । उनका अनुसार नेपाली सेनाले हरेक वर्ष साउन/भदौमा गर्दै आएको पृतनापति भेलालाई यसपालि सारिदियो । एक टेलिभिजन कार्यक्रममा पोखरेलले आफ्नो सेनासँग राम्रो सम्बन्ध रहेको र अब हुन गइरहेको पृतनापति भेलामा आफूले सम्बोधन गर्ने सार्वजनिक रुपमा बताएका थिए । ‘कोभिड–१९ को कारण पृतनापति भेलालाई सारिएको भए पनि उहाँसँगको सम्बन्धले पनि यसमा काम गरेको छ,’ उनले भने, ‘भर्चुअल माध्यममार्फत् यो भेला गर्न सक्थ्यो । तर पोखरेल मन्त्रीबाट हटेपछि मात्र कार्यक्रम गर्ने आन्तरिक रणनीति थियो ।’

बालुवाटार स्रोत भन्छ, ‘उहाँको बढुवा भएको हो, घटुवा होइन’

बालुवाटार स्रोतले भने पोखरेललाई हटाइएको नभइ उनको बढुवा गरिएको दावी गरेको छ । ‘उहाँ आफैंले सबै मन्त्रालय हेर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद रोज्नु भएको हो, कुनै कारण उहाँलाई हटाइएको वा घटुवा गरिएको होइन,’ बालुवाटार स्रोतले बतायो ।

पार्टीको आन्तरिक गुटमा पनि पोखरेल अध्यक्ष तथा प्रधानमन्त्री ओलीनिकट हुन् । सचिवायलमा विष्णु पौडेल र पोखरेलले ओलीलाई साथ दिइरहेका छन् ।

ओली निकट स्रोतका अनुसार पोखरेलले अर्थमन्त्री बन्ने इच्छा प्रकट गरेका थिए । ‘तर, अर्थमा विष्णुजी आउने भएपछि उहाँले नै रक्षाभन्दा सबै हेर्नेगरी प्रधानमन्त्री कार्यालयमा आउनु भएको हो,’ ओली निकट एक नेताले भने । पोखरेल रक्षाबाट हटेपछि प्रधानमन्त्रीले रक्षा आफैंसँग राखेका छन् ।

युवराज खतिवडा मन्त्रीबाट बाहिरिएपछि खाली भएको अर्थमा पार्टी महासचिव विष्णु पौडेललाई ल्याइएको छ भने संचार तथा सूचना प्रविधिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका पार्वत गुरुङलाई ल्याइएको छ ।

प्रकाशित : आश्विन २८, २०७७ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?