कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, ४७ जना घाइते

प्रहरीद्वारा स्थिति नियन्त्रणमा लिन २० राउन्ड अश्रुग्यास प्रहार
हत्या घटनामा प्रहरीको भूमिका निष्पक्ष नरहेको प्रदर्शनकारीको आरोप
ओमप्रकाश ठाकुर

सर्लाही — कार्यकर्ता हत्याको उजुरीसहित प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच सर्लाहीको मलंगवामा बुधबार दिउँसो झडप भएको छ । झडपमा नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षकसहित २० जना प्रहरी र सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षकसहित १० जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फका १७ जना घाइते भएका छन् । 

सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, ४७ जना घाइते


प्रहरीले स्थिति नियन्त्रणमा लिन २० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर–७ सिसौटका महेन्द्र रामको हत्याको घटनामा प्रहरीको भूमिका निष्पक्ष नरहेको आरोप लगाउँदै प्रदर्शन गरेको हो ।

हत्याको छानबिन र उजुरी लिन माग गर्दै परिवारसहित जिल्ला प्रहरी कार्यालय पुगेका कांग्रेस नेता तथा कार्यकर्तामाथि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठीचार्ज गरेको प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले बताए । उनले घटनामा प्रहरीको भूमिका निष्पक्ष नरहेको आरोप लगाए । ‘हत्या भएको घटनामा प्रहरीले जाहेरी लिन नमान्दा आज हामीले प्रदर्शन गर्दै परिवारका सदस्यसहित जाहेरी लिन आएका थियौं, तर प्रहरीले हामीलाई नै लखेट्यो, हाम्रा धेरै कार्यकर्ता घाइते छन्,’ उनले भने, ‘यो घटनामा प्रहरीको भूमिकामाथि नै शंका लागेको छ ।’

२१ गते बेलुका घर अगाडि बसिरहेका बेला राममाथि केही समूहले आक्रमण गरेको परिवारले बताएका छन् । आक्रमणमा परेर सख्त घाइते भएका रामलाई तत्कालै जिल्ला अस्पालमा पुर्‍याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएको थियो । उपचारको क्रममा २२ गते अस्पतालमै रामको ज्यान गएको थियो । रामको शव पनि परिवारले बुझेका छैनन् । कांग्रेसले मृतक रामलाई सहिद घोषणा र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्नु पर्ने माग राखेको छ ।

प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले भने सिसौट घटनाको अनुसन्धान जारी रहेको र शंकास्पद ३ जनालाई पक्राउ गरिएको जनाए । उनले भीड नियन्त्रणका लागि केही राउण्ड अश्रुग्यास प्रहार गरेको जानकारी दिए । ‘उहाँहरु भीड जम्मा पारेर अनुसन्धान प्रभावित गर्न खोज्नु भएको छ, हामीले संयमता अपनाएर भीड नियन्त्रण गर्न सफल भएका छौं, अहिले अवस्था सामान्य छ,’ उनले भने, ‘घटनाको दोषीलाई कानुनी कारबाहीमा ल्याएरै छाड्छौं ।’

यसैबीच, कांग्रेसले जाहेरी दर्ता गर्न पुगेका आफ्ना नेता, कार्यकर्तामाथि सर्लाही प्रहरी कार्यालय परिसरमा लाठीचार्ज, अश्रुग्यास प्रहार र गिरफ्तार गरिएको भन्दै विरोध जनाएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल बुधबार विज्ञप्ति निकालेर शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

सर्लाही रामनगर गाउँपालिका ७ का महेन्द्र रामको असोज २२ गते हत्या भएको र प्रहरी प्रशासनले शव जबरजस्ती वीरगञ्जस्थित नारायणी अस्पतालमा राखेको र मृतकको परिवारको जाहेरी समेत दर्ता नगरेको विरोधमा कांग्रेस सर्लाहीले बुधबार मलंगवामा प्रदर्शन गरेको थियो । त्यसक्रममा झडप हुँदा मृतककी श्रीमती, भाइ एवं अन्य ३ महिला समेत घाइते भएका छन् । घटनामा संघीय संसदका सदस्यद्वय कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय र अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंहमाथि समेत प्रहरीले दुर्व्यवहार गरेको र दुई जनालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको जनाइएको छ । प्रहरीको दर्जनौं राउण्ड अश्रु ग्यास, हवाई फायर र लाठीचार्जका कारण कयौं व्यक्ति घाइते भएको जनाउँदै कांग्रेसले उक्त घटनाप्रति कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई अविलम्ब रिहाई गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न कांग्रेसले विज्ञप्तिमार्फत सरकारसँग माग गरेको छ ।


प्रकाशित : आश्विन २८, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?