कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चीनबाट भएको सीमा अतिक्रमणलाई ढाकछोप गर्न खोज्‍नु राष्ट्रघात : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — हुम्लामा चिनियाँ पक्षबाट भएको सीमा अतिक्रमणलाई सरकारले ढाकछोप गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । 

चीनबाट भएको सीमा अतिक्रमणलाई ढाकछोप गर्न खोज्‍नु राष्ट्रघात : कांग्रेस

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि सरकार मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको आरोप लगाएका छन् ।

कुनै पनि छिमेकी मुलुकबाट हुने सीमा अतिक्रमण कांग्रेसलाई अस्वीकार्य हुने बताउँदै सरकारले ढाकछोप गर्न खोज्नु राष्ट्रघात भएको शर्माको टिप्पणी छ । 'सीमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, हामीलाई दुवै अस्वीकार्य छ । हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय हो । झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ ।'

कांग्रेसले सीमा अतिक्रमणबारे तत्काल धारणा सार्वजनिक गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कूटनैतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब सुरु गर्न सरकारसँग माग गरेको छ ।

कर्णाली प्रदेश सभामा विपक्षी नेता एवं कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको अध्ययन कार्यदलले पिलर नम्बर ५ देखि १२ सम्मको अध्ययन गरेअनुसार नाम्खाको लिमिमा चीन सरकारले करिब २ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेता शाहीको टोली अध्ययनका लागि असोज १४ गते नाम्खा पुगेको थियो ।

कांग्रेसद्वारा जारी विज्ञप्तिः



प्रकाशित : आश्विन २८, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?