बुढीगण्डकीमा भ्रष्टाचारको आरोप झुटो र दुराशयपूर्ण : नेकपा

प्रवक्ता श्रेष्ठद्वारा भट्टराईको अभिव्यक्तिको भर्त्सना गर्दै प्रमाण पेश गर्न चुनौती, क्षमायाचना गर्न माग
कान्तिपुर संवाददाता

काठमाडौँ — बुढीगण्डकी परियोजनामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अर्बौं घुस लिएको भनी पूर्वप्रधानमन्त्री एवं जसपा नेता बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको सत्तारुढ नेकपाले खण्डन गरेको छ ।

बुढीगण्डकीमा भ्रष्टाचारको आरोप झुटो र दुराशयपूर्ण : नेकपा

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै भट्टराईको आरोप झुटो, कपोलकल्पित, आधारहीन र दुराशयपूर्ण भएको बताएका छन् । 'नेपाल कम्युनिष्ट पार्टी त्यसलाई पूर्णरुपमा खारेज गर्दै घोर भर्त्सना गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

भट्टराईले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकी परियोजनामा ओली, दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब घुस लिएको प्रमाण आफूसँग भएको दावी गरेका थिए । सोमबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफूले भ्रष्टचारबारे बोलेपछि ठूलो कम्पन आएको बताएका थिए ।

श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौं ।' श्रेष्ठले भट्टराईसँग त्यस्तो प्रमाण नभएको दावी गर्दै प्रमाणको हौवा भ्रमको खेती भएको दावी गरिएको छ । विज्ञप्तिमा 'राज्यको गरिमामय पद सम्हालीसकेको व्यक्तिबाट प्रचारित यसप्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना हुनुपर्दछ' भनिएको छ ।

भट्टराईको अभिव्यक्तिपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विज्ञप्ति प्रकाशित गरी उनलाई प्रमाण देखाउन चुनौती दिएका थिए ।

प्रकाशित : आश्विन २८, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?