कोरोनाबाट तनहुँका एकै परिवारका तीनको मृत्यु

सम्झना रसाइली

तनहुँ — तनहुँको भीमाद नगरपालिकामा कोरोनाबाट एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार भीमाद नगरपालिका–६ का एक परिवारका ९८, ७५ र ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोनाबाट तनहुँका एकै परिवारका तीनको मृत्यु

बिरामी ९८ वर्षीय बाबुलाई चितवनबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा बाबुलाई कोरोना पुष्टि भएपछि उनको स्यहारसुसारमा खटिएका दुई छोराहरुलाई पनि कोरोना देखिएको थियो ।

९८ वर्षीय ती वृद्धको असोज २५ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा, ७५ वर्षीय पुरुषको असोज २४ गते काठमाडौंस्थित बिएण्डबी अस्पतालमा र ७२ वर्षीय पुरुषको असोज १९ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । यस अगाडि व्यास नगरपालिकाका २, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यस्तै, जिल्लामा ५९७ जनामा कोरोना देखिएकोमा ४११ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित : आश्विन २८, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?