कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दसैंमा घटस्थापनादेखि बिदा दिन सचिवहरूको सुझाव

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् ।

दसैंमा घटस्थापनादेखि बिदा दिन सचिवहरूको सुझाव

सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर सुझाव दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि कोरोना संक्रमित देखिएको उल्लेख गर्दै दसैं बिदा लम्ब्याउन सुझाव दिएका हुन् । ‘दसैंमा घटस्थापनादेखि बिदा दिने भन्नेबारे छलफल हुँदै छ । सुझाव आएका छन् । कुनै निर्णय भइसकेको छैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘संक्रमणलाई रोक्न त्यो पनि एउटा विकल्प छ ।’

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असोज २५ गते मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखापरेको बताएका थिए । उनले उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकाले व्यवस्थापनमा समस्या पर्न थालेको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर कमी नगर्न आग्रह गरेका थिए । उनले यसअघि नै यसपटकको दसैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन पनि आग्रह गरिसकेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको असोज २६ गते बसेको बैठकमा सांसदहरूले काठमाडौंको कोरोना नियन्त्रण र रोकथामका लागि कडा खालको लकडाउन र काठमाडौं उपत्यका प्रवेश गर्ने नाका सिल गर्नुपर्ने सुझाएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पनि यही अवस्थामा कोरोना संक्रमण बढ्दै गए काठमाडौं उपत्यकामा लकडाउन गर्नुपर्ने सल्लाह सरकारलाई दिएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार पुग्यो भने लकडाउन गर्नुपर्ने सल्लाह सरकारलाई दिइसकेको छ ।

प्रधानमन्त्री लामो बिदा दिन अनिच्छुक

सचिवहरूले लामो बिदाको माग गरिरहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले रुचि देखाएका छैनन् । संक्रमणको यस्तो अवस्था कति लामो समय जान्छ भन्ने यकिन नभएकाले यसरी लामो बिदा दिँदा गलत नजिर बस्ने प्रधानमन्त्रीको भनाइ छ । एक मन्त्रीका अनुसार विगतमा जस्तै नियमित रूपमा नै कार्यालय सञ्चालन गर्ने तर चाडपर्वका बेला धेरै काम गर्नुपर्ने अवस्था नहुने भएकाले थोरै कर्मचारीलाई प्रयोग गर्न सकिने बुझाइ प्रधानमन्त्रीको छ । कम कर्मचारीबाट काम गराउने, कार्यालयहरूमा सामाजिक दूरी र स्वास्थ्य अनुशासन राम्ररी पालना गर्ने विधिलाई अझ प्रभावकारी बनाउनुपर्ने पक्षमा उनी छन् ।

प्रकाशित : आश्विन २८, २०७७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?