कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जसपालाई नेता व्यवस्थापनमै समस्या

वैकल्पिक राजनीतिक शक्ति बन्ने दाबी गरिरहेका नेताहरुले पार्टी एकीकरणको साढे ५ महिना बित्दा पनि केन्द्रीय कार्यसमिति बनाउन सकेका छैनन् ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताद्वय बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतका नेताहरू यतिबेला प्रदेश २ का कार्यक्रममा व्यस्त छन् । बढ्दो कोरोना महामारीबीच पनि वैकल्पिक राजनीतिक शक्तिको नारा दिँदै उनीहरूले विभिन्न जिल्लामा पार्टी प्रवेशका कार्यक्रम गरिरहेका छन् ।

जसपालाई नेता व्यवस्थापनमै समस्या

उनीहरूले आउँदो चुनावमा जसपा बलियो राजनीतिक विकल्प बन्ने दाबी गरिरहेका छन् । तर यस्तो दाबी गर्ने नेताहरूले भने पार्टी एकीकरणको साढे ५ महिना बित्दा पनि केन्द्रीय कार्यसमितिसमेत बनाउन सकेका छैनन् ।

जसपामा माथिल्लो तहका नेताहरूको व्यवस्थापन नहुँदा ७ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति, १ हजार १ सय सदस्यीय संघीय परिषद्लगायत प्रदेश, जिल्ला, क्षेत्र र वडा तहसम्म समायोजन अलपत्र परेका छन् । पार्टी संरचना निर्माण र समायोजनका कामबारे प्रश्न गर्दा उनीहरू कोरोना महामारीलाई प्रमुख कारण बताउने गर्छन् । तर सार्वजनिक कार्यक्रमको आयोजना र सहभागिता हेर्दा कोरोना महामारीलाई परवाह गरेको पाइँदैन । पार्टीभित्रका अधिकांश नेताले यतिका समयसम्म केन्द्रीय कार्यसमिति बनाउन नसक्ने नेतृत्वले नेकपा र कांग्रेसको विकल्प कसरी दिन सक्ला भन्ने प्रश्न उठाउन थालेका छन् । ‘वैकल्पिक शक्ति बनाउने नाराले हामीजस्ता नेताहरूलाई गिज्याइरहेको छ भने कार्यकर्तामा कस्तो छाप परेको होला,’ राजधानीमै रहेका केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यले भने, ‘यतिन्जेलसम्म पार्टीको केन्द्रीय कार्यसमिति बन्न नसक्नु लज्जाको विषय बनेको छ ।’

उपेन्द्र यादव नेतृत्वमा रहेको तत्कालीन समाजवादी र महन्थ ठाकुरसहित ६ नेताको सामूहिक नेतृत्व प्रणालीमा चलेको राजपाबीच गत वैशाख १० मा एकीकरण भएको हो । एकीकरणपछि जसपा मुलुकको तेस्रो राजनीतिक शक्ति बनेको छ । पार्टी निर्माणको मुख्य आधार सांगठनिक संरचना हो । तर जसपाले केन्द्रीय कार्यकारिणीबाहेक कुनै संरचना खडा गर्न सकेको छैन । पार्टीका संरचना नहुँदा नेता विशेषका गतिविधिबाहेक संगठनको गतिविधि ठप्पजस्तै छ ।

नेकपा र कांग्रेसमा चर्किइरहेकै आन्तरिक शक्ति संघर्षकै जस्तो रोग जसपामा पनि भित्रिएको नेताहरू बताउँछन् । जसपाका नेताहरूलाई सकभर आफ्नो वर्चस्व कायम होस्, नभए पनि शक्ति कमजोर नहोस् मानसिकताले डोर्‍याएको छ । एकीकरणताकादेखि चर्केको नेता व्यवस्थापनको मुद्दा अहिलेसम्म ज्यूँका त्यूँ छ । निर्वाचन आयोगमा दल दर्ताका क्रममा ५१ जनाको पदाधिकारीको केन्द्रीय कार्यकारिणी समिति बनाइएको थियो । अहिले तिनै ५१ जना नेताहरूको पदीय बाँडफाँटमा तत्कालीन समाजवादी र राजपाका नेताबीच रस्साकसी छ । रस्साकसीको केन्द्रमा उपेन्द्र यादव र राजेन्द्र महतो अग्रभागमा देखिने गरेका छन् । यादव पार्टी अध्यक्षसमेत हुन् । तत्कालीन समाजवादीमा पनि उनी कार्यकारिणी अध्यक्ष थिए । अर्का अध्यक्ष महन्थ ठाकुर स्वास्थ्य र उमेरका कारण शिथिल बन्दै गएपछि पूर्वराजपा समूहमा महतोले प्रभाव बढाउन खोजेका छन् । महतो पार्टीका वरिष्ठ नेता छन् । केन्द्रीय कार्यकारिणीमा पूर्वराजपाका २६ र पूर्वसमाजवादीका २५ जना नेताको प्रतिनिधित्व छ ।

नेकपा र कांग्रेसको विकल्प दिने राजनीतिक नारा बोकेको पार्टीको केन्द्रीय समिति नै बन्न नसक्नुमा सजपाका वरिष्ठ नेता अशोक राईले नेकपाभित्रको घर झगडासँग तुलना गरे । ‘निकै आत्मीयताका साथ एकता भएको नेकपाले त अढाई वर्षमा आइपुग्दा पार्टी समायोजन सकेको छैन, हाम्रो त भर्खरै ६ महिना पुग्न लागेको छ,’ उनले भने, ‘अर्कोतिर कोरोनाको महामारीले पनि हामीलाई रोक्यो ।’ लामो समयदेखि भूमिकाविहीन बनेका अधिकांश केन्द्रीयस्तरका नेताहरू नै शीष पाँच नेताप्रति असन्तुष्ट छन् । गत साउन २१ देखि २४ गतेसम्म चलेको केन्द्रीय कार्यकारिणी समिति बैठकले पद बाँडफाँट टुंग्याउन नसकेपछि दुई अध्यक्ष ठाकुर र यादवका अतिरिक्त तीन वरिष्ठ नेता राई, भट्टराई र महतोलाई पदीय जिम्मेवारी र केन्द्रीय कार्यसमितिको टुंगो लगाउन जिम्मा दिएको थियो । यसबीचका प्रयास सफल हुन नसकेपछि केन्द्रीय कार्यकारिणी समितिको बैठकमा फेरि यो एजेन्डाले प्रवेश पाउने भएको छ । बैठक आगामी कात्तिक ३ र ४ गतेका लागि बोलाइएको छ । बैठकको पहिलो एजेन्डा पार्टीको ‘विधान संशोधन र नियमावली सम्बन्धमा’ भनेर राखिएको छ । त्यसपछि संघीय परिषद् गठन तथा कार्यविभाजन, केन्द्रीय कार्यसमिति गठन तथा कार्यविभाजन र केन्द्रीय कार्यकारणी समितिको कार्यविभाजनसम्बन्धी एजेन्डा मुख्य छन् ।

केही व्यक्तिको महत्त्वाकांक्षाका कारण लामो समयसम्म पार्टी अनिर्णयको बन्दी भएको केन्द्रीय कार्यकारिणी समितिमा रहेका अधिकांश नेता बताउँछन् । कोरोना महामारी देखाएर नेतृत्वले आफ्नो कमजोरी छोपेको पूर्वराजपाका एक नेताले बताए । केन्द्रीय कार्यकारिणीको पद विभाजनमै मुख्य लफडा चलेको उनको दाबी छ । तत्कालीन राजपाको तुलनामा समाजवादीको संगठन व्यवस्थित र चुस्त रहेकाले त्यसैका आधारमा केन्द्र्रीय कार्यकारिणी समितिका सदस्यको पद बाँडफाँट हुनुपर्नेमा तत्कालीन समाजवादीमा रहेका नेताहरूको मुख्य जोड रहँदै आएको छ । वरिष्ठ नेता राईले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ मध्ये दुवैतर्फ २५/२५ जनाको मात्रै पदीय जिम्मेवारी छुट्याउने प्रस्ताव आफूहरूले राखेको बताए । पार्टी एकीकरण नै समानताका आधारमा गर्ने सहमतिअनुसार यस्तो प्रस्ताव अघि सारिएको उनको भनाइ छ । तत्कालीन समाजवादीमा अध्यक्षसहित २५ जनाकै पदाधिकारी थियो । अध्यक्षबाहेक संघीय अध्यक्ष १, वरिष्ठ नेता १, सहअध्यक्ष १, उपाध्यक्ष ८, महासचिव ३, उपमहासचिव ३, सचिव ६ र कोषाध्यक्ष १ जना थिए ।

तत्कालीन राजपाका अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ठाकुर पार्टी अध्यक्ष छन् भने महतो वरिष्ठ नेता छन् । महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवलाई पनि वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव पूर्वराजपाले सुरुदेखि राख्दै आएको छ । ठाकुर, महतोसँगै तत्कालीन राजपामा बराबरी हैसियत रहेको भन्दै चारै नेताले पनि वरिष्ठ नेताकै हैसियत खोज्दै आएका छन् । जसलाई पूर्वसमाजवादी समूहले स्वीकार गरिसकेको छैन ।

पूर्वराजपाले वरिष्ठ नेताबाहेक आफ्नो पक्षका नेताहरूको व्यवस्थापनका लागि २ सहअध्यक्ष, १२ उपाध्यक्ष, ४ महासचिव, १ उपमहासचिव र १ सहकोषाध्यक्षको प्रस्ताव अघि सारेको छ । वरिष्ठ नेता महतोले आन्तरिक गृहकार्य जारी भएकाले आउने केन्द्रीय कार्यकारिणी बैठकसम्ममा सहमति जुट्ने दाबी गरे । ‘के दिएर, के गरेर राम्रो हुन्छ, त्यसमा हामी जान तयार छौं, आगामी बैठकसम्म टुंग्याउने गृहकार्य जारी छ,’ वीरगन्जमा रहेका उनले कान्तिपुरसँग भने । अबको बैठकले केन्द्रीय कार्यकारिणीका सदस्यहरूको जिम्मेवारी बाँडफाँटमा मात्रै सीमित नभई केन्द्रीय समितिदेखि प्रदेश र वडा तहसम्मकै समायोजन टुंगो लगाउने दाबी उनले गरे । ‘अलिकति कोरोनाका कारण ढिलाइ भयो । महामारीमा त्यसै हाम फाल्ने अवस्था पनि भएन,’ महतोले भने, ‘नेताहरू व्यवस्थापनको मुद्दामा हामी सहमतिनजिक पुगेका छौं, समायोजन पनि चाँडै गर्छौं ।’

राईले भने पाँच जना नेतालाई प्रस्ताव तयार पार्नका लागि मात्रै अधिकार दिएकाले निर्णय बैठकबाटै हुने बताए । ‘हामीबीच करिब सहमति भइसकेको छ, आगामी बैठकमा प्रस्ताव लैजान्छौं,’ उनले भने, ‘विधान संशोधनमार्फत केन्द्रीय कार्यसमितिलगायत केही संरचनागत सुधार गर्नुपर्ने देखिएको छ । त्यसलाई समेत समायोजन गरेर प्रस्ताव बनाउने तयारीमा छौं ।’

वरिष्ठ नेता भट्टराईलाई भने संघीय परिषद्कै अध्यक्षको जिम्मेवारी दिनेमा दुवै पक्ष सहमत छन् । तर उनले पार्टीको वरीयतामा आफू एक नम्बरमा हुनुपर्ने अडान राख्दै आएका छन् । वरीयताको विषय नमिल्दा भट्टराई आफैं राईपछिको तेस्रो क्रममा छन् । महतोले भट्टराईको वरीयतामा समस्या नभएको बताए ।

प्रकाशित : आश्विन २८, २०७७ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?